Comments Add Comment

मनसुन सुरु भएको औपचारिक घोषणा, चार वटा प्रदेशमा कम पानी पर्ने

५ असार, काठमाडौं । यो वर्षको मनसुनी वर्षा १० दिन ढिलो शुरु भएको छ । बिहीबारदेखि नेपालको पूर्वी भेगबाट मनसुन प्रवेश गरेको मौसम पूर्वानुमान महाशाखाले औपचारिक जानकारी दिएको छ । गत वर्ष भने ८ जुनमै मनसुन शुरु भएको थियो ।

जल तथा मौसम विज्ञान विभागकी मौसमविद मन्जु बासीका अनुसार मनसुन पूर्वी नेपालबाट प्रवेश गरेर क्रमशः मध्य क्षेत्र हुँदै पश्चिमतर्फ फैलिन्छ ।

विभागका अनुसार सन् १९७९ मा मनसुन जम्मा ७३ दिनको थियो । विभागले त्यसलाई अहिलेसम्मको सबैभन्दा छोटो मनसुनको रुपमा लिएको छ । २००८ मा सबैभन्दा लामो अर्थात १३० दिनको मनसुन थियो ।

सबै भन्दा छिटो मनसुन १९९६ मे ३१ मा शुरु भएको थियो । १९८२ जुन २७ मा शुरु भएको मनसुनलाई अहिलेसम्मकै ढिलो मनसुन मानिएको छ ।

तीन वटा प्रदेशमा औसत वर्षा

जुनदेखि सेप्टेम्बरसम्मको चार महिनाको अवधीलाई दक्षिण एसियाली मनसुनको अवधी भनिन्छ । साधारणतया नेपालमा ८ जुनमा शुरु भएको मौसम २३ सेम्टेम्बरसम्म मनसुन रहन्छ । यो अवधीमा वार्षिक वर्षाको ८० प्रतिशत पानी पर्छ ।

महाशाखाले यो वर्ष प्रदेश १, २, ३ र ५ का केही भूभागहरूमा औसत भन्दा कम वर्षा हुने अनुमान गरिएको छ । गण्डकी, कर्णाली र सुदुरपश्चिममा भने औसत वर्षा हुने उसको अनुमान छ ।

मौसमविद् बासीका अनुसार स्थान विशेषको ३० वर्षको औसत वर्षा हो । त्यो औसत वर्षाको ९० देखि ११० प्रतिशतसम्म वर्षालाई सामान्य वर्षा भनिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment