Comments Add Comment

उधुम गर्मी र पार्टी प्यालेसमा सीमित कांग्रेसको जागरण

सात दशक पूरा गर्ने क्रममा अनेक ऐतिहासिक जिम्मेवारी निर्वाह गरेको नेपाली कांग्रेसले पहिलो चरणको राष्ट्रिय जागरण अभियानको समापन पश्चात लामो सास फेरेको छ । कांग्रेसले स्थापनाकालदेखि नै अवलम्बन गर्दै आएको मूल आदर्श राष्ट्रियता, मूल सिद्वान्त लोकतन्त्र र समाजबादका बाटोमा आम जनता र कार्यकर्तालाई अभिपे्ररित गर्न आवश्यक नै थियो । पछिल्लो महासमितिबाट पारित भएका नीति, कार्यक्रम र संशोधित विधानबारे पार्टीको स्थानीय तहका कार्यकर्ता एवं शुभचिन्तकलाई जानकारी गराउनु जरुरी थियो ।

पार्टीमा नवीन ढंगको एकता, समन्वय, हार्दिकता वृद्धि गर्ने, पार्टी सुदृढीकरणका विविध गतिविधि अघि बढाउँदै देशव्यापीरूपमा जागरण गर्ने कार्यमा पार्टीले आफ्नो ऊर्जा खर्चिनु अत्यावश्क थियो । यस गरिमामय पार्टीको नेतृत्वमा मुलुकले विगतमा हासिल गरेका राजनीतिक उपलब्धि एवं समृद्धिको दिशामा गरिएका काम नागरिक तहमा पुर्‍याउने र वर्तमान सरकारका भ्रष्टाचार लगायत कैयौं जनविरोधी क्रियाकलापबारे जनस्तरमा लान पनि कांग्रेस गाउँसम्म पुग्नुपर्ने अवस्था थियो ।

तर, नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियान सुविधा सम्पन्न शहरहरुमा पार्टी प्यालेसमा सीमित रहृयो भने गाउँघर, विषेश गरी तराई मधेसका जिललामा प्रचुर गर्मीको कारणले न्यून कार्यक्रम र न्यून अपस्थिति रहृयो ।

अधिकांश केन्द्रीय नेताले जागरण अभियानको औचित्य बारे प्रश्न उठाए भने कार्यकर्ता माझमा जागरण नेताका लागि कि कार्यकर्तालाई आवश्यक भन्ने विषयले व्यापकता पायो । यस्ता कारणले राष्ट्रिय जागरण अभियानको पहिलो चरणको कार्यक्रम लक्ष्यअनुसार प्रभावकारी हुन सकेन ।

धेरै जिल्लामा त केन्द्रबाट खटिएका प्रतिनिधिहरुलाई गुट र उपगुटका कारण विभाजित नेता तथा कार्यकर्तालाई एकै ठाउँमा राखी विवाद मिलाउननै हम्मे-हम्मे पर्‍यो । केही जिल्लामा त जागरण अभियान नभएर गुटको कार्यक्रम जसरी अभियान सन्पन्न भयो । आन्तरिक द्वन्द्व मिलाउन र सबैलाई खुशी पार्नुपर्ने बाध्यताले गर्दा पनि केन्द्रीय निर्देशनबमोजिम तोकिएको ढाँचा र वक्ताको मात्र संबोधन गर्ने गरी अभियान सञ्चालन गर्न सम्भव भएन ।

पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढ्नुपर्ने बेलामा केन्द्रबाट पनि वक्ता र आसन ग्रहणसमेत तोकिएकाले कतिपय जिल्लामा पूर्व सभापति र पूर्व केन्दि्रय सदस्यले समेत मञ्चासन नपाइएको अवस्था देखियो ।

साथै खटिएका अधिकांश केन्द्रीय प्रतिनिधिहरू पनि निर्देशन बमोजिम पूरै समय जिल्लामा नबसी समुदघाटन, जिल्ला समिति बैठक र समापनमा उपस्थित भएर निर्देशन दिएकाले पनि स्थानीय तहसम्म अभियानलाई प्रभावकारी रुपले सञ्चालन गर्न नसकिएको हो । जागरण अभियानको दौरान पनि तीन तहको निर्वाचनमा भएको घात अन्तरघातको तुसले अझैसम्म पनि कांग्रेसजनलाई नछाडेको देखियो भने कतै कतै त बादविवाद र गुटबीच मुठभेडसम्म भयो ।

सकारात्मक सन्देश दिन शुरुवात गरिएको उक्त अभियानमा यस्ता घटनाले कार्यकर्ताको मनोबल बढाउन सकेन । मध्ये गर्मीमा आयोजित अभियान अधिकांश जिल्ला सभापति र केन्द्रीय प्रतिनिधिहरुलाई फलामको चिउरा नै बन्न पुग्यो । जनताको मनमनमा पुग्ने लक्ष्यले अभिप्रेरित राष्ट्रिय जागरण अभियानको पहिलो चरणको कार्यक्रम सोचे अनुसार सफल भने हुन सकेकोे देखिएन ।

मुलुक संघीयतामा गइसकेको र संघीय प्रणालीअनुसार तीन तहको निर्वाचन सम्पन्न भइसकेको छ । तर, संघीय संरचना अनुसार पार्टी संरचना बनाउन नसक्दा पूरानै अवस्थामा पार्टी संगठन रहेकाले पनि कायकर्ताहरुमा निराशा देखिन्छ ।

यसले गर्दा पनि राष्ट्रिय जागरण अभियान लक्षित वर्गसम्म पुग्न सकेन। महासमितिको निर्णयलाई आत्मसाथगरी, केन्द्रीय कार्यसमिति बैठकबाट विधिसम्मत ढंगले अनुमोदन गरेर अभियान सञ्चालन गरेको भए जागरण अभियान अझै सफल हुनेमा दुइ मत थिएन ।

प्रथम चरणको राष्ट्रिय जागरण अभियानलाई सफलतापूर्वक सम्पन्न गर्ने केन्द्रीय प्रतिनिधिहरू तथा जिल्ला सभापतिहरुको प्रशंसा गर्न पनि पार्टी नेतृत्व पछि हट्नुहुन्न भने अभियान राम्रोसँग नभएका जिल्लाहरुलाई स्पष्टीकरण पनि सोधिनुपर्छ ।

पहिलो चरणको जागरण अभियानको वीचमै आएको आर्थिक बर्ष ०७६/७७ को बजेटमा प्रदेशलाई ६ र स्थानीय सरकारलाई १४ प्रतिशत बजेट छुट्टयाइनुले पनि बर्तमान सरकार संघीयताप्रति इमान्दार नभएको पुष्टि गर्छ । नेपाल कम्युनिष्ट पार्टीले नेतृत्व गरेको यो सरकार संसदमा दुइतिहाई मत हासिल गर्न सफल भएपनि समग्रमा संघीयता र गणतन्त्रप्रति प्रतिबद्व भने देखिएको छैन । यस्तो अवस्थामा कांग्रेस एक ढिक्का भएर अघि बढ्नुपर्ने आवश्यक्ता छ ।

नेपाली कांग्रेसलाई गतिशील बनाउन र आगामी निर्वाचनमा पहिलो पार्टी बनाउनका लागि ९ महिनाभित्र १४ औं महाधिवेशनको जरुरी छ । ४ वर्षको कार्यकालमा तीन वर्ष तीन महिना समाप्त भइसकेको छ । महाधिवेशनको समयमै गरेर त्यसपछि हुने निर्वाचनका लागि चुनावी रणनीतिका दृष्टिले पनि पार्टीको कार्यकाल थप्नु औचित्यपूर्ण देखिँदैन । तीन वर्षमा गाउँ/नगरपालिकाको निर्वाचन आउन भएकाले आउनुभन्दा एक वर्षअघिदेखि पार्टी चुनावको तयारीमा जुट्नुपर्छ ।

पार्टीको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान अघि केन्द्रीय कार्यसमितिमा पहिलो चरणको राष्ट्रिय जागरण अभियानको सफलता र त्रुटीको घनिभुतरुपमा छलफल गर्नुपर्छ । अब बस्ने केन्द्रीय कार्यसमितिको बैठकले १४औं महाधिवेशनको आन्दोलन मिति तोकी अघि बढेमा कांग्रेसले गति लिन्छ, यदि यो भएन भने दोस्रो चरणको राष्ट्रिय जागरण अभियान कर्मकाण्डमा मात्र सीमित रहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment