Comments Add Comment

निजी क्षेत्रमा ‘कर्पोरेट कल्चर’ देखिएन : मुख्यमन्त्री पोखरेल

६ असार, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले निजी क्षेत्रमा व्यवसायिक संस्कार (कर्पोरेट कल्चर) को कमी रहेको टिप्पणी गरेका छन् ।

कर्पोरेट कल्चरको अभावमा लगानीको प्रतिफल सोचे अनुसार आउन नसकेको औंल्याउंदै मुख्यमन्त्रीले लगानीकर्तामा जोखिम मोल्ने क्षमता हुनुपर्नेमा जोड दिए । नेपाल उद्योग परिसंघद्वारा आयोजना हुन लागेको तेस्रो पूर्वाधार लगानी सम्मेलन–२०१९ को सन्दर्भमा शुक्रबार बुटवलमा आयोजित प्रदेशस्तरिय अन्तर्क्रियामा मुख्यमन्त्री पोखरेलले निजी क्षेत्रले आफ्नो व्यवससायिक क्षमताको विकास र बैकिङ प्रणालीको क्षमता बृद्धि जरुरी रहेको धारणा राखे ।

लगानीको सही प्रतिफल लिन लक्ष्य र योजना निर्धारण गरेर तुलनात्मक लाभका क्षेत्रमा लगानी गर्न मुख्यमन्त्रीले सुझाए । निजी क्षेत्रको लगानी सुरक्षाका लागि सरकारको उपस्थिति, सहभागिता र सहयोग कुन रुपमा हुनु पर्ने भन्ने किटान गरी सुझाव दिन पनि मुख्यमन्त्री पोखरेलले उद्योगीहरुसँग आग्रह गरे ।

उनले प्रदेश ५ मा औद्योगिक लगानीको उपयुक्त वातावरण रहेकोमा सबै पक्ष सहमत भएको अवस्थामा त्यसलाई अझ फराकिलो र सहकार्यको मोडेल कस्तो बनाउनु जरुरी छ भन्ने विषयमा सुझाव दिन पनि आग्रह गरे ।

प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले प्रदेशमा लगानीका क्षेत्रहरु प्हिचान गरी त्यसलाई योजनाबद्ध रुपमा कार्यान्वयन गर्न सरकार कटिवद्ध भएको जानकारी गराए ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकर शर्माले प्रदेश ५ पर्यटन, उर्जा र खानी क्षेत्रमा लगानी गर्दा बढी लाभ लिन सकिने बताए । नेपाल उद्योग परिसंघका उपाध्यक्ष वीरेन्द्र पाण्डेले लगानीकर्तालाई आकर्षित गर्न सरकारले नीतिगत सुधार गर्नुपर्ने आग्रह गरे ।

नेपाल उद्योग परिसंघ प्रदेश पांचका संयोजक एजाज आलमले कुन क्षेत्रमा लगानी गर्ने भन्ने लक्ष्य निर्धारण निजी क्षेत्रसंगको छलफलमा सरकारले निक्र्योल गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment