Comments Add Comment

प्रदेश ५ को योजना आयोग उपाध्यक्ष डा. गौतम नियुक्त

९ असार,बुटवल । प्रदेश ५ योजना आयोग उपाध्यक्षमा डा. ईश्वर गौतम नियुक्त भएका छन् । प्रदेश सरकार मन्त्रिपरिषदको सोमबारको बैठकले गौतमलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

बुटवलका स्थायी बासिन्दा गौतम यसअघि लुम्बिनी वाणिज्य क्याम्पसका प्रमुख थिए । गौतमले भारतको गोरखपुर विश्व विद्यालयबाट श्रमिक व्यवस्थापन (लेबर म्यानेजमेन्ट) विषयमा विद्यावारिधि गरेका हुन् । २०१३ सालमा पाल्पाको कुसुमखोलामा जन्मेका गौतमले स्नातक तहसम्मको अध्ययन त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाबाट पूरा गरेका हुन् ।

यस्तै भारतको क्रिष्टियन मेडिकल कलेजबाट सामुदायिक विकासमा स्नातकोत्तर गरेका गौतमले अमेरिकी संस्था मेरीगोल्ड अर्गनाइजेसनमा २० वर्ष परामर्शदाताका रुपमा र विश्व बैंकको ग्रामीण पूर्वाधार परियोजनामा केही वर्ष काम गरेका थिए ।

२०४१ सालमा लुम्बिनी वाणिज्य क्याम्पसको प्रमुख भएका गौतम तीन पटक गरी २२ वर्ष क्याम्पसमा सेवा गरेका थिए ।

उनी सत्तारुढ नेकपाको केन्द्रीय शिक्षा विभागको सदस्य थिए । गौतम बुटवलको सबैभन्दा ठूलो निजी शैक्षिक संस्था न्यू होराइजन इन्स्टिच्युटका लगानीकर्ता पनि हुन् । यसअघिका उपाध्यक्ष डा.प्रकाशकुमार श्रेष्ठ नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकमा बढुवा भएपछि जेठ १४ गते पदबाट राजीनामा दिएका थिए ।

आयोगको सदस्यहरुमा डा. विष्णुप्रसाद गौतम र पुष्पा भुसाल लुइटेल रहेका छन् । आयोगले प्रदेशको दूरगामी सोंचसहितको विकासको अवधारणा तयार गर्ने, उद्देश्य तथा लक्ष्य निर्धारण गर्ने,दीर्घकालीन र अल्पकालीन नीति, रणनीति तथा योजना तर्जुमा र प्रदेशस्तरका महत्वपूर्ण नीति, कार्यक्रम र योजनाहरुको अनुगमन एवं मूल्यांङ्कन गरी प्राप्त सूचनाहरुको अध्ययन एवं विश्लेषण गरी प्रदेश सरकारलाई आवश्यक सुझाव, सल्लाह र सहयोग प्रदान गर्ने काम गर्दछ ।

आयोग उपाध्यक्षको मासिक पारिश्रमिक ४९ हजार, यातायात सुविधा मासिक २० हजार, आवास सुविधा प्रति महिना १५ हजार, फर्निचर वापत एकमुष्ट ५० हजार, एउटा सवारी साधन, इन्धन प्रतिमहिना १२५ लिटर, मासिक २ हजार सञ्चार सुविधा, पानी विजुली महसुल २ हजार र अतिथि सत्कारका लागि मासिक ५ हजार रुपैयाँ पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment