+
+
Shares

वीरगञ्जको सुन पसलबाट २ किलो चाँदी र ४२ लाखसहित ८ जना पक्राउ

हुण्डी कारोबारको आशंका

सुरेश बिडारी सुरेश बिडारी
२०७६ असार ९ गते २०:३१

९ असार, वीरगञ्ज । प्रहरीले वीरगञ्ज माइस्थानस्थित केपी स्वर्णकार केन्द्र ज्वेलर्समा छापा मारी ८ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट स्रोत नखुलेको ४१ लाख ९२ हजार ९ सय रुपैयाँ र २ किलो ९० ग्राम चाँदी नियन्त्रणमा लिएको छ ।

प्रहरीले सुन पसलमा काम गर्ने २ जना भारतीय नागरिकसहित ८ जनालाई नियन्त्रणमा लिएको हो । छिपहरमाई गाउँपालिका चेरगाह बस्ने राजकपुर साह, रौतहट चपुर घर भएका सूर्यबहादुर बडवाल, बाराको चैनपुर भवानीपुरका गुलाम साह, वीरगञ्ज–६ का राकेशकुमार सिंह, भारत मोतिहारीका सुनिल प्रसाद पक्राउ परेका छन् । त्यस्तै विन्दवासिनीका सुजित कुमार, वीरगञ्ज– ६ गहवाका चन्दन सर्राफ लाई पनि पक्राउ गरेको छ ।

पसलका सञ्चालक कन्हैया साह सोनार भने फरार छन् । स्रोत नखुलेको रकम हुण्डी कारोबारको हुनसक्ने आशंकामा सुन पसलमा काम गर्ने ८ जना कर्मचारीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता अनन्तराम शर्माले जानकारी दिए ।

पसलमा ठूलो परिमाणमा चाँदी पनि देखिएपछि आन्तरिक राजश्व कार्यालयलाई थप अनुसन्धानको जिम्मा लगाईएको छ । ‘हामीले स्रोत नखुलेको रकम र मानिसलाई नियन्त्रणमा लिएका छौं’ उनले भने ‘पसलमा ठूलो परिमाणमा चाँदी पनि देखेपछि आन्तरिक राजश्व कार्यालय वीरगञ्जलाई अनुसन्धानका लागि बोलाएका छौं ।’

पसलमा शिलबन्दी गरेर आन्तरिक राजश्व कार्यालयले थप अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।

लेखक
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?