+
+
Shares

सरकारी कार्यालयमा दलाल सल्बलाएः आईजीपी खनाल

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ३१ गते १७:४९

३१ जेठ, काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सरकारी कार्यालयमा प्रभाव जमाउन केही दलाल सल्बलाएको बताएका छन् । शुक्रबारदेखि काठमाडौंमा सुरु भएको अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको दोस्रो प्रादेशिक सम्मेलनलाई सम्बोधन गर्दै खनालले दलाल सल्बलाएको बताएका हुन् ।

‘नेपाल प्रहरीमा मात्र होइन, सरकारी वकिलदेखि अन्य सरकारी कार्यालयमा केही दलाल प्रभाव जमाउन सलबलाएका छन्,’ उनले भने, ‘यिनलाई निमिट्यान्न पार्नुपर्छ । नेपाल प्रहरीले आफ्नो तर्फबाट गर्नुपर्ने कामहरु गर्छ ।’

उनले आफू निःस्वार्थ रुपमा अघि बढिरहेको बताउँदै भने, ‘सबै कुरा हाम्रै लागि हो । प्रहरी संगठन नमुना छ, नमुनै हुनुहुनुपर्छ ।’ उनले नेपालको सुरक्षा निकायको व्यवसायिकता शंका नगर्न पनि आग्रह गरे । उनले प्रहरीले इन्टेलिजेन्स र इभिडेन्स बेस्ड पुलिसिङमा नचुक्ने बताए ।

‘चाहे राष्ट्रिय होस् वा अन्तर्राष्ट्रिय स्तरमा हामीले एउटा सन्देश के दिएका छौं भने नेपाल प्रहरी पूर्ण रुपमा व्यवासायिक छ’, खनालले भने, ‘दक्षिण एसियाली कार्यक्रम होस् या यूएन र इन्टरपोलको कार्यक्रम नै किन नहोस्, यो कुरा स्पष्टसँग राखेका छौं ।’

उनले सञ्चारमाध्यमले वेला मौकामा भइरहेको गल्ती, कमजोरी औंल्याइदिएको उल्लेख गर्दै सकारात्मक विषयमा पनि धेरै नकरात्मक नबन्न आग्रह गरे । ‘अरुले नेपाल प्रहरीलाई अनुसन्धानमा एसियामै उत्कृष्ट मानिरहेका छन् भने तपाईं हामीले भन्नलाई के छ ?’, खनालले सञ्चारकर्मीलाई प्रश्न गरे ।

उनले प्रहरीमा पर्याप्त सुधार पनि भइनसकेको स्वीकारे । तर, ९५ प्रतिशतभन्दा बढी मुद्दामा सफल अनुसन्धान भएको उल्लेख गर्दै एकाध घटनाले सिंगो संगठनको छवि धुमिलिएको दाबी गरे ।

उनले भने, ‘प्रहरी भइसकेपछि अब बद्नियतमा सौलियत पनि हुँदैन ।’ उनले उपत्यकाको ट्राफिक व्यवस्थापन सुधारका लागि भइरहेको ३ महिने अभियानको पनि स्मरण गराउँदै समुदाय–प्रहरी साझेदारी कार्यक्रम पनि प्रभावकारी बन्दै गएको सुनाए ।

उनले आफूले अन्य संगठनको तुलना नगर्ने बताउँदै भने, ‘म अन्य संगठनको तुलना गर्दिन तर, म पनि पछि छु जस्तो लाग्दैन ।’ खनालले जनताको मोटरसाइकल मागेर गाउँगाउँमा शव उठाउन जानुपर्ने प्रहरीको बाध्यता टरेको पनि सुनाए ।

‘यो अवस्थाबाट हामीले विस्तारै फड्को मारेका छौं’, खनालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?