Comments Add Comment

बालुवाटारमा ओली र प्रचण्डवीच २ घण्टा छलफल, शनिबार सचिवालय बैठक डाकियो

आगामी बैठकमा ‘जबज’को बहसले प्रवेश पाउने

४ असार, काठमाडौं । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले बुधबार बालुवाटारमा दुई घण्टा छलफल गरेका छन् । समसामयिक राष्ट्रिय राजनीति र अन्तरराष्ट्रिय परिस्थितिबारे छलफल गरिसकेपछि दुबै नेताहरु असार ७ गते सचिवालय बैठक बोलाउन सहमत भएका छन् ।

बालुवाटार स्रोतका अनुसार दुई नेतावीचको छलफल करिब २ घण्टासम्म चलेको थियो । छलफलको प्रारम्भमा प्रधानमन्त्री ओलीले आफ्नो युरोप भ्रमणबारे अर्का अध्यक्ष प्रचण्डलाई जानकारी गराएका थिए । त्यसपछि केहीबेर राष्ट्रिय राजनीतिक परिस्थितिबारे दुई अध्यक्षवीच कुराकानी भएको थियो ।

दुई नेतावीचको छलफलमा आगामी शनिबार सचिवालयको बैठक बोलाउने निर्णय भएको  प्रधानमन्त्री निकट स्रोतले अनलाइनखबरलाई जानकारी दियो ।

स्रोतले भन्यो, ‘आगामी सचिवालयको बैठकमा नेकपाको राजनीतिक प्रतिवेदनमाथि छलफल हुनेछ । सचिवालय बैठक बस्नु पूर्व दुई अध्यक्षले राजनीतिक प्रतिवेदनमाथि छलफल गर्ने सहमति भएको छ ।’

जबजको बहसले प्रवेश पाउने

बुधबार बालुवाटारमा भएको दुई नेतावीचको छलफलमा अध्यक्ष प्रचण्डले जिल्ला इञ्चार्ज र विभागहरु लगायतका सांगठानिक एकताका थाती रहेका कामहरुको टुंगो लगाउन सचिलावय बैठक र स्थायी कमिटी बैठक बोलाउने प्रस्ताव प्रधानमन्त्री समक्ष राखेका थिए ।

तर, प्रधानमन्त्री ओलीले सांगठानिक एकताको टुंगो लगानुपूर्व राजनीतिक प्रतिवेदनमाथिको छलफल टुंग्याउनु उपयुक्त हुने बताएपछि शनिबार बस्ने  बैठकमा सांगठानिक एकता भन्दा पहिले राजनीतिक प्रतिवेदनमाथि छलफल गर्ने सहमति भएको हो ।

पूर्वएमाले र पूर्वमाओवादीवीच पार्टी एकता हुने क्रममा कार्यदलले तयार पारेको अन्तरिम राजनीतिक प्रतिवेदन अहिलेसम्म प्रकाशित हुन सकेको छैन । अध्यक्षद्वयले भाषा मिलाएर प्रकाशन गर्ने गत स्थायी कमिटीको बैठकले भनेता पनि अहिलेसम्म त्यसमा प्रगति भएको छैन ।

अन्तरिम राजनीतिक प्रतिवेदनमा जनताको बहुदलीय जनवाद(जबज) लाई स्वीकार्ने कि नस्वीकार्ने भन्ने विवाद रहेकाले यसको अन्तिम टुंगो लाग्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment