Comments Add Comment

पर्यटक प्रहरीमा उजुरी : सामान हराएकोदेखि आफैं हराएकोसम्म

Photo Credit : फाइल तस्वीर

१० असार, काठमाडौं । पटक–पटक हुने बन्द–हड्ताल, कमजोर भौतिक पूवार्धार, दूर्घटनाजस्ता कारणले अन्तर्राष्ट्रिय स्तरमा नेपालको खराब प्रचार हुने गर्छ । यसको सीधा असर पर्यटन उद्योगमा पर्छ । तर, पछिल्लो समय नेपालको पर्यटन क्षेत्र निकै सुरक्षित देखिएको छ ।

सन् २०१८ मा आएका कूल ११ लाख ७३ हजार ७२ जना पर्यटकमध्ये केवल ६ सय १९ जना पर्यटक प्रहरीमा पुगेका छन् । पर्यटक प्रहरीको तथ्यांक अनुसार एक वर्षको अवधिमा एकजना पनि पर्यटक दुर्घटनामा परेनन् । अपहरण, बलत्कार, वा धम्कीका उजुरीहरु पनि शून्य रहे ।

सन् २०१८ मा पर्यटकबाट सबैभन्दा धेरै गुनासो आफ्ना सामान हराएको विषयमा प्राप्त भएको छ । एक वर्षको अवधिमा ४ सय ५० जना पर्यटकले सामान हराएको भन्दै उजुरी पर्यटक प्रहरीमा गरेका थिए । १ सय ४१ जना पर्यटकले आफ्ना सामान चोरी भएको उजुरी गरेका थिए ।

सामान चोरीको उजुरी आए पनि सबै अवस्थामा चोरी नै भएको भने हुँदैन । पर्यटकले आफैले सामान बिर्सेर जाने, छाड्ने र पुराना सामान फालेर चोरीको उजुरी पनि गर्छन् । ताकि प्रहरीको रिर्पोट लिएर आफ्नो मुलुकमा सम्बन्धित सामानको बीमा दावि गर्न सकियोस ।

१८ जना पर्यटक ‘फ्रड’ तथा ‘चिटिङ’ भएको भन्दै प्रहरी समक्ष गुनासो गर्न आइपुगेका छन् । उत्पिडन तथा विवादमा परेर उजुरी गर्ने पर्यटकको संख्या ७ जना रहेको छ । सामानमा क्षति पुगेको भन्दै ४ जना पर्यटक प्रहरीले उजुरी गरेका छन् ।

एक जना पर्यटकले आफूमाथि हमला/आक्रमण गरिएको भन्दै प्रहरीमा उजुरी गरेका थिए । तीन जना पर्यटक आफैं हराएको उजुरी एक वर्षको अवधिमा पर्यटक प्रहरीले प्राप्त गरेको छ । गलत व्यवहारको सामना गर्नु परेको भन्दै एक जनाले उजुरी दर्ता गराएका छन् ।

नेपाल भ्रमणमा आएका कूल पर्यटकमध्ये एक वर्षको अवधिमा ०.०५ प्रतिशत पर्यटक विभिन्न गुनासो लिएर प्रहरीसमक्ष पुगेका छन् ।

सन् २०१८ मा प्रहरीसमक्ष उजुरी लिएर पुगेका पर्यटकमा ७८ देशका नागरिक रहेको प्रहरीको तथ्यांक छ । सबैभन्दा बढी चिनियाँ (६७) र अष्टे«लियाका नागरिक (५५ जना) छन् ।

अमेरिकाका ४६ जनाले उजुरी गरेका छन् । बेलायतका ४३, भारतीय र जर्मन २८/२८, क्यानडाका २०, बंगलादेशका १९ जना पर्यटक विभिन्न उजुरी लिएर पर्यटक प्रहरी समक्ष पुगेका छन् । यस अवधिमा २६८ जना महिला र ३ सय ५१ जना पुरुष पर्यटकले गुनासो गरेका थिए ।

पर्यटक प्रहरीले आएका सबै गुनासोमा आफैले अध्ययन अनुसन्धान गर्दैन । पर्यटकले आफ्नो गुनासो लिएर धेरै स्थानमा भौतारिनु नपरोस् भनेर पर्यटक प्रहरीको यूनिट खडा गरिएको हो । त्यसकारण यसले पर्यटकका गुनासो टिपेर सम्बन्धित निकायमा कारवाहीका लागि पठाउने काम गर्छ ।

तथ्यांकअनुसार पर्यटक प्रहरीले एक वर्षको अवधिमा ३० वटा उजुरी आफैले सल्टाएको छ । ७ वटा गम्भीर प्रकृतिका उजुरी र ५ सय ८२ वटा अन्य उजुरीलाई पनि सरोकारवाला निकायसमक्ष पठाइएको पर्यटक प्रहरीको भनाइ छ ।

नेपालमा पर्यटकलाई जिउधनको सुरक्षा जोखिम नरहेको नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत सुधन सुवेदी बताउँछन् । ‘पर्यटकको संख्या बढेसँगै घटना दूर्घटना पनि बढ्नु स्वाभाविक हो,’ उनले भने, ‘तर, नेपालमा पर्यटकलाई लक्षित गरी हानी नोक्सानी पुर्‍याउने प्रकारको कुनै जोखिम छैन ।’

संसारका धेरै देशमा पर्यटकका लागि मात्र भनेर छुट्टै प्रहरी छुट्याइएको छैन । नेपालमा पर्यटकलाई महत्व दिइन्छ भन्ने सन्देश प्रवाहित गर्न समेत पर्यटक प्रहरीका माध्यमबाट ठूलो सहयोग पुगिरहेको उनले बताए ।

ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष नवराज दाहाल पर्यटक आफै सचेत हुने हो भने बाह्य कारणबाट पर्यटकलाई नेपालमा कुनै जोखिम नरहेको बताउँछन् ।

पर्यटकले सरकारी नियम मान्ने, दर्ता भएको आधिकारिक ट्रेकिङ तथा टूर कम्पनीबाट प्याकेज लिने, साथमा तालिमप्राप्त र आधिकारिक गाइड लगेर मात्र जाने प्रावधान कडाईका साथ पालना गर्ने हो भने धेरै हदसम्म जोखिम कम हुने उनले बताए । खासगरी पर्वतारोहण, पदयात्रा, जंगल सफारीजस्ता साहसिक गतिविधिमा आउने भएकाले पर्यटक आफू सचेत हुनुपर्ने उनको सुझाव थियो ।

के काम गर्छ पर्यटक प्रहरीले ?

पर्यटक प्रहरीले मुलरुपमा नेपाल आउने विदेशी पर्यटकहरुको सुरक्षा र संरक्षणको दायित्व लिएको छ । कुनै पर्यटक नेपाल आउनासाथ उसको साथमा रहेको पैसा हरायो भने उसलाई नेपालमा बसुन्जेल सुरक्षित रुपमा घुमफिर गर्ने वातावरण बनाउने काम पनि पर्यटक प्रहरीले गर्छ ।

उजुरी लिएर पर्यटक प्रहरीसमक्ष पुगेमा प्रहरीले पर्यटकलाई सम्बन्धित मुलुकको दूतावाससमक्ष सम्पर्क गराइदिन्छ । त्यसपछि आफ्ना नागरिकको बाँकी व्यवस्थापन दूतावासले गर्छ । कुनै पर्यटक बिरामी भयो, उपचार गर्नु छ । तर, पैसा छैन भने पनि पर्यटक प्रहरीले उसलाई अस्पताल भर्ना गराई सम्बन्धित दूतावासमा जानकारी गराउँछ । त्यसपछि उक्त देशले आफ्नो नागरिकको जिम्मा लिन्छ । अन्य गुनासालाई भने पर्यटक प्रहरीले संकलन गरी थप अनुसन्धानका लागि सम्बन्धित निकायमा पठाउने काम गर्छ ।

काठमाडौंमा भृकुटीमण्डपस्थित पर्यटन बोर्ड रहेकै कार्यालयमा मूख्य कार्यालय रहेको पर्यटक प्रहरीले ठमेल, बसन्तपुर, पशुपतिनाथ, स्वयम्भुनाथ, विमानस्थल, पाटन, भक्तपुर र नगरकोटमा आफ्ना जनशक्ति खटाएको छ । झापाको काँकडभिट्टा, सोलुखुम्बुको लुक्ला, जानकी मन्दिर, वीरगन्ज, सौराह, स्यार्पुबेसी (रसुवा)मा पनि पर्यटक प्रहरीको कार्यालय छ । पोखरा, धम्पुस, घान्द्रुक, वीरेठाँटी, चामे, जोमसोम, घोरेपानी, लुम्बिनी र बेलनिया (रुपन्देही)मा पनि पर्यटक प्रहरीले जनशक्ति खटाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment