Comments Add Comment

बनेपाको आक्रमणले चिकित्सक नै आश्चर्यमा

Photo Credit : digitalgoa.com

१२ असार, काठमाडौं । अहिले काठमाडौं उपत्यकामा मात्र होइन बाहिर पनि ‘सिरिन्ज आक्रमण’को त्रास छ । अज्ञात व्यक्तिले आफ्नो शरीरमा तीखो वस्तुले घोपेको व्यहोराका उजुरीहरु प्रहरीमा पुगेका छन् ।

तर त्यो व्यक्ति को हो, किन आक्रमण गर्‍यो र घोप्ने वस्तु सिरिन्ज नै हो वा होइन भन्ने एकीन भएको छैन । प्रहरीले पनि कुनै पनि आक्रमणकारीलाई पक्राउ गर्न नसकेकाले यो घटना रहस्यमय बन्दै गएको छ ।

सिरिन्ज आक्रमणको आशंका गर्दै शुक्रराज ट्रपिकल सेन्टर पुगेकी युवतीको बयान सुनिसकेपछि डाक्टरहरु पनि हैरान छन् । यसअघि काठमाडौंमा भएको नौ वटा घटना सिरिन्ज आक्रमण हो कि होइन भन्ने भन्न नसकिने अवस्थामा रहेका चिकित्सकहरूलाई आश्चर्यचकित पर्ने पर्याप्त कारणहरु थिए ।

घाउको प्रकृति सिरिन्जले नै घोचेजस्तो स्पष्ट थियो भने घोच्ने व्यक्ति महिला । डाक्टरहरुलाई आश्चर्य पार्ने अर्को तथ्य घटना उपत्यका बाहिर बनेपाको थियो ।

शुक्रराज ट्रपिकल सेन्टरका डा. शेरबहादुर पुन भन्छन्, ’यो घटना देखेर हामी सबै डाक्टर हैरान भएका छौं । यो अगाडि आशंका गरिएको घटनाभन्दा डरलाग्दो छ ।’

यसअघि सिरिन्ज आक्रमण आशंका गरिएका सबै घटना काठमाडौंकै थिए । आक्रमण गर्ने व्यक्ति पुरुष थिए र उनीहरुले बाइक प्रयोग गरेका थिए । तर, बनेपामा भएको घटना काठमाडौंमा भएको घटनाको ठीक उल्टो छ । अर्थात, पैदल हिँडेकी महिलाले आक्रमण गरेकी छिन् ।

यो पनि पढ्नुहोस शंकास्पद सिरिन्ज अट्याक : एचआईभी सर्ने डरले विक्षिप्त छु

डा. पुनकाअनुसार यसअघिका घटनाहरु सिरिन्ज आक्रमण हो कि होइन भनेर आशंका गर्नुपर्ने थियो । तर, यो घटना हेर्दा सिरिन्जले नै आक्रमण गरेको प्रष्ट हुन्छ । पीडित महिलाको हत्केलाको पछाडिपट्टि सिरिन्ज घोपिएको छ भने अरु घटनाको जस्तो ठूलो घाउ पनि देखिन्न ।

‘बिरामीको ब्लड झिक्दा घोपेजस्तै नशामा पर्ने गरी घोपिएको छ । दायाबायाँ कतै घाउ वा दाग छैन’, डाक्टर पुनले भने, ‘यो घटना देखेर हामी सबै डाक्टर हैरान भएका छौं ।’

सिरिन्ज आक्रमणका पछिल्ला ९ मध्ये ६ वटा घटनाबारे प्रहरीमा उजुरी परिसकेको छ । गएका एक सातामा भएका ५ वटा घटनापछि प्रहरीले अनुसन्धान तीव्र बनाएको छ ।

००००

बनेपाकी ३४ वर्षीया एक युवती सिरिन्ज आक्रमणमा परेको भन्दै बुधबार शुक्रराज ट्रपिकल सेन्टर टेकु आइपुगेकी थिइन् । डा. पुनका अनुसार अरूभन्दा यो घटना सिरिन्ज एट्याक भनेर दाबी गर्न सकिने छ ।

गएको डेढ महिनामा यस्तै प्रकृतिको घटना लिएर शुक्रराज ट्रपिकल सेन्टरमा ९ जना महिला पुगिसकेका छन् । पछिल्ला पाँच घटना त गएको एक साताको मात्रै हो । यसअघि भएका चार घटना सार्वजनिक भएपछि त्रसित हुँदै महिलाहरु टेकु अस्पताल पुगेका डा. पुन बताउँछन् । केही दिनको अन्तरमा भएको उस्तै घटनाले महिलाहरु त्रसित छन् । उनीहरुलाई एचआईभी विरुद्धको एआरटी औषधि चलाइएको छ भने हेपाटाइटिस बी बिरुद्धको भ्याक्सिन पनि दिइएको छ ।

सामान्य मान्दामान्दै पछिल्लो तथ्यांकले सिरिन्ज आक्रमण घटनाको ग्राफ बढेको देखाउँछ । तर प्रहरीले भने आक्रमणकारी पक्राउ नभएकाले घटनाबारे थप भन्न नसकिने बताएको छ । डा. पुनले पनि आक्रमण रोग सार्ने नियत हो या आतंक फैलाउने नियतले हो थाहा भइनसकेको बताउँछन् । उनका अनुसार पीडित महिलाहरूमा कुनै संक्रमण भए÷नभए टुंगो लाग्न तीन महिनासम्म कुर्नुपर्छ । भन्छन्, ‘तीन महिनाअघि नै घटनाको बारेमा थाहा पाउन आक्रमणकारी पक्राउ गरेर अनुसन्धान गर्नुपर्छ ।’

००००

सिरिन्ज आक्रमणका पछिल्ला ९ मध्ये ६ वटा घटनाबारे प्रहरीमा उजुरी परिसकेको छ । गएका एक सातामा भएका ५ वटा घटनापछि प्रहरीले अनुसन्धान तीव्र बनाएको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र वोगटी आक्रमणकारीको पहिचान गर्न सीसीटीभी फुटेज र पीडितको बयानका आधारमा खोजी भइरहेको बताउँछन् । बोगटी भन्छन्, ‘हामी आक्रमणकारी खोजिरहेका छौं । चाँडै सार्वजनिक गर्छौं ।’

टेकु अस्पतालका चिकित्सकहरुले पनि घटनालाई ‘गम्भीर’ रूपमा लिएका छन् । यद्यपि सिरिन्जले घोपेको भनेर दाबी गर्न सक्ने पर्याप्त आधारहरु अझै नभेटेको डा. पुन बताउँछन् । उनी भन्छन्, ‘अधिकांश युवतीको दाबी मान्ने हो भने सिरिन्ज आक्रमण नै भएको हो, तर बनेपाको घटना बाहेक अरुमा अन्यौलमा छौं ।’

टेकुस्थित शुक्रराज ट्रपिकल सेन्टरका डा. अनुप बास्तोला सिरिन्ज नै आक्रमण गरेको भनेर दाबी गर्न नसकिने तीन वटा कारण दिन्छन् ।

पहिलो कारण– स्पिडमा बाइकमा आएर घोप्दा घोपिएको ठाउँ वरपर घर्षण भएर चोट देखिन सक्छ तर चारैजना युवतीको घोपिएको ठाउँमा एक ठाउँमा मात्र चोट देखिन्छ ।

दोस्रो कारण– सिरिन्जले घोप्दा चोट गहिरोसँग लाग्छ, तर बनेपाको बाहेक अन्य युवतीको घोपेको ठाउँमा चोट गहिरो छैन । घाउ ठूलो छ । जसको कारण काँटी या कुनै धारिलो हतियारले आक्रमण गरेको अनुमान गर्न सकिन्छ ।

तेस्रो कारण– घटना भएको स्थानको सीसीटीभी फुटेजमा मोटरसाइकल युवतीको नजिकबाट गएको देखिन्छ, तर हातमा भएको वस्तु सिरिन्जजस्तो देखिँदैन ।

बनेपामा भएको आक्रमणमा भने बास्तोला पनि डा. पुनको कुरामा सहमत छन् । एउटै प्रकृतिको घटना एकै समयमा र एउटै क्षेत्रमा भएकाले सिरिन्ज हुन सक्नेमा पनि उनी सहमत छन् । सिरिन्ज हो या होइन भनेर थाहा पाउन आक्रमणकारीको नियत थाहा पाउनुपर्ने उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment