Comments Add Comment

पप्पुले बनाएको बागमतीको पुलमा गम्भीर त्रुटि

३१ जेठ, काठमाडौं । पप्पु कन्स्ट्रक्सनले निर्माण गरिरहेको काठमाडौंको तीनकुनेस्थित बागमती नदीको पुलको पाइल्स (पानी बग्ने ठाउँमा रहने पिल्लर)मा गम्भीर त्रुटि रहेको पाइएको छ ।

२९.५ मिटर गहिरो (लम्बाई)का १६ वटा (बाह्र सय एमएम) पाइल्स निर्माण गर्ने गरी डिजाइन स्वीकृत भएकोमा एउटा पाइल्स १६.५ मिटरको मात्र निर्माण भएको छ भने, दुई वटा पाइल्स क्र्याक भएका छन् ।

निर्माणधीन पुलको ३ वटा पाइल्समा गम्भीर त्रुटि देखिएपछि काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले निर्माण व्यवसायीलाई फाउन्डेसनमा रहेको पाइल्सको समस्या समाधान गरेर मात्र काम अगाडि बढाउन निर्देशन दिएको थियो । तर, सडक विस्तार आयोजनाको दिर्नेशनको अवज्ञा गर्दै पप्पु कन्स्ट्रक्सनले पुलको सब-स्ट्रक्चर निर्माण गरी स्ल्याब ढलानको तयारी गरेको जनाइएको छ ।

काठमाडौं उपत्यका सडक बिस्तार आयोजनाले पुल निमार्णको पुनः डिजाइन गर्नसमेत निर्माण निर्देश गरेको थियो । त्यसपछिपप्पु कन्स्ट्रक्सनले पुल निमार्णको पुनः डिजाइन तयार गरी पेश गर्‍यो ।

परिमार्जित डिजाइन पनि चित्त नबुझेपछि आयोजनाले उक्त डिजाइन इञ्जिनियरिङ अध्ययन संस्थान पुलचोकमा पठाएको थियो । तर, पुलमा देखिएको समस्या समाधानका लागि पठाएको डिजाइनका सन्दर्भमा इञ्जिनियरिङ अध्ययन संस्थानले पनि कुनै प्रतिक्रिया नदिएको आयोजनाले जनाएको छ ।

अरनिको राजमार्गको तीनकुनेस्थित बाग्मती नदी -कोटेश्वर तर्फ जाँदा)को बायाँतर्फ निर्मार्ण भइरहेको पुलको लम्बाई ८६ मि. र चौडाइ १७.२० मिटर रहेको छ ।

म्याद सकिएको एक वर्षसम्म पनि सकिएन काम

उक्त पुल निमार्णका लागि भएको ठेक्का सम्झौताको म्याद सकिएको एक वर्ष भयो । तर, निर्माण सम्पन्न भएर हस्तान्तरण भइ सञ्चालनमा आइसक्नुपर्ने उक्त पुलको निर्माण कार्य नै रोकिएको छ ।

पप्पु कन्स्ट्रक्सनले २०७५ असार ५ गते सम्ममा निर्माण सम्पन्न गरिसक्ने गरी ०७१ पुस ४ गते काठमाडौं उपत्यका सडक विस्तार आयोजनासँग सम्झौता गरी यो आयोजना निमार्णको जिम्मा लिएको थियो ।

विकास आयोजनाहरु समयमै सम्पन्न नहुने वातावरण बन्नुमा सरकार र सरकारी निकाय समेतसमेत दोषी रहेको संसदको विकास समितिकी सभापति कल्याणी कुमारी खड्का बताउँछिन् । ‘काठमाडौं उपत्यका मात्र होइन देशका विभिन्न भागमा रहेका यस्ता पुलहरुको निर्माण गर्नको लागि आवश्यक सम्पूर्ण पूर्वाधारहरुको पूर्वतयारी गरेर मात्र निर्माणको कार्य प्रारम्भ गर्न समितिबाट सरकारलाई पटक-पटक निर्देशन भएको छ’, खड्का भन्छिन्, ‘तर, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतका निकायहरुले यस सम्बन्धमा ध्यान पुर्‍याएको पाइएन ।’

सांसद जीप छिरिङको असन्तुष्टिले आयोजनालाई पनि निर्देशन !

समयमै तीनकुनेस्थित बागमती पुलको निमार्ण सम्पन्न नभएको गूनासो आएपछि संसदको विकास समितिले ०७६ जेठ २ गते उक्त पुलको स्थलगत अवलोकन गर्‍यो ।

अवलोकनका क्रममा समितिले निर्माण व्यावसायीको त्रुटि औंल्यायो । विकास समितिले सुरुमा तयार पारेको निर्णयको ड्राफ्टमा पनि ‘काम अघि नबढाउन निर्देशन दिँदा दिदै अटेर गरि अघि बढाउने निर्माण व्यवसायीलाई कारबाही गर्नु पर्ने’ उल्लेख छ ।

तर, शुक्रबारको समिति बैठकमा सभापति खड्काले निर्देशनको ड्राफ्ट सुनाए लगत्तै सांसद जीप छिरिङ लामाले सडक विस्तार आयोजनाले समयमै निर्णय नगर्दा समस्या सिर्जना भएको भन्दै सडक आयोजनालाई पनि कारबाही हुनुपर्ने बताए ।

त्यसपछि समितिले निर्देशनको ड्राफ्टमा संशोधन गर्‍यो, ‘काम अघि नबढाउन निर्देशन दिँदा दिदै पनि अटेर गरि निर्माण अघि बढाउने निर्माण व्यवसायीलाई र समयमै निकास दिन नसक्ने सम्बन्धित निकायलाई समेत कारवाही गर्न निर्देशन दिने ।’ र यो निर्देशन समितिबाट सर्वसम्मत पारित भयो ।

यो पनि पढ्नुहोस तीनकुने पुल निर्माणमा पप्पुको बदमासी, कारवाही गर्न संसदीय समितिको निर्देशन

यस्तै विकास समितिले निर्माणाधीन पुलमा देखिएको समस्या समाधानका लागि सडक विस्तार आयोजनालाई तत्काल इञ्जिनियरिङ अध्ययन संस्थानसँग समन्वय गरी परिमार्जित डिजाइन लिएर सोही अनुसार निर्माणको काम अघि बढाउन, सम्भावित समस्याहरुको समाधानको यथोचित उपाय ठेक्का लगाउनु अघि नै समाधान गर्न सक्ने परामर्शदाता वा निकाय छनौट गर्न र आयोजना पूर्व तयारीको काम सम्पन्न गरेपछि मात्रै ठेक्का लगाउन पनि निर्देशन दिएको छ ।

निर्माण कार्यको प्रकृति हेरेर अघि बढेका कार्यहरुको अनुगमन तथा निरिक्षणका लागि जुनसुकै समयमा कार्यक्षेत्रमा आयोजना सम्वद्ध पदाधिकारीहरु उपस्थित हुनुपर्ने लगायतका विषयमा पनि समितिको निर्देशनमा समेटिएका छन् ।

बैठकमा समिति सभापति खड्काले काठमाडौं उपत्यकामा गुड्ने सवारी साधनहरुको बढ्दो सवारी चापलाई ध्यान दिइ सडकको गुणस्तर र सडकमा रहेको पुलहरुको भारवहन क्षमतामा पनि सोही अनुरुप निर्माण र सुधार हुनुपर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment