
५ असार, वीरगञ्ज । नारायणी अस्पतालमा उपचाररत मधेस आन्दोलनका घाइते मुन्सी पटेललाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । मुन्सीको उपचारका लागि आमा शान्तिदेवी, बुवा र श्रीमती पनि काठमाडौं गएका छन् ।
निरन्तर ज्वरो आउने तथा गोली लागेर बनेको मेरुदण्डको घाउ निको नहुँदा उनको स्वास्थ्य अवस्था कमजोर हुँदै गइरहेको थियो । लामो समय उपचारका लागि अस्पतालमा राख्नुपर्दा पटेलको उपचारमा आर्थिक अभाव भएको समाचार अनलाइनखबरमा प्रकाशित भएको थियो ।
पछिल्लो मधेस आन्दोलनका घाइते मुन्सी पटेल १४ दिनदेखि नारायणी उप क्षेत्रिय अस्पतालमा उपचार गराइरहेका थिए । त्यसअघि तीन दिन वीरगञ्जकै एडभान्स अस्पतालमा उनको उपचार गरिएको मुन्सीको श्रीमती शान्तिकुमारीले बताइन् ।
मधेस आन्दोलनका ‘ज्यूँदो सहिद’ को रुपमा परिचित उनको उपचारमा आर्थिक अभाव हुन नदिने मुख्यमन्त्री लालबाबु राउतले बताएका छन् । मुन्सीको उपचारका लागि प्रदेश सरकारले ५० हजार रुपैयाँ दिने निर्णय गरेको मुख्यमन्त्री लालबाबु राउतका स्वकीय सचिव दीपक यादवले जानकारी दिए ।
‘क्याविनेटबाट ५० हजार रुपैयाँ दिने निर्णय भएको छ, त्यो एक दुई दिनमा निकासा हुन्छ’ उनले भने ‘पैसाको अभावमा मुन्सीको उपचार रोकिन्न भनेर मुख्य मन्त्री स्वयंले चासो दिनुभएको छ ।’
तत्कालिन खर्चका लागि बिहीबार ५ हजार रुपैयाँ सहयोग रकम हस्तान्तरण गरिएको यादवले बताए । मुन्सीको उपचारका लागि भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले ५ हजार, वीरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले ५ हजार र राजपा नेतृ रम्भा मिश्राले ११ हजार आर्थिक सहयोग गरेका छन् ।
मुन्सीको उपचारका लागि समाजवादी पार्टीका सांसद प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले पनि चासो दिएका थिए । मुन्सीलाई काठमाडौंको ट्रमा सेन्टरमा भर्ना गरिएको छ ।
वीरगञ्ज–बगही निवासी मुन्सीलाई संघीय गणतन्त्र नेपालको संविधान २०७२ घोषणा गरेको दिन अर्थात असोज ३ गते सुरक्षाकर्मीले हानेको गोली लागेको थियो ।
प्रतिक्रिया 4