+
+
Shares

कांग्रेसले अवरोध गर्ने थाहा पाएपछि गण्डकी प्रदेशसभा बैठक स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ६ गते १७:४३

६ असार, पोखरा । प्रमुख प्रतिपक्षी दलले संसद बैठक अवरुद्ध गर्ने भएपछि शुक्रबार बस्ने भनिएको गण्डकी प्रदेशसभाको बैठक सूचना टाँसेर स्थगित भएको छ । प्रदेशसभाका निमित्त सचिव हरिप्रसाद बास्तोलाले आइतबारसम्मका लागि बैठक स्थगित गरिएको सूचनामार्फत जानकारी दिए ।

शुक्रबारको बैठकमा विनियोजन विधेयकमाथि छलफलमा भाग लिने कार्यक्रम थियो । तर बजेट पुस्तिका त्रुटिपूर्ण रहेको र सच्याउनुपर्ने माग राख्दै कांग्रेस बैठक अवरुद्ध गर्ने तयारीमा थियो ।

गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको ‘रेडबुक’ त्रुटिपूर्ण रहेको र कार्य व्यवस्था समितिमा सच्याउन माग राख्दा बैठक नै स्थगित गरिएको प्रमुख प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपालीले बताए ।

‘रेडबुक संवैधानिक, कानुनी र व्यवहारिक रुपले त्रुटिपूर्ण छ । यसले सांसदका भावना पनि समेटेको छैन,’ नेता नेपालीले भने, ‘करेक्सन नगरे संसद अवरुद्ध गर्छौं भनेका थियौं । तर सभामुखले हाउसमा कुरा राख्ने मौका दिनु भएन ।’

कुनै पनि देश वा प्रदेशको बजेट विनियोजन हुँदा सबैलाई समानता हुनुपर्ने नेपालीको भनाइ थियो । कुनै ठाउँमा आवश्यक योजना पनि बजेट नै परेको र कुनै ठाउँमा विभिन्न शीर्षकमा ‘डुब्लिकेसन’ भएको उनले आरोप लगाए ।

‘सरकारको प्रतिवद्धताभन्दा बाहिर पर्ने सभा, समारोह, गोष्ठीमा पनि थुप्रै बजेट विनियोजन भएको छ,’ उनले भने, ‘यो त उहाँहरुको पनि प्रतिवद्धताविपरीत भयो र राज्यलाई पनि त राम्रो कुरा होइन ।’

सरकारले बजेट विनियोजन गर्दा गल्ती गरेको तर स्वीकार्न नचाहेको नेपालीले आरोप लगाए । उनले भने, ‘लोकतन्त्रमा गल्ती भए त्यसलाई स्वीकारेर सच्याएर अघि जाने हो । गल्ती भएर पनि पेलेर अघि बढ्ने होइन ।’ उनले विनियोजन त्रुटिपूर्ण भए पनि आफूहरु वार्तामा बसेर सहमति गर्न तयार रहेको सुनाए ।

‘बजेट विनियोजनका त्रुटिबारे मुख्यमन्त्रीसँग कुरा राख्दा उहाँले वार्ता गरौं भन्नुभाछ । सल्लाह गरौं भन्नुभाछ,’ नेपालीले भने, ‘तर, यता सदनको कुरा यस्तो छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?