Comments Add Comment

दक्षिण अफ्रिकाको अधुरो सपना !

९ असार, काठमाडौं । दक्षिणअफ्रिका रंगिन सपना लिएर इंग्ल्यान्ड पुगेको थियो तर यतिबेला त्यो सपना एकाएक तुहिएको छ ।

सात खेल, एकमा जित पाँच खेलमा हार र एक खेलमा पानीको कारण अंक बाँडेको दक्षिण अफ्रिकाले तीन अंक मात्रै बनायो । अझै दक्षिण अफ्रिकाले दुई खेल खेल्नु छ । तर यो दुई खेलमा जित हात पारेपनि उसको लागि पर्‍याप्त हुने छैन ।

आइतबार राति भएको खेलमा पाकिस्तानसँग ४९ रनले पराजित भएसँगै दक्षिण अफ्रिकाको सपनामा तुसारापात लागेको हो । बलियो मानिएको दक्षिण अफ्रिका कहाँ चुक्यो ? किन आफ्नो क्षमताअनुसार दक्षिण अफ्रिकाले खेल्न सकेन ?

अनुभवी खेलाडी नै फ्लप

दक्षिण अफ्रिका कहाँ चुक्यो ? यतिबेला यो प्रश्न सबैको मनमा उब्जिएको छ । दक्षिण अफ्रिका हार्नुको मुख्य कारण नै स्टार खेलाडी नचल्नु हो । दक्षिण अफ्रिकाका कुनै पनि खेलाडीले यो विश्वकपमा आफ्नो क्षमताअनुसार खेल्न सकेनन् ।

कप्तान फाफ् डु प्लेसिस आफै फ्लप बने । उनले सात खेलबाट मात्र १९१ रन बनाए । यता, हसिम अमला, डि कक्, डेभिड मिलर, जेपी डुमिनी जस्ता अनुभवी ब्याट्सम्यानले  आफ्नो भूमिका निभाउन सकेनन् ।

ऐडन मारक्रम, रसिइ भान डेर डुसेन, क्रिस मोरिस, एन्डिल फेहलुकवाओ जस्ता खेलाडीले मिडिल अर्डर र फिनिसिङ राम्रो गर्न सकेनन् । राम्रो सुरुवात, मध्यक्रमका खेलाडीको उत्कृष्ट प्रदर्शन र फिनिसङ गर्न दक्षिण अफ्रिका चुक्यो । एकपछि अर्को विकेट तत्काल जाने रोगबाट दक्षिण अफ्रिका मुक्त हुन सकेन । कुनै पनि ब्याट्सम्यानले राम्रो साझेदारी गर्दै जिततर्फ लान नसक्दा एकपछि अर्को खेलमा हारको सिकार बन्यो ।

बलिङ पनि धरासायी

विश्वका उत्कृष्ट बलरहरुमध्ये दक्षिण अफ्रिका टिममा पनि छन् । इमरान ताहिर, कागिसो रबडा, लंगी नगिडी, क्रिस मोरिस जस्ता चर्चित बलर छन् । तर पनि बलिङमा जादुमयी प्रदर्शन देख्न सकिएन ।

अफगानिस्तानलाई भने १२५ रनमा अलआउट गर्न सफल भएको थियो । इंग्ल्यान्ड, बंगलादेश, भारत, न्युजिल्यान्ड र पाकिस्तान जस्ता देशविरुद्ध दक्षिण अफ्रिकाको बलिङ उत्कृष्ट हुन सकेन ।

दक्षिण अफ्रिकाले एकपछि अर्को हारबाट पाठ सिक्न सकेन । जसले गर्दा निरन्तर हार्‍यो । पहिलो खेलमा आयोजक इंग्ल्यान्डसँग १०४ रनले पराजित भएको थियो । यहीबाट दक्षिण अफ्रिकाले पाठ सिक्नु पर्ने थियो । तर दोस्रो खेलमा पनि बंगलादेशसँग २१ रनले हार्न पुग्यो ।

दुई खेलमा पराजित भइसकेको दक्षिण अफ्रिकाले अब भने सुधारिएको प्रदर्शन गर्नु अतिआवश्यक थियो । तर त्यसपछिका खेलमा पनि उस्तै प्रदर्शन रहृयो । तेस्रो खेलमा भारतसँग प्रतिस्पर्धा गरेको दक्षिण अफ्रिका ६ विकेटले पराजित भयो ।

पाँचौ खेलमा आएर भने अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै विश्वकपमा लयमा फर्किने संकेत देखाएको थियो । तर त्यो पनि सम्भव भएन त्यसलगत्तैको खेलमा न्युजिल्यान्डसँग ४ विकेटले हार्न पुग्यो । अब भने विश्वकप यात्रा कठिन भइसकेको थियो र पाकिस्तानसँग पनि हारेसँगै दक्षिण अफ्रिका विश्वकपबाटै बाहिरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment