Comments Add Comment

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिले प्रधानमन्त्रीलाई पनि टेरेनन्

४ असार, काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्नातक तहको एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ र बीएससी एमआईटीको प्रवेश परीक्षाको मिति सरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा प्रवेश परीक्षाको मिति मिति सरेको हो । यसअघि प्रधानमन्त्री ओलीको निर्देशन अटेर गर्दै उपकुलपति राजकुमार रौनियारले स्नातक तहको एमबीबीएस र बीडीएसको प्रवेश परीक्षाको सूचना निकालेका थिए ।

चिकित्सा शिक्षा ऐनमा प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय चिकित्सा शिक्षा आयोग रहने उल्लेख छ । उक्त आयोगले नै एकीकृत प्रवेश परीक्षा (कमन इन्ट्रान्स) सञ्चालनका लागि नीति तथा मापदण्ड निर्धारण गर्ने र सोही अनुसार हुने ऐनमा ब्यवस्था छ । अर्थात, मेडिकल कलेजले आफैँ चिकित्सा शिक्षा अन्तर्गत स्नातक तह र एमबीबीएसका लागि प्रवेश परीक्षाका लागि आवेदन माग गर्न सक्दैनन् ।

ऐनको व्यवस्था र प्रधानमन्त्रीको निर्देशनको अवज्ञा गर्दै रौनियारले गत वैशाख २४ गते स्नातक तहको एमबीबीएस र बीडीएसको प्रवेश परीक्षाका लागि सूचना निकालेका थिए ।

यसबारे उजुरी आएपछि शिक्षामन्त्री गिरिराजमणि पोखरेलले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पत्र लेख्दै भनेका छन्, ‘शिक्षाध्यक्षको नेतृत्वमा परीक्षा समिति गठन गरी परिक्षाको निश्पक्षता, स्वच्छता, पारदर्शिता र स्तरीयता कायम गरी काम कारबाही अगाडि बढाउनुहुन निर्देशन दिएको छु ।’

पत्रमा मन्त्री पोखरेलले आफुले प्रधानमन्त्री एवं चिकित्सा शिक्षा आयोगका अध्यक्ष तथा प्रतिष्ठानका कुलपति प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा पत्र लेखेको प्रस्ट उल्लेख गरेका छन् ।

उपकुलपतिको नेतृत्वमा प्रवेश परीक्षा समिति

शिक्षाध्यक्षको अध्यक्षतामा प्रवेश परीक्षा समिति गठन गरी परीक्षा सञ्चालन गर्ने कानुनी प्रक्रिया हो । तर, यस विपरीत हाल प्रवेश परिक्षा समितिको नेतृत्वमा उपकुलपति रौनियार आफैँ छन् ।

प्रतिष्ठानको २५ वर्षे इतिहासमा शिक्षाध्यक्ष नै प्रवेश परीक्षा समितिको अध्यक्ष रहने प्रचलन थियो । तर, यसलाई रौनियारले तोडेका छन् ।

उपकुलपति रौनियारले केही दिनअघि मात्रै आफ्नै अध्यक्षतामा प्रवेश परीक्षाको समिति पुनर्गठन गरेका हुन् । ‘केही दिन अघिसम्म श्याम क्षेत्री प्रवेश परीक्षा समितिको अध्यक्ष हुनुहुन्थ्यो । तर, उहाँ (रौनियार) ले आफ्नै अध्यक्षतामा परिक्षा समिति पुनर्गठन गर्नुभएको छ’ प्रतिष्ठानका एक कर्मचारीले अनलाइनखबरसँग भने ।

आगामी शनिबार एमडी, एमएस लगायत स्नातकोत्तर तहको प्रवेश परीक्षा हुँदैछ । त्यसको केही दिनअघि रौनियारले परीक्षा समितिको नेतृत्व आफैँ लिएका हुन् ।

यसअघि पनि उपकुलपति रौनियारले डीनको अध्यक्षतामा परीक्षा समिति गठन गरेको भन्दै उजुरी परेपछि चिकित्सा शिक्षा आयोगले शिक्षाध्यक्षकै अध्यक्षतामा परीक्षा समिति गठन गर्न प्रतिष्ठानलाई निर्देशन थियो ।

वीपी प्रतिष्ठानमा उपकुलपति डा. रौनियारलाई पदीय दायित्व निर्वाह नगरेको, प्रतिष्ठानमा हुने विभिन्न खरिद तथा ठेक्कापट्टामा भ्रष्टाचार गरेको भन्दै प्रतिष्ठानको ४२ औं सिनेटले बर्खास्त गर्ने निर्णय गरेको थियो ।

सिनेटको उक्त निर्णयविरुद्ध रौनियार सर्वोच्च अदालत गएका थिए । सर्वोच्च अदालतले काम गर्न दिनु भनि अन्तरिम आदेश दिएपछि पुनर्स्थापित भएका छन् ।

त्यसपछि रजिष्ट्रार र शिक्षाध्यक्षको समेत अधिकार आफैंले लिएर रौनियारले प्रवेश परीक्षाको सूचना निकालेका हुन् ।

बुधबार संसदको शिक्षा स्वास्थ्य समिति उपस्थित रौनियारलाई सांसदहरुले प्रवेश परीक्षाको सूचना कुन कानुन अनुसार निकालिएको हो ? भन्दै प्रश्न गरेका थिए ।

जवाफमा रौनियारले भने, ‘पुरानै कानुनअनुसार हो । हाल चिकित्सा शिक्षा आयोगले कुनै निर्णय गरेको छैन । त्यसैले शिक्षा मन्त्रालयको पत्रअनुसार पुरानै ऐनअनुसार काम अगाडि बढाइएको थियौं । तर, अहिले शिक्षा मन्त्रालयकै आग्रह अनुसार मिति सारिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment