
८ असार, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोइरालाले ‘सांसदहरुले गलत बुझेको’ भनेपछि टिप्पणी गरेपछि राज्यव्यवस्था समितिको बैठकमा केहीबेर भनाभन भएको छ ।
संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे छलफल गर्न आइतबार राज्यव्यवस्था समितिको बैठक बसेको थियो । बैठकमा मन्त्री लालबाबु पण्डित र सचिव यादव कोइरालासमेत सहभागी थिए ।
विधेयकको बुँदा नम्बर ५ को श्रेणी र तहगत व्यवस्थामाथि मन्त्री पण्डितले भनेको भनाइलाई समिति सदस्यहरुले गलत बुझेको अभिव्यक्ति कोइरालाले दिए । त्यसपछि सांसदहरुले आपत्ती जनाएपछि केहीबेर बाझाबाझ भयो ।
समितिको बैठकमा ५ नम्बर बुँदामा विवाद भएपछि त्यसलाई छोडेर ६ नम्बर बुँदामा छलफल अगाडि बढाइसकेको बेला सचिव कोइरालाले पुनः ५ नम्बर बुँदामा प्रवेश गर्दै समिति सदस्यहरुले मन्त्रीको कुरालाई गलत बुझेको अभिव्यक्ति दिएका थिए ।
त्यसलगत्तै पूर्व गृहमन्त्रीसमेत रहेका सांसद जनार्दन शर्माले कोइरालाको भनाइमा आपत्ती जनाए । सांसद शर्माले मन्त्रीको बचाउ गर्न छाडेर आफूलाई दिइएको जिम्मेवारी पूरा गर्न कोइरालाको ध्यानाकर्षण गराए । त्यसपछि अरु सांसदहरु पनि सचिवविरुद्ध खनिए ।
समिति सदस्यहरुले गलत बुझे भन्ने अधिकार सचिवलाई नभएको भन्दै शर्माले भने, ‘गलत तरीकाले व्याख्या गरेको भनेर भन्नुहुन्छ उहाँले । त्यो भन्ने राइट छैन । हामीले लोकसेवाबाट गरौं भन्दाभन्दै रक्त सम्बन्ध भन्ने पनि उहाँ, हामी चुप लागेर बस्या छौं । आज फेरि, गलत ढंगले व्याख्या गरेका छैनौं ।’
सचिव र सांसदहरुबीच बाझाबाझ भएपछि समिति सभापति शशी श्रेष्ठले हस्तक्षेप गर्नुपरेको थियो । सभापति श्रेष्ठले रोकिन सांसद र सचिव कोइरालालाई भनिन् ।
तर, सांसद शर्मा रोकिएनन् । आक्रोशित मुद्रामा उनले भने, ‘रोक्ने होइन, यो कुरा उहाँले भन्न पाइँदैन सभापति ज्यू ।’
सभापति श्रेष्ठले भनिन्, ‘त्यही भन्या छु मैले । दफा ५ मा नजाऔं सचिव ज्यू, दफा ६ मा केन्दि्रत भएर जाऔं ।’
सभापति श्रेष्ठले रुलिङ गर्दै ५ नम्बर बुँदाको विश्लेषण रोकेर ६ नम्बर बुँदामा प्रवेश गर्न भनेपछि सचिव कोइराला ‘हस्’ भन्दै रोकिए र दफा ६ मा केन्द्रित भएर कुरा राखे ।
प्रतिक्रिया 4