Comments Add Comment

सानो गाउँपालिकाको बजेट : बाँदर धपाउने, कृषि पकेट बनाउने

११७ योजनालाई ३७ करोड बजेट, कृषि पहिलो प्राथमिकता

१२ असार, पोखरा । कास्कीको रुपा गाउँपालिकाले किसानलाई ढुवानी र उत्पादनका आधारमा अनुदान दिने भएको छ । कृषि फार्मका नाममा बजेट अनुदान दिँदा राज्यको ठूलो लगानी बालुवाको पानी बनेको गुनासो आइरहेका बेला रुपाले यस्तो नीति ल्याएको हो ।

किसानले उत्पादन गरेको कृषि उपज र त्यसको ढुवानीमा लागेको खर्चअनुसार अनुदान दिन गाउँपालिकाले १० लाख बजेट बिनियोजन गरेको छ । ‘पहिले नै अनुदान बाँड्दा दुरुपयोग हुने गरेको गुनासो छ । हामीले चाहिँ उत्पादन र ढुवानीको आधारमा अनुदान दिन्छौं,’ गाउँपालिका अध्यक्ष नवराज ओझाले भने, ‘यसो हुँदा व्यावसायिक किसानले अनुदान पाउँछन् ।’

गरिब किसानलाई व्यावसायिक बनाउन गाउँपालिकाले कृषि उपकरण र अनुदान दिने छ । कृषिको यान्त्रीकरणका लागि गाउँपालिकाले १५ करोड रुपैयाँ बिनियोजन गरेको छ । ठूला किसानलाई ढुवानी र उत्पादनका आधारमा अनुदान दिँदा साना किसानलाई व्यावसायिक बनाउन गाउँपालिकाले साना किसान अनुदान कार्यक्रम ल्याएको छ ।

प्रदेशले नमूना कृषि फार्मलाई अनुदान दिँदा थुप्रै गुनासा आएका थिए । फिल्डमा हुँदै नभएको फार्मलाई पनि अनुदान दिइएको भन्दै आलोचना भयो । संघीयताअघि पनि युवा लक्षित कार्यक्रमका नाममा असाध्यै कम २५ हजार रुपैयाँसम्म दिइने अनुदान बालुवाको पानी बनेको थियो ।

अर्गानिक खेती गर्ने किसानलाई मात्र अनुदान

बढ्दो किटनाशक औषधिको प्रयोगले जनताको स्वास्थ्यमा असर पर्ने भएकाले आगामी वर्ष अर्गानिक खेती गर्ने किसानलाई मात्र अनुदान दिने व्यवस्था गाउँपालिकाले गरेको छ । गाउँपालिका भित्रका किसानले उत्पादन गरेको उपज बजारसम्म पुर्‍याउन समस्या नहोस् भनेर गाउँपालिकाका ३ ठाउँमा कोल्डस्टोर निर्माणाधीन छ । जसका लागि गाउँपालिकाले ६ लाख रुपैयाँ छुट्याएको छ ।

ढुवानी भाडामा समस्या नपरोस् र उत्पादनमा आधारित कृषक समूह, सहकारी र फर्मले उत्पादन गरेका ठूलो परिमाणका उपज निःशुल्क बजारसम्म ढुवानी गाउँपालिका आफैंले गरिदिने गाउँपालिकाले जनाएको छ । मासिक २ हजार किलोभन्दा बढी तरकारी तथा फलफूल र २ हजार ५ सय लिटरभन्दा बढी दूधको ढुवानी खर्च गाउँपालिकाले नै व्यहोर्ने छ ।

गाउँपालिकाले सबै वडामा फरक–फरक कृषि उपजका पकेट क्षेत्र बनाउन ३५ लाख रुपैयाँ बिनियोजन गरेको छ । अकबरे खुर्सानीदेखि सुन्तला, कागती र तरकारीसम्मका पकेट क्षेत्र तोकेर उत्पादन बढाउन गाउँपालिकाले बजेट छुट्याएको हो ।

पहिलो प्राथमिकतामा राखेर रुपा गाउँपालिकाले १ करोड ३० लाख रुपैयाँ कृषिलाई बिनियोजन गरेको छ । रुपाले कृषिको मोडल बगैंचा पनि बनाउने छ । कृषिको मोडल बगैंचा बनाउन गाउँपालिकाले ९ लाख रुपैयाँ छुट्याएको छ ।

बाँदर व्यवस्थापन गर्न बजेट

गाउँपालिकाले जग्गा चक्लाबन्दी गर्नको लागि ५० प्रतिशत अनुदान दिने भएको छ । चक्लाबन्दी गरेको जग्गामा अनिवार्य ब्यावसायिक खेती गर्नुपर्ने र बाँझो जग्गालाई दोब्बर कर लिने नीति गाउँपालिकाको छ । भूमि बैंक र चक्लाबन्दीका लागि गाउँपालिकाले २० लाख रुपैयाँ छुट्याएको छ ।

गाउँपालिकाले यस वर्ष पनि बाँदर व्यवस्थापनका लागि पनि बजेट छुट्याएको छ । बाँदर व्यवस्थापनमा ५ लाख रुपैयाँ छुट्टाएको गाउँपालिका अध्यक्ष ओझाले जानकारी दिए । बाँदरले बालीनालीमा क्षति पुर्‍याइदिने भएकाले त्यसको व्यवस्थापनको लागि गाउँपालिकाले पहल थालेको हो ।

गाउँपालिकाले आगामी वर्षलाई कृषिको विशेष वर्षका रुपमा मनाउन पहिलो प्राथमिकतामा राखेर बजेट ल्याएको छ । गाउँपालिकाले आगामी वर्ष भकारो सुधारयुक्त गाउँ बनाउने बताएको छ । भकारो सुधार कार्यक्रमका लागि २५ लाख रुपैयाँ बिनियोजन गरेको छ ।

नयाँ सडक नखन्ने

रुपा गाउँपालिकाभित्र आगामी वर्ष नयाँ सडक नखन्ने र भइरहेको सडककै स्तरोन्नतिमा ध्यान दिने भएको छ । गाउँपालिकाले ल्याएको नीति तथा कार्यक्रममा नयाँ सडक नखन्ने तर भएकालाई ग्राभेल, पिच गर्दै लैजाने योजना छ । गाउँपालिकाले भइरहेका ८ सडकको स्तरोन्नति गर्न ६० लाख रुपैयाँ छुट्याएको छ ।

गाउँपालिकाले पर्यटकीय सम्भावनाको खोजी र नयाँ गन्तव्य बनाउन पार्क, भ्युटावर, पदमार्ग, होमस्टे लगायतका कार्यक्रमलाई ५० लाख रुपैयाँ बिनियोजन गरेको छ । सहकारीद्वारा युवालाई स्वरोजगारीका लागि बिनाधितो ऋण दिने कार्यक्रम ल्याएको छ । त्यसका लागि २० लाख रुपैयाँ छुट्याएको छ । गाउँपालिकाले युवा तथा खेलकुदका कार्यक्रमलाई २५ लाख रुपैयाँ बिनियोजन गरेको छ । रुपा गाउँपालिकाले १५ शैय्याको अस्पताल बनाउने भएको छ । आगामी वर्ष नै विशेषज्ञ सेवासहितको अस्पताल चलाउने गरी रुपा गाउँपालिकाले कार्यक्रम ल्याएको छ ।

धेरै योजनामा पैसा छर्नुभन्दा नतिजा निकाल्ने गरी थोरै योजनामा बजेट केन्द्रित गरेको अध्यक्ष ओझाले बताए । गाउँपालिकाले जम्मा १ सय १७ योजनाका लागि बजेट बिनियोजन गरेको छ । गाउँपालिकाले ५ लाखभन्दा सानो योजनामा बजेट बिनियोजन नगरेको अध्यक्ष ओझाको भनाइ छ ।

७ गते नीति तथा कार्यक्रम र मंगलबार बजेट ल्याएको गाउँपालिकाले बुधबार सार्वजनिक गरेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिए । ७ वडा रहेको रुपा गाउँपालिकाले ३७ करोड १३ लाख रुपैयाँको बजेट ल्याएको हो । कास्कीको सबैभन्दा सानो गाउँपालिका रुपाको बजेट पनि सबैभन्दा सानो हो । सानो बजेटले थोरै योजना समेटेर लगानी केन्द्रित गरिने गाउँपालिका अध्यक्ष ओझाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment