Comments Add Comment

सचिवहरुलाई मुख्यमन्त्रीको निर्देशन –बजेट कार्यान्वयनको तयारीमा जुट्नुस्

२ असार,बुटवल । मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रालयका सचिवहरु र प्रदेश योजना आयोगका पदाधिकारीहरुलाई बजेट कार्यान्वयनको पूर्वतयारीमा जुट्न निर्देशन दिएका छन् ।

चालु आवको बाँकी अवधिमा कार्यान्वयनमा रहेका कार्यक्रम र आयोजनालाई सम्पन्न गर्न ध्यान दिंदै आगामी आवको बजेट कार्यान्वयनको पूर्वतयारीमा जुट्न उनले सचिवहरुलाई निर्देशन दिएका हुन् ।

पूर्वतयारी गरेर अघि बढ्दा बजेट कार्यान्वयन गर्न सहज हुने उनको भनाइ छ । चालु आवको बाँकी समयमा हुने कामको गुणस्तरमा ध्यान दिन पनि उनले सचिवहरुलाई निर्देशन दिए । बजेट कार्यान्वयन गर्न भन्दै हतारमा काम गर्ने प्रवृत्तिले गुणस्तर कमजोर हुने र अपेक्षित लाभ लिन नसकिने तर्फ उनले ध्यानाकर्षण गराए ।

मुख्यमन्त्रीले आगामी आवको बजेट कार्यान्वयनका लागि पूरानो कायविधि परिमार्जन गर्नुपर्ने भए वा नयाँ कार्यविधि तर्जुमा गर्नुपर्ने भए अहिले नै प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् ।

साथै कार्यक्रम कार्यान्वयनको लागि स्थान छनौट गर्नुपर्ने भए असार मसान्तभित्रै छनौट गरी टुंग्याउन पनि उनले निर्देशन दिएका छन् । आगामी आवको कार्यक्रम प्रारम्भ गर्नुअघि अन्तर्गतका कार्यालय तथा निकायहरुलाई आमन्त्रण गरी सम्बन्धित मन्त्री र सचिवले प्रत्येक कार्यक्रमको महत्व, अवधारण र कार्यान्वयन विधि सम्बन्धमा अभिमुखीकरण गराउनुपर्ने मुख्यमन्त्रीले निर्देशन दिएका छन् ।

मुख्यमन्त्रीले कार्यक्रम कार्यान्वयनको दृष्टिले सकारात्मक संगठन संस्कृतिको विकास गर्न, गरिएका कामहरुको प्रक्रिया र प्रतिफलको अभिलेख राख्न र अभिलेख तथा प्रतिवेदन प्रणालीलाई डिजिटलाइज गर्दै जान पनि निर्देशन दिएका छन् ।

प्रदेश ५ सरकारले आगामी आवका लागि ३६ अर्ब ४१ करोडको वजेट ल्याएको छ । मुख्यमन्त्री पोखरेलले आउँदो बजेट ८ महिनामै खर्च गरी सक्ने लक्ष्यका साथ काम गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment