Comments Add Comment

प्रधानमन्त्रीको शंका : ‘मूर्तिचोर’ ले सत्ता पल्टाउन खोजे !

०१७ साल दोहोरिन सक्ने भन्दै गम्भीर हुन ओलीको आग्रह

३ असार, काठमाडौं । दुईतिहाई बहुमतवाला जननिर्वाचित सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रका उपलब्धीहरुको रक्षाका लागि जनता र राजनीतिक दलहरुलाई एकतावद्ध हुन आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले लोकतन्त्रमाथि खतरा आइलागेको बताउँदै वीपीकालीन ०१७ सालको घटनालाई समेत स्मरण गरेका छन् । अहिलेको परिस्थिति गम्भीर रहेको प्रधानमन्त्री ओलीको विश्लेषण छ ।

मंगलबार संसदमा विपक्षी अवरोधका कारण सम्वोधन गर्न नपाएका प्रधानमन्त्री ओलीले अपराह्न ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेका थिए । सो पत्रकार सम्मलेनमा उनले ०१७ सालको घटनालाई सम्झना गर्दै जनतालाई गम्भीर हुन पटक–पटक आग्रह गरे ।

प्रधानमन्त्री ओली आफू विदेश भ्रमणमा रहेका बेला काठमाडौंमा चलेको गुठी विधेयकविरोधी आन्दोलनबाट निकै आत्तिएका जस्ता देखिन्थे । उक्त आन्दोलनमा दरबारियाहरु घुसेर लोकतन्त्रलाई नै धरापमा पार्न खोजेको ढंगबाट प्रधानमन्त्री ओलीले विश्लेषण गर्ने प्रयास गरे । साथै उनले पञ्चायतकालीन ‘मूर्तिचोर’ हरु पनि संस्कृतिको पक्षपातीजस्तो देखिएर आन्दोलनमा घुसपैठ गरेको संकेत गरे ।
प्रधानमन्त्री ओलीले अतिवामपन्थी र अति दक्षिणपन्थीहरुवीच मोर्चाबन्दी भएको दाबी गरे ।

राजनीतिको सामान्य ज्ञान हुनेहरुले सहजै विश्लेषण गर्न सक्छन् कि प्रधानमन्त्रीको यो संकेतको अर्थ दरबारिया शक्ति र विप्लव समूहवीच मोर्चाबन्दी भएको छ भन्ने हो ।

प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलनमा भने, ‘यो बहुतै गम्भीर खालको अवस्था हो । त्यसकारण म सबैलाई भन्न चाहन्छु कि यत्रो बलिदानबाट प्राप्त गरेको उपलब्धीको रक्षा गर्नु सबैको साझा दायित्व, साझा कर्तव्य हो ।’

प्रधानमन्त्रीले लोकतन्त्रमाथि खतरा आइलागेको बताउँदै भने, ‘हामीले धेरै लामो बलिदानीपूर्ण संघर्षबाट आजका उपलब्धिहरु ल्याएका हौं । तर, आज लोकतन्त्र, गणतन्त्र, संघीयताका विरुद्ध अर्थात जनताको शासनका विरुद्ध अलोकतान्त्रिक शक्तिहरुको मोर्चाबन्दी बहुतै स्पष्ट देखा परेको छ । घोर दक्षिणदेखि घोर वामसम्म, अति वाम उग्रपन्थीदेखि अति दक्षिण प्रतिक्रियावादीसम्म एकजुट भएको अवस्था छ ।’

प्रधानमन्त्री ओलीले ०१७ सालमा महेन्द्रले गरेको ‘कु’ सम्झँदै भने, ‘००७ सालको आन्दोलनपछि परिवर्तनकारी शक्तिहरुलाई साथ लिएर, चल्नुपर्ने ठाउँमा परिवर्तनकारी शक्तिलाई प्रतिबन्ध लगाउने र प्रतिक्रियावादी शक्तिहरुसँग मिलेर चल्ने गलत नीतिका कारणले ०१७ सालजस्तो घटना भयो ।’

विगतका ‘मूर्तिचोरहरु’ समेत अहिले संस्कृति बचाउनुपर्छ भन्दै गुठी विधेयकको विरोधमा उत्रिएको लाक्षणिक अभिव्यक्ति दिँदै प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई बचाउनकै लागि भूमि व्यवस्था मन्त्रीले विधेयक फिर्ता लिनुपरेको विश्लेषण सुनाए ।

प्रधानमन्त्री ओलीले गुठी विधेयक फिर्ता लिनुपर्नाको कारण बताउँदै भने, ‘भ्रमपूर्ण वातावरण सिर्जना गरेर, त्यसभित्र नेपाली जनताले लडेर ल्याएको लोकतन्त्रविरोधी शक्तिहरु घुसेर लोकतन्त्रका जरा काट्ने कैंचीहरु चल्मलाउन थालेको देखेपछि वहाँले आफूले राष्ट्रिय सभामा पेश गरेको विधेयक फिर्ता लिनुभयो ।’

प्रधानमन्त्री ओलीमा देखिएको लोकतन्त्रमाथिको चिन्ता उनकै शब्दमा

म स्मरण गर्छु, हामीले धेरै लामो बलिदानीपूर्ण संघर्षबाट आजका उपलब्धिहरु ल्याएका हौं । तर, आज लोकतन्त्रका विरुद्ध, गणतन्त्रका विरुद्ध, संघीयताका विरुद्ध अर्थात जनताको शासनका विरुद्ध, जनताको सार्वभौम सत्ताका विरुद्ध, लोकतान्त्रिक प्रणाली र अभ्यासका विरुद्ध अलोकतान्त्रिक शक्तिहरुको मोर्चाबन्दी बहुतै स्पष्ट देखा परेको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध विभिन्न प्रकारका तत्वहरु घोर दक्षिणदेखि घोर वामसम्म, अति वामपन्थी तत्वदेखि अति दक्षिणपन्थी, अति वाम उग्रपन्थीदेखि अति दक्षिण प्रतिक्रियावादीसम्म एकजुट भएको अवस्था छ ।

र, म त्यसको प्रतिविम्व, जुन कुराप्रति सजग हुनुपर्ने लोकतान्त्रिक शक्तिहरु, जसका वीचमा एकता हुनुपर्ने, त्यो नभएको मात्रै होइन, त्यसलाई विथोल्न आफूलाई लोकतान्त्रिक भन्ने शक्ति नै अग्रसर भएको देख्दा आश्चर्य लाग्छ ।

यही कुरा ००७ सालको आन्दोलनपछि परिवर्तनकारी शक्तिहरुलाई साथ लिएर, मिलेर सबै चल्नुपर्ने ठाउँमा परिवर्तनकारी शक्तिलाई प्रतिबन्ध लगाउने र प्रतिक्रियावादी शक्तिहरुसँग मिलेर चल्ने गलत नीतिको कारणले संविधान बन्न लामो समय लाग्यो र उपयुक्त संविधान बन्न सकेन । त्यही नीतिको कारणले, प्रतिक्रियावादीहरुसँग मिल्ने कारणले र प्रगतिशील शक्तिहरुलाई देखी नसहने कारणले, जनपक्षीय शक्तिलाई देखी नसहने कारणले ०१७ सालजस्तो घटना भयो ।

र, परिस्थिति यस्तो भयो कि त्यतिबेला त्यस्तो प्रतिगामी घटना हुँदा पनि एकता गर्न मानिएन । लोकतन्त्रका पक्षधर शक्तिहरु मिलेर तानाशाहीका विरुद्ध लडौं भन्ने प्रस्ताव पनि मानिएन । विचित्रको एउटा लोकतान्त्रिक आवरणभित्र प्रतिक्रियावादी, प्रतिगामी संकीर्णतावादी चरित्र त्यो रहेको छ ।

पछिल्लो समय हामी लोकतान्त्रिक शक्तिहरु एकजुट भएर लड्यौं । उपलब्धीहरु हासिल गर्‍यौं । तर, लोकतान्त्रिक शक्तिहरु एकता भएर लड्ने र उपलब्धीहरु हासिल गर्ने भनेको फलानै सरकारमा रहनुपर्ने, फलानोले सरकार सञ्चालन गर्नुपर्ने अरु प्रतिपक्षमै रहनुपर्ने र जनताले अन्यत्र अभिमत पनि दिन नपाउने भन्ने न्याय होइन ।

जब–जब आफूभन्दा अरुले जनताको अभिमतबाट आउँछन्, लोकतन्त्रमा स्वीकार्नुपर्छ । लोकतन्त्र भनेको त्यही हो । आफू भन्दा अरु पनि आएकोलाई स्वीकार्नुपर्छ । आफू आए ठीक छ, आफू नआए बेठीक छ र चल्न नदिने हो भने लोकतन्त्र चल्दैन । अर्थात आज जुन प्रवृत्ति देखा परिरहेको छ, त्यसले लोकतान्त्रिक अभ्यास अगाडि जान सक्दैन ।

यो बहुतै गम्भीरखालको अवस्था हो । त्यसकारण म सबैलाई भन्न चाहन्छु कि यत्रो बलिदानबाट प्राप्त गरेको उपलब्धीको रक्षा गर्नु सबैको साझा दायित्व, साझा कर्तव्य हो ।

म नेपाली जनतालाई आह्वान गर्न चाहन्छु, हामीले पटक–पटक लडेर लोकतन्त्र ल्यायौं, तर हामीलाई भड्काई भड्काइकन, बिथोली बिथोलिकन, वातावरण बिगारी बिगारिकन हामीले मौका पाउँदाखेरि पनि फेरि गुमाएका छौं । ००७ सालको आन्दोलन सफल भो, तर त्यो आन्दोलनलाई थिग्राउन कति वर्ष लाग्यो ? ८ वर्ष थिग्राउन लाग्यो । अलिअलि थिग्रिएजस्तो भएको थियो, दुईवर्ष, डेढवर्षमा खत्तम !

राजनीतिक शक्तिहरुलाई म आग्रह गर्न चाहन्छु– पटक पटक जनताका अधिकार दरबारमा बुझाइएका इतिहास आवेश, उत्तेजना र भावनामा बगेर नदोहो¥याऔं । जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्नु हाम्रो कर्तव्य हो । त्यस कुरामा ध्यान दिऔं । राजनीतिक शक्तिहरुलाई पनि म भन्न चाहन्छु, पार्टीहरुलाई पनि म भन्न चाहन्छु । जनतालाई म आग्रह गर्न चाहन्छु । हामीले लडेर, बलिदान दिएर ल्याएको लोकतन्त्र पछाडि बसेर प्रोभोक गर्ने तत्वबाट हामी अब पनि सजग नहुनु उचित हुँदैन । मेरो आग्रह यो छ । हामी लोकतन्त्रको रक्षा, जनताले लोकतन्त्र लडेर ल्याएको हो । जनताले लोकतन्त्रको रक्षा गर्न एकतावद्ध भएर अगाडि बढ्नुपर्छ ।

यसवीचमा यता म बाहिर गएपछि देशभित्र केही तनाब बढाउने प्रयासहरु भएछन् । खासगरी गुठी सम्बन्धी विधेयकको कुरालाई लिएर ।

उल्टो र भ्रमपूर्ण कुराहरु प्रचारमा गएको छ । हामीले चाहेको हाम्रा सम्पदाहरुको, संस्कृतिहरुको, धरोहरहरुको संरक्षण गर्न हो । अहिले ल्याउन खोजेको विधेयक पनि त्यही हो । त्यो संरक्षण गर्नका लागि हो । तर, कुरा मिसमास गरेर अत्यन्त भ्रमपूर्ण ढंगले त्यसलाई उछालियो र त्यसभित्र के एउटा हरियो साङलो भेट्टाइएको थियो, हरियो एउटा डालोभित्र हजार वटा हरेऊ देखा पर्ने स्थिति बन्यो ।

त्यसकारण भर्खरै माननीय भूमिसुधार मन्त्रीले केही सरोकारवालाहरुसँग परामर्श गर्नुपर्ने, छलफल गर्नुपर्ने, विज्ञहरुका पनि राय सुझाव लिनुपर्ने देखिएको र यो भ्रमपूर्ण वातावरण सिर्जना गरेर त्यसभित्र नेपाली जनताले लडेर ल्याएको लोकतन्त्रविरोधी शक्तिहरु घुसेर लोकतनत्रका जरा काट्ने कैंचीहरु चल्मलाउन थालेको देखेपछि वहाँले आफूले राष्ट्रिय सभामा पेश गरेको विधेयक फिर्ता लिनुभयो ।

अब यतिबेला देशबासी दाजुभाइ दिदी बहिनीहरुले सोच्नुपर्ने अवस्था आएको छ । म सबैलाई भन्न चाहन्छु, यस्तो कुराहरुमा लाग्नु हुँदैन । यो लोकतन्त्रविरोधी गतिविधि, लोकतन्त्रलाई कमजोर पार्ने गतिविधि, विकासका प्रयासहरुलाई विथोल्ने गतिविधि, विकासका कामहरु तर्फ सरकारलाई अगाडि बढ्न नदिने गतिविधि र अुनचित अवाञ्छित विरोधका स्वरहरु अनवरत यी कुराहरु वास्तवमा सामयिक छैनन्, समयानुकुल छैनन्, उपयुक्त र आवश्यक पनि छैनन् ।

जसका असन्तुष्टि छन्, म आह्वान गर्न चाहन्छु सबैलाई, जे मतभेद छन्, आउनोस् बसौं, छलफल गरौं । आफ्नै जिद्दी पूरा हुनुपर्छ भन्न त सकिँदैन । छलफलबाट निश्कर्षहरु निस्किन्छन् । त्यसबाट सम्वादका तरिकाहरु हुन्छन् । देशलाई फाइदा हुने, जनतालाई फाइदा हुने, लोकतन्त्रलाई फाइदा हुने, देश अगाडि बढ्ने काम गरौं । त्यसका निम्ति सरकार खुला छ, तयार छ ।

म सम्झिन्छु, कस्ता कस्ता मान्छेहरु छन् आन्दोलनमा त्यो भन्न चाहन्न । कति गुठीको माया गर्ने, कति संस्कृतिको, कति परम्पराको माया गर्ने मान्छेहरु छन् ? यसै देशमा मध्यरातमा क्रेन लिएर गएर सिंगै मूर्ति भक्तपुरको चोकैमा मर्काको पनि सम्झना आउँछ । यो त त्यही देश होला । जहाँ जनताले रक्षा गर्नुपर्‍याथ्यो ।

यस देशमा कति मूर्तिहरु हराए ? तिनीहरु हराउन नपाउन्, गायव हुन नपाउन् हाम्रा धरोहरहरु, हाम्रा संस्कृतिहरु हाम्रा सभ्यताहरु सुरक्षित, संरक्षित हुन सकुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment