Comments Add Comment

हामी बाँचिरहेछौं डरै डरमा

मान्छे कसरी खुसी हुन्छन् ? कसरी सुखी हुन्छन् ? जब मान्छेलाई असुरक्षा, भय हुँदैन तब मान्छे खुसी हुन्छन् ।

फिनल्यान्डको मान्छे संसारका सबैभन्दा खुसी छन् भनिन्छ । अतः फिनल्यान्डका मान्छेहरु खुसी हुनुको प्रमूख कारण चाहि सुरक्षा रहेछ । उनीहरु सामाजिक रुपले सुरक्षित छन् । आर्थिक रुपले सुरक्षित छन् । खुलमखुला हिँड्दा कसैले हत्या गर्ने, लुटपाट गर्ने भय छैन ।

तर हामी कति भय एवं त्रासमा बाँचिरहेका छौ ?

हामीलाई धनमाल लुटिएला कि भन्ने डर लाग्छ । बिना कसूर आरोप खेप्नुपर्ला कि भन्ने डर लाग्छ । खान नपाईएला भन्ने डर लाग्छ । महंगी बढ्ला कि भन्ने डर लाग्छ । उपचार गर्न नसकिएला कि भन्ने डर लाग्छ । छोराछोरी पढाउन नसकिएला कि भन्ने डर लाग्छ । रोजगार नपाइएला कि भन्ने डर लाग्छ । चाडपर्व मनाउने खर्च नहोला कि भनेर डर लाग्छ । वित्तिय संस्थाले ऋण नदिने हो कि भनेर डर लाग्छ । सरकारी कामकाज नहोला कि भनेर डर लाग्छ ।

निर्धक्क हिँडडुल गर्नै गाह्रो

लघुवित्तमा काम गर्ने एक युवतीको पाँचथर हिलिहाङको एक जंगलमा हत्या भयो । पैसा संकलन गर्न गएकी उनीबाट ८१ हजार रुपैयाँ मात्र लुटिएन, ज्यान नै लुटियो ।

हामी निर्धक्क हिँडडुल गर्न सक्दैनौ । कसैले लुट्छ वा कुट्छ भन्ने डर लाग्छ । धनमाल बोकेर हिँडेको छ भने हत्या पनि गरिदिन सक्छ । नवजवान किशोरीहरुलाई आफ्नो अस्मिता जोगाउन मुस्किल छ ।  एक्लो-दुक्लो हिँड्दा यौन दूव्र्यवहारको शिकार बन्नुपर्छ । बलात्कारको शिकार बन्नुपर्छ ।

कति निर्मला पन्तहरु अहिलेपनि बलात्कृत भइरहेका होलान् । कति बलात्कृतको डरले घरभित्रै खुम्चिएका होलान् । घरभित्र पनि उनीहरु सुरक्षित छैनन् । आफ्नै बाबु, बाजेबाट यौन हिंसा भोग्नुपर्ने भय छ ।

सार्वजनिक स्थान, यातायात आदिमा आफुलाई जोगाउनै मुस्किल हुन्छ । एकातिर शारीरिक दूव्र्यवहारको डर अर्कोतिर पैसा, गहना लुटिएला भन्ने डर । सार्वजनिक यातायातमा क्षण-क्षणमै पकेट मारिन्छ ।

हामी भन्छौ, ‘राती नहिँड्नु । एक्लै नहिँड्नु । एकान्तमा नहिँड्नु ।’ यी सबै हाम्रा लागि असुरक्षित थलो एवं अवस्था हुन् । सामाजिक असुरक्षाले हामीलाई सधै भयभित बनाइरहेको छ ।

रोग र उपचारको भय

हामी निरोगी जीवन बाँच्न खोज्छौं । तर, स्वस्थ्य एवं अग्र्यानिक खानेकुरा पाइदैन । विषादी र रासयनिक मलको अत्याधिक प्रयोग भएका खानेकुरा खान बाध्य छौं ।

सन्तुलित खानपान गर्नेका लागि आयआर्जन पुग्दो छैन । जति काम गरेपनि श्रमको मूल्य पाइदैन । त्यही भएर छाक जुटाउनै मुस्किल छ । अर्कोतिर व्यायाम गर्ने अनुकुलता मिल्दैन । सन्तुलित र नियमित दिनचर्यामा आफुलाई अभ्यस्त गराउनै सकिदैन । यसैले त हामी रोगी छौ । जिर्ण छौ ।

हामी सबै रोग लिएरै बाँचिरहेका छौ । औषधी खाइरहेका छौ । अस्पताल धाइरहेका छौ । रोग लागेपछि जीवन नै लथालिंग हुने भय छ । किनभने औषधी र उपचार थेग्नै नसकिने महंगो र अनियन्त्रित छ । स्वास्थ्य सेवा सुलभ छैन । सस्तो छैन । सहज छैन ।

अस्पतालमा भर्ना पाउनका लागि नेता, मन्त्रीलाई चाकडी गर्नुपर्छ । निमुखा, गरिबहरु अस्पताल देख्नै नपाई मृत्युको मुखमा पुगिरहेका छन् । सिटामोलको अभावमा ज्यान गुमाइरहेका छन् ।

अस्पतालको सेवा-सुविधा हाम्रो पहुँच बाहिर छ । कुनै रोग लाग्यो भने रोग पाल्नुपर्ने वा घरबार सक्नुपर्ने बाध्यता छ । रोग र उपचारको भयले हामीलाई तर्साइरहेको छ ।

शिक्षा र रोजगारको भय

सरकारी विद्यालय छन् । राज्य अन्र्तगतका लाखौं शिक्षक छन् । बर्षेनी अर्बौं बजेट खन्याइन्छ । तर, सरकारी विद्यालयको हाल बेहाल छ । सरकारी विद्यालय भनेको गरिब, पैसा नभएका, पढ्न नसक्ने, शिक्षा चेतना नभएकाहरुले पढ्ने ठाउँ हो भन्ने अघोषित मान्यताले समाजलाई भित्रभित्रै गाँजेको छ । त्यही कारण निजी शिक्षालय च्याउसरी उमि्रएका छन् ।

यस्ता विद्यालयमा पढाउनका लागि आमाबुवाले चौबिसै घण्टा आफ्नो हाड घोट्नुपर्छ । भर्ना शुल्क, मासिक शुल्क लगायत पाठ्यपुस्तक, यातायात, खाजा खर्च थेग्नै नसक्ने छ । त्यही कारण छोराछोरी पढाउनकै लागि धेरै पुरुष विदेशिएका छन् । छोराछोरी पढाउने कुरा अधिकांअ आमाबुवाको लागि ठूलो टाउको दुखाईको विषय बनेको छ ।

यत्तिका दुःख गरेर, जीवनभर श्रम गरेर छोराछोरीलाई पढाउन पठाइन्छ । तर, हाम्रो शिक्षा पद्धती घोकन्ते र अव्यवहारिक छ । पढिसकेपछि छोराछोरी बेरोजगार हुन्छन् । उनीहरु न घरायसी काम गरेर खान सक्छन् न रोजगारी गर्न सक्षम हुन्छन् ।

आखिरमा छोराछोरीलाई जागिर दिलाउन उनै नेता-मन्त्रीको चाकडी गर्नु, धाउनुपर्ने बाध्यता हुन्छ । खुला वा निश्पक्ष ढंगले यहाँ रोजगारका वातावरण बन्दैन । नेताको भनसुन, चाकडी गरेर, घुस दिएर फकाइफुल्याई गरेर मात्र जागिर पाउने वातावरण मिलाइन्छ ।

पढ्नै खर्चिलो । पढेपछि रोजगार पाउनै मुस्किल । यही कारण अहिले अधिकांश अभिभावक छोराछोरीको भविष्यदेखि डराइरहेका छन् । छोराछोरीले पढ्न नपाउने हो कि ? रोजगार नपाउने हो कि भन्ने डरले धेरै अभिभावकको रक्तचाप बढाइदिएको छ । निद्रा विथोलिदिएको छ ।

डरै डरको साम्राज्य

खासमा हाम्रो समाज, देशभित्र डरै डरको साम्राज्य छ । यहाँ भयरहित जीवन विताउन सकिदैन । निर्भिक भएर, निर्धक्क भएर बाँच्न कठिन छ । अनेकतिरका असुरक्षाले हामीलाई भयभित बनाइरहेको छ ।

घरभित्र डर छ, घरबाहिर डर छ । खानेकुरा खाँदा डर छ, अस्पताल  धाउँदा डर छ । सार्वजनिक यातायात चढ्दा डर छ, गरगहना लगाउँदा डर छ । राती हिँड्दा डर छ, एकान्तमा बस्दा डर छ । राज्य र राजनीतिको डर छ । करको डर छ । महंगीको डर छ ।

हामी डरै डरमा बाँचिरहेका छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment