Comments Add Comment

राजा फालेका जनताले नदेखेको दरबार : अब खुल्ला रत्नमन्दिर ?

प्रचण्डको बोली ठट्टा नहोस्

५ असार, पोखरा । तत्कालीन राजा महेन्द्र शाहको मन पर्ने ठाउँ थियो, पोखरा । महेन्द्रले पोखरा आउँदा फेवा किनारमा टहलिन र बास बस्ने ठाउँको परिकल्पना गरे । महेन्द्रको परिकल्पनाले ०१५ सालमा पूर्णता पायो ।

महेन्द्रले फेवा किनारमा बनाएको बंगलाको नाम दिए, रत्नमन्दिर । कटेज शैलीमा बनाएको बंगलालाई कान्छी रानी रत्नको नामबाट रत्नमन्दिर नामाकरण गरेका थिए । रत्नमन्दिरमा महेन्द्रका किस्साहरु वीपीले आफ्नो आत्मवृतान्तमा पनि उल्लेख गरेका छन् । महेन्द्रपछि वीरेन्द्रको मनपर्ने र प्रिय ठाउँ थियो, त्यो ।

पोखरा आउँदा राजपरिवारको बास रत्नमन्दिरमै हुन्थ्यो । वीरेन्द्रको वंशनाश हुँदा ज्ञानेन्द्र शाह रत्नमन्दिरमै थिए । ज्ञानेन्द्रले ०५८ जेठ १९ को रात रत्नमन्दिरमा बिताएका थिए ।

फेवा किनारको रत्नमन्दिरमा राजाको आउ–जाउ त्यतिबेला टुट्यो, जतिबेला राज संस्थाको जनतासँग सम्बन्ध टुट्यो । ज्ञानेन्द्र नै रत्नमन्दिरमा रमाउने अन्तिम राजा बने ।

२०६२/०६३ को जनआन्दोलनपछि वीरेन्द्रको नाममा रहेको रत्नमन्दिर पनि जनताको भयो । ०६४ साल असोज २१ गतेको मन्पिरिषदको निर्णयले रत्नमन्दिरलाई नेपाल ट्रष्टको नाममा ल्याउने निर्णय गर्‍यो । तर, राजसंस्थालाई घुँडा टेकाएर गणतन्त्र ल्याएका जनताले रत्नमन्दिर कस्तो छ ? अझै हेर्न पाएका छैनन् ।

रत्नमन्दिरको पूर्वमा महेन्द्रका माइला भाइ हिमालय वीरविक्रमका नाममा बनेको हिमा गृह पनि अझै जनताको पहुँचभन्दा बाहिर छ । राजसंस्थापछि बनेका प्रत्येक सरकारका पालामा रत्नमन्दिर र हिमागृह जनताका लागि खोल्ने चर्चा चल्छ तर खुल्दैन ।

रत्नमन्दिर कहिले संग्रहालय बनाएर जनतालाई खुलाउने, कहिले ५ तारे होटल बनाउने त कहिले सरकारी आवास बनाउने बहस र चर्चामा हुँदै आएको छ । विभिन्न समयमा नेतादेखि मन्त्रीसम्मले बोले तर पूरा भएन । प्रदेश सरकार गठन भएपछि पर्यटनमन्त्री विकास लम्सालले प्रदेशले रत्नमन्दिर र हिमागृह खुलाउने बताए । जबकि यो प्रदेश मातहत नै छैन ।

पछिल्लो पटक नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले बोलेका छन् । प्रचण्डले बिहीबार पोखरामा भने, ‘जोड गरेर भए पनि गर्नैपर्छ भन्ने लागेको छ अहिले । हिमा गृह र रत्नमन्दिरलाई खुला गराउनैपर्‍यो । खुला गराउन केही दुःखै छैन, मन्त्रिपरिषदले निर्णय गरिदिने बित्तिकै भइहाल्छ ।’

रत्नमन्दिर र हिमा गृहमात्रै खुला गर्न सकियो भने पोखरामा पर्यटक आउने र कम्तिमा एक दिन बसाइ थपिए राम्रो हुने प्रचण्डको भनाइ थियो । ‘मेरो तर्फबाट भोलि प्रधानमन्त्रीलाई गरिहाल्नुस् भन्नेछु,’ प्रचण्डले आश्वस्त पारे ।

राजसंस्थाको अन्त्य र गणतन्त्रको स्थापनासँगै नारायणहिटी राजदरबार जनताका लागि खुला भयो । पोखरा पर्यटन परिषदले बिहीबार प्रचण्डलाई आग्रह गरेको छ, ‘हिमागृह र रत्न मन्दिरलाई पर्यटकीय गन्तव्यमा रुपान्तरण गरी पर्यटकको बसाई लम्ब्याउने निर्णय भएपनि हालसम्म कार्यान्वयन नभएकाले यथासक्य छिटो खुला गर्न पहल गरीदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।’

ठट्टा नहोस् यसपटक

प्रचण्डको आश्वासनसँगै पोखराका व्यवसायीमा केही आशा जगाएको छ । ०७३ सालमै हिमागृह र रत्नमन्दिर जनताका लागि खुला गरिने बताइएको थियो । ट्रस्टले ०७३ वैशाख ८ गतेदेखि सर्वसाधारणका लागि खुला गर्ने निर्णय गर्दै मर्मत, थप पूर्वाधार निर्माण र टिकट छपाइको कामसमेत सुरु गरेको बताएको थियो ।

यसपटक प्रचण्ड आफैंले तत्काल सर्वसाधारका लागि खुला गर्ने बचन दिएपछि पोखराका व्यवसायी उत्साही छन् । उनीहरु भन्छन्, ‘थुप्रै पटक रत्नमन्दिर खुला गर्ने विषय आएको छ, सेलाएको छ । ठट्टा नहोस् यसपटक ।’

पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जीवी पोखरेलले प्रचण्ड आफैंले रत्नमन्दिर र हिमागृह खोल्न प्रधानमन्त्रीसँग आग्रह गर्ने बताएपछि विश्वस्त भएको बताए । ‘मन्त्रिपरिषदको निर्णयबाटै खुल्न सक्ने भएकाले यो ठूलो विषय होइन,’ पोखरेलले भने, ‘पर्यटकीय आकर्षण कसरी बनाउन सकिन्छ भने परिमार्जन गर्न जरुरी छ । ऐतिहासिक महत्वलाई बुझाएर थुप्रै पर्यटक तान्न सक्छौं ।’

संघीय पर्यटन मन्त्रालयका विज्ञ समूह सदस्य वासु त्रिपाठीले सरकार चलाइरहेको पार्टीका अध्यक्षले आस्वस्त पारेकाले उत्साही भएको बताए । रत्न मन्दिरलाई खुला गर्ने र त्यसलाई व्यवस्थित ढंगले सञ्चालन गर्ने, त्यसको महत्व बुझाउने हो भनेमात्रै पनि ठूलो उपलब्धि हुने त्रिपाठीको भनाइ छ ।

‘पोखरासँग प्रचण्डको एक खालको सेन्टिमेन्ट पनि छ र पोखरालाई केही गर्न पाए हुन्थ्यो भन्ने भावना पनि उहाँमा छ । प्रधानमन्त्रीसँग सल्लाहमा गृह मन्त्रालय मातहत रहेको ट्रष्ट खोल्न ठूलो समस्या देखिँदैन,’ त्रिपाठीले भने, ‘बरु त्यो सञ्चालनका निम्ति व्यवस्थापन समिति बनाउने र ऐतिहासिकतालाई बेच्ने योजना चाहिन्छ ।’

राजसंस्था अन्त्य भइरहेको अवस्थामा उनीहरुले खेल्ने मैदान, सुत्ने कोठा, प्रयोग गर्ने सामाग्री हरेक कुरा ऐतिहासिक र लाखौं मूल्यको हुन सक्ने उनको भनाइ छ ।

१ सय १४ रोपनी क्षेत्रफलमा फैलिएको रत्नमन्दिरमा प्रशासनिक भवन, फेवातालसँगै ताल घर, सैनिक बस्ने ३८ कोठे लामो भवन छ । मुख्य भवनमा ११ कोठा छन् । तत्कालीन राजारानीले सुतेका कोठा, आराम गर्ने र खाना खाने कोठाहरु छन् । रत्नमन्दिरलाई अहिले नेपाली सेनाले पहरा दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment