Comments Add Comment

नेपालीलाई दुःख दिने नियत छैन : योगी आदित्यनाथ

५ असार, लखनउ । उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालीहरुलाई भारत आवत-जावत गर्ने वातावरण अझै सहज बनाउने बताएका छन् । सिमानाका नेपालीहरुले कहिलेकाहिँ दुःख पाउने गरेको सुनेको बताउँदै उनले दुःख नदिन भारतीय सुरक्षाकर्मीहरुलाई आफूले निर्देशन दिइसकेको जानकारी पनि दिए ।

नेपाली पत्रकारहरुको टोलीसँग लखनउमा भएको भेटमा योगी आदित्यनाथले भने, ‘सीमा वारपार गर्ने वातावरण अझै सहज बनाइन्छ । आवश्यक परे म आफैं पनि सीमा क्षेत्रको अनुगमन गर्न जान्छु । नेपालीलाई दुःख दिने नियत हाम्रो होइन ।’

केही व्यक्तिहरुले नेपाल-भारत खुला सिमानाको फाइदा उठाउन खोजेको बताउँदै उनले त्यसप्रति भने सजग हुनुपर्नेमा जोड दिए । लागू औषध र अवैध मुद्रा ओसारपसार तथा आपराधिक क्रियाकलाप रोक्ने क्रममा कहिलेकाहिँ सिमानामा कडाइ गर्ने गरिएको उनको भनाइ थियो ।

आफूहरुले सधैं नेपालको समृद्धि र नेपालीहरुको सुख चाहेको उनले बताए । नेपाल सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा अघि सारेकोमा प्रशंसा गर्दै उनले नेपालको समृद्धिको यात्रामा भारतको सधैं साथ रहने बताए ।

नेपाल र भारतका नागरिकको सम्बन्ध सदियौंदेखि सुदृढ रहेको बताउँदै उनले यो सम्बन्धलाई अझै उचाइमा पुर्‍याउनुपर्नेमा जोड दिए । दुवै देश र जनताबीच विश्वासको सम्बन्ध रहेकाले यसमा फाटो आउन दिन नहुने उनले बताए । नेपालीहरु स्वाभिमानी र सज्जन भएको भन्दै उनले प्रशंसा पनि गरे ।

नेपाल-भारत सम्बन्ध धार्मिक दृष्टिकोणले पनि महत्वपूर्ण रहेको बताउँदै उनले धार्मिक पर्यटन विकासमा जोड दिनुपर्ने बताए । विवाह पञ्चमीको अवसरमा जनकपुरको भ्रमण गरेको स्मरण गर्दै उनले न्यायो आतिथ्यताको लागि नेपाल सरकार र नेपालीहरुप्रति कृतज्ञता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment