Comments Add Comment

बुटवल उपमहानगरको नीति : मेगा सिटी बनाउने, ३ वर्षमा बेरोजगारी शून्यमा झार्ने

९ असार, बुटवल । शहरी भौतिक पूर्वाधार, पर्यटन, कृषि र उद्योग–व्यापारलाई उच्च प्राथमिकतामा राख्दै बुटवल उपमहानगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

उपमहानगरको आजबाट सुरु पाँचौं नगरसभामा आव २०७६/०७७ को नीति कार्यक्रम प्रस्तुत गर्दै प्रमुख शिवराज सुवेदीले समृद्ध बुटवल र सुखी बुटवलबासीको योजना कार्यान्वयनको वर्ष सुरु भएको उल्लेख गरे ।

बुटवल उप–महानगरपालिकाले आसपासका नगर तथा गाउँपालिकाहरुसँग सहकार्य गर्दै यस क्षेत्रलाई मेगा सिटीको रुपमा विकास गर्ने मेयर शिवराज सुवेदीले बताए ।

समग्र नगर क्षेत्रका सार्वजनिक जग्गाको पहिचान तथा लगत तयार गरी संरक्षण गर्न वडा समिति र समुदायलाई थप जिम्मेवार र सक्रिय बनाइने नीति पनि नगरपालिकाले लिएको छ । नगरका विभिन्न क्षेत्रमा रहेका अव्यवस्थित बसोवासको लगत संकलन गरी जग्गा नाप जाँच गरी अभिलेखिकरण गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

बहुप्रतिक्षित पशु बधशाला निर्माणका लागि यसैवर्षदेखि काम सुरु गर्ने उपमहानगरपालिकाले जनाएको छ । बुटवलमा बन्ने बधशाला प्रदेश स्तरको हुने छ । यसै वर्ष आधुनिक पशु बधशाला निर्माण कार्य प्रारम्भ गरिने नीति कार्यक्रममा उल्लेख गरिएको छ ।

तीन वर्षभित्र बेरोजगारी शून्य बनाइने

बुटवललाई तीन वर्षभित्र बेरोजगारी–शून्य नगर बनाउने लक्ष्यका साथ बेरोजगार शून्य नगरको रुपमा अघि बढाउने उपमहानगरपालिकाले जनाएको छ ।

यसको लागि रोजगारी सिर्जना गर्ने संस्थाहरुको लगत संकलन गर्ने, ती संस्थाहरुलाई चाहिने उचित प्रोत्साहनको आवधिक मापन गर्ने र त्यसलाई प्रधानमन्त्री रोजगार कार्यक्रमद्वारा संकलित बेरोजगारको तथ्यांकसँग राखेर उचित नीति नियम तर्जुमा गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

नगरभित्रको रोजगारिको स्थितिसम्बन्धी तथ्यांक नियमित अद्यावधिक गर्दै प्रकाशितसमेत गरिने भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमलाई नगरमा रोजगारी सिर्जनाको महत्वपूर्ण अवसरको रुपमा लिई न्यूनतम रोजगारीको सुनिश्चितता गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment