Comments Add Comment

अस्पतालको बेडमा मधेस आन्दोलनका घाइतेको आर्तनाद

शरीर ठीक भइदिए आफैं पानी खान्थेँ

४ असार, वीरगञ्ज । नारायणी क्षेत्रीय अस्पतालको बेड नं १९ मा एक विरामी छटपटाइरहेका छन् । ज्वरो र घाउको उपचारका लागि अस्पताल पुगेका उनी हुन्, पछिल्लो मधेस आन्दोलनका घाइते मुन्सी पटेल । कतिले उनलाई मधेस आन्दोलनका ‘ज्यूँदा सहिद’ पनि भन्ने गरेका छन् । उनको अवस्था भने नाजुक छ ।

औषधिको भरमा बाँचेका छन् । ‘मेरा बुढा बाबुआमा, श्रीमती र यही एउटा घाइते शरीर छ । नेताहरुले ठिकसँग उपचार गरिदिए हुन्थ्यो जस्तो लाग्छ’, पटेलले अनलाइनखबरसँग भने, ‘चुनावका बेला भेट्न आएका नेताहरु त्यसपछि गायव छन् ।’

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ५० हजार रुपैयाँ सहयोगको आश्वासन दिएको तर, रकम नदिएको उनको गुनासो छ । भन्छन्, ‘मधेस आन्दोलनका नेता ज्यूहरु, यो घाउ ठिक गरिदिनुस्, एक गिलास पानी आफ्नै हातले खाने इच्छा छ ।’

वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीको पहलबाट पटेलकी श्रीमती शान्तिकुमारी देवीलाई प्राथमिक स्वास्थ्य केन्द्र बगहीमा कार्यालय सहयोगीको जागिर मिलेको छ । उनको मासिक १६ हजार तलबले परिवार चलेको छ ।

पटेल परिवारको अन्य आय स्रोत छैन । त्यसैबाट तानतुन गरेर औषधि खर्च निकालिरहेका छन् । भएको एउटा बाख्रा पाँचहजार रुपैयाँमा बेचेर उपचारका लागि निस्किएका पटेल परिवारको त्यति रकम शुरुमा वीरगञ्जकै एडभान्स अस्पतालमै सकियो । अहिले पटेल नारायणी अस्पतालमा छन् ।

को हुन् मुन्सी पटेल ?

वीरगञ्ज, बगहीका मुन्सी पटेललाई संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ घोषणा भएको दिन असोज ३ गते सुरक्षाकर्मीले हानेको गोली लागेको थियो । उनी मधेसी दलहरुको आह्वानमा वीरगञ्जमा भएको प्रदर्शनमा सहभागी थिए । गीतामन्दिर रोडमा गोली लागेर ढलेको उनी बताउँछन् ।

त्यहाँबाट नारायणी अस्पतालको इमरजेन्सी उपचारपछि हेलिकप्टरबाट काठमाडौं लगियो । काठमाडौंमा उपचार नहुने भएपछि भारतको एम्स अस्पताल र इन्डियन स्पाइनल ईन्जुरी सेन्टर पनि लगियो । त्यहाँबाट फर्काएपछि उनी बाख्रा बेचेर एडभान्स अस्पताल हुँदै पुनः नारायणी क्षेत्रिय अस्पताल पुगेका हुन् ।

पटेललाई प्रदेश सरकारले सहयोग गर्दै नगरेको भने होइन । मुख्यमन्त्री लालबाबु राउतले गतवर्ष तीन लाख रुपैयाँ हस्तान्तरण गरेको उनले बताए । तर, उनलाई थप उपचारको खाँचो छ । उपचारमा शुरुदेखि नै सहयोग गर्दै आएका सामाजिक अभियन्ता प्रकाश थारु पटेललाई राम्रो अस्पताल आवश्यक भएको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment