Comments Add Comment

स्याफ्रुबेसी–रसुवागढी सडक बनाउन चिनियाँ टोली साइटमा

Photo Credit : फाइल तस्वीर

९ असार, काठमाडौं । चीनसँगको रसुवागढी नाकालाई लक्षित गरी स्याफ्रुबेसी–रसुवागढी सडकको स्तरोन्नतिको काम सुरु भएको छ । यो खण्डको स्तरोन्नतिको लागि चिनियाँ कामदार निर्माण साइटमा आइपुगेका छन् ।

चिनियाँ कामदारमार्फत नै सडक निर्माणका लागि काम सुरु भएको सडक विभागमा विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले अनलाइनखबरलाई जानकारी दिए । ‘उनीहरु अहिले पुल निर्माणको काममा खटिएका छन्, अब सडकको पनि काम सुरु हुन्छ,’ थापाले भने, ‘केही समयमै सडक निर्माणले गति लिन्छ ।’

थापाका अनुसार विभागले हाल सडक सीमाभित्र रहेका घर–टहरा हटाउने र विद्युतका पोल सार्नेलगायतका काम गरिरहेको छ । सडकको पोल सारेर नेपाली पक्षले चिनियाँ पक्षलाई खुला निर्माणस्थल दिनुपर्छ ।

यो खण्डको विस्तृत परियोजना प्रतिवेदन तयार भएर विभागले त्यसलाई स्वीकृत गरेपछि चीनले टेण्डर गरेको थियो । यो परियोजनाअनुसार काम सम्पन्न भएपछि स्याफ्रुबेसीदेखि चीनको केरुङसम्म दुई लेनको सुविधायुक्त सडक बन्नेछ ।

चीनले स्तरोन्नति गर्ने यो सडक खण्ड १६ किलोमिटर लामो छ । दुई लेनको यो सडकले रसुवागढी नाकासम्मको आवात–जावत केही सहज बन्ने अपेक्षा छ ।

हाल यो सडक खण्ड साँघुरो हुँदा रसुवागढीबाट सामान लिएर आउने गाडीलाई पनि चल्न मुस्किल पर्ने अवस्था छ । विभागमा अनुसार केही ठाउँमा जटिल भूगोल भएकाले स्तरोन्नतिको काम चुनौतिपूर्ण छ ।

विभागका अनुसार यो सडक चीनले अनुदान सहयोगमा बनाइदिन लागेको हो । चीनले स्याफ्रुसम्मको सडक निर्माणको ३ वर्षभित्र यो सडकको स्तरोन्नति सकाउने बताइएको छ ।

नेपाली सेनाले मैलुङदेखि स्याफ्रुबेसीसम्मको १७ किलोमिटर सडक निर्माण गरिसकेको छ । तर, यो खण्डलाई पनि स्तरोन्नति गर्न बाँकी छ । हाल स्याफ्रुबेसीबाट धुन्चे हुँदै आउने सडकमार्गको स्तारेन्नति भइरहे पनि भूगोलका हिसावले यो निकै जटिल छ ।

दैनिक थुप्रै कन्टेनरहरु आवातजावत गर्ने यो मार्गलाई चीनको नाकासम्मकै स्तरमा स्तरोन्नति गर्न चीनले भारतीय नाकाबन्दीपछि चासो देखाएको थियो । भूकम्पले तातोपानी नाकालाई बन्द गर्नुपर्ने अवस्था सिर्जना गरे पनि सरकारले पनि यो नाकालाई प्राथमिकतामा राखेर सडक स्तरोन्नतिको योजनाहरु अघि सारेको थियो ।

अब सेनाले ट्रयाक खोलेर सञ्चालनमा ल्याएको बेत्रावती–मैलुङ–स्याफ्रु सडक खण्ड पनि नेपाल सरकारको आफ्नै लगानीमा कालोपत्रे गर्ने योजना बनाएको छ । त्यसका लागि डिजाइनको काम भइरहेको छ ।

यदि यो खण्ड पनि स्तरोन्नति भए चीनको रसुवागढी नाका पुग्न सहज किसिमको मार्ग तयार हुनेछ । भूकम्पपछि तातोपानी नाका बन्द भएपछि मात्रै सरकाले रसुवागढी नाकासम्म पुग्ने सडकलाई सवारीमैत्री बनाउन प्रयास थालेको थियो ।

चीनले पनि हाल केरुङतर्फको भन्सार नाकालाई नै बढी प्राथमिकता दिइरहेको छ । सरकारले रसुवागढी जाने वैकल्पिक मार्गको खोजी गर्दै खोलाको किनारै–किनार नयाँ सडकको ट्रयाक खोलेको हो ।

त्रिशूलीबाट धुन्चे हुँदै स्याफ्रु पुग्ने सडकका विभिन्न स्थानमा ठूला पहिरोहरु छन् । यो मार्गमा भएका पुलहरु पनि जोखिमयुक्त आवस्थामा छन् । हाल माथिल्लो सडक खण्डको पनि स्तरोन्नतिको काम चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment