११ असार, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीमाथि हातपात गर्न खोजेको आरोपमा प्रहरीले एक जनालाई प्रहरीले पक्राउ गरेको छ । समाजवादी पार्टीकै कार्यकर्ता अजय चौरसिया पक्राउ परेका हुन् ।
वीरगञ्ज–११ श्रीपुरमा रहेको श्रीपुर विद्यापीठ माध्यमिक विद्यालयमा सिसिटिभी र ई–हाजिरीको उद्घाटन गरेर फर्कदा चौरसियाले नगर प्रमुख सरावगीलाई दुर्व्यबहार गरेका थिए । उद्घाटन कार्यक्रम सकिएर फर्कदा विद्यालयको गेटमा उभिएका चौरसियाले नगरप्रमुखलाई गाली गलौज गर्नुको साथै हातपात गर्न खोजेका थिए ।
तर नगर प्रमुख सरावगीका निजी सुरक्षा गार्डले रोकेका कारण हात हाल्न भने पाएनन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा राखेको छ ।
नगर प्रमुखसँग वादविवाद गर्नुको साथै हात हाल्न खोजेकोले चौरसियालाइ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए । ‘
पार्टीकै नेताहरुको उक्साहटमा आफूमाथि दुर्व्यबहार भएको नगर प्रमुख विजयकुमार सरावगीले जानकारी दिए । ‘पार्टीकै केही साथीहरुको उन्माद बढेको छ, कसरी नगर प्रमुखलाई कमजोर बनाउने भनेर लागेका छन्’ उनले भने ‘पार्टीकै नेताको उक्साहटमा एकजना कार्यकर्ताले हात हाल्न खोजेका थिए, पीएसओले छेकेकोले जोगिएँ ।’
स्रोतका अनुसार कार्यक्रममा मन्तव्यका क्रममा नगर प्रमुखले श्रीपुर विद्यापीठ माविमा निर्माणाधीन शौचालयको विषयमा असन्तुष्टि जनाएका थिए ।
‘प्रदेश सरकारले स्थानीय सरकारसँग समन्वय नगरी काम गरिरहेको छ । त्यहाँ पनि विद्यालय परिसरको बीचैमा शौचालय बनेको देंखे, मन्तव्यका क्रममा समन्वय हुनुपर्ने कुरामा जोड दिएको थिएँ’ उनले भने ‘समन्वय नगरी गलत किसिमको निर्माण हुन्छ भने भत्काइदिनु भनेर भनेको थिएँ । त्यसैले पार्टीका केही नेताले उनलाई उचालेर पठाएछन् ।’
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4