Comments Add Comment

दक्षिण अफ्रिकालाई विश्वकप किन फापेन ?

काठमाडौं । दक्षिण अफ्रिकी क्रिकेट टिमका खेलाडीलाई हेर्ने हो भने उनीहरु विश्वकपमा यति कमजोर होलान् भन्ने लाग्दै लाग्दैन । तर जब मैदानमा उनीहरु हुन्छन्, हारको श्रृङ्खला दोहोरिरहन्छ ।

जारी विश्वकपमा ७ खेल खेलिसक्दा अफगानिस्तानलाई मात्रै हराएको दक्षिण अफ्रिकाको यसअघिका विश्वकपमा क्षमताअनुसारको खेल मैदानमा देखिएको थिएन ।

१९९२ को विश्वकपमा सेमिफाइनल पुगेको दक्षिण अफ्रिका १९९६ मा क्वाटरफाइनल, १९९९ मा सेमिफाइनल, २००३ मा समूह चरण, २००७ मा सेमिफाइनल, २०११ मा क्वाटरफाइनल, २०१५ मा सेमिफाइनलसम्म पुगेको थियो ।
खेल्नुअघिसम्म हरेक विपक्षी टिमलाई डर हुने दक्षिण अफ्रिकी टिम खेलिसक्दा किन कमजोर देखिन्छ त ? वर्षभरका अरु सिरिजमा भन्दा पनि कमजोर किन बन्छ त ? ब्याटिङ, बलिङ र फिल्डिङ सबै योजनाविहीन जस्तो बन्छ । यहाँसम्मकी उनीहरुलाई भाग्यले समेत साथ दिँदैन ।

यसपछाडिका कारणहरु गनेर भन्न सकिने छैनन् तर, केही कारणलाई हेरौं ।

घाइते खेलाडी

विश्वकपको दाबेदारका रुपमा हेरिएको दक्षिण अफ्रिकी टिमका महत्वपूर्ण खेलाडी घाइते हुनु पनि उनीहरुको हारपछिको कारण बन्न पुग्यो ।

विश्वकपको तयारीमा रहेका डेल स्टेन घाइते हुन पुगे । उनी कुममा लागेको चोटका कारण खेल्न नसक्ने भए ।

यस्तै तीव्र गतिका बलर एनरिच नोर्टजे पनि घाइते भए । हुन त धेरैले उनलाई चिन्दैनन् तर, दक्षिण अफ्रिकी टिमका लागि यसपटक उनको महत्वपूर्ण भूमिका थियो । उनलाई ‘प्रकाशको गतिमा बल फाल्न सक्ने’ भन्दै गरिने प्रशंसाले पनि उनको क्षमता थाहा हुन्छ । तर विश्वकपमा जाने एक हप्ताअघि उनको बुढीऔँलामा चोट लाग्यो ।

यस्तै अलराउण्डर भर्नोन फिलान्डर पनि विश्वकपका लागि घाइते रहेकाले उपलब्ध हुन सकेनन् । साथै बंगलादेशसँगको खेलमालुंगी एनगिडी घाइते भएपछि पनि टिमलाई निकै असर परेको छ । यति मात्रै होइन हसिम आमला पहिलो खेलमा नै घाइते हुन पुग्दा उनको क्षमता बाहिर आउनै पाएन । स्टारका रुपमा चिनिएका आमला कमजोर देखिए ।

खराब योजना

दक्षिण अफ्रिकाको विश्वकप योजना मध्यमभन्दा तल रहेको खेलहरु हेर्दा नै बुझ्न सकिन्छ । उनीहरु महत्वपूर्ण खेलाडीको फिटनेसमा वेवास्ता गर्ने, पूर्ण रुपमा फिट नरहेका खेलाडीलाई पनि टिममा लिने जस्ता गल्ती गर्दा महत्वपूर्ण खेलमा आवश्यक खेलाडीको प्रदर्शन हुन सकेको छैन ।

उनीहरुको बलिङ आक्रमणका मुख्य खेलाडी कागिसो रबाडा हतास देखिनुले पनि उनीहरुको योजना बलियो नरहेको बुझ्न सकिन्छ ।

रबाडाले गएको तीन वर्ष नै महत्वपूर्ण ओभर सम्हालिरहेका छन् । २०१५ को विश्वकपपछि सबैभन्दा धेरै विकेट लिने बलर रबाडा विश्वकपमा यसपटक याद हुने गरी देखिन सकेका छैनन् । विश्वकपमा यसपटक ७ खेलमा ६ विकेट मात्रै लिएका उनको क्षमता योभन्दा बढी हो ।

टिमको खराब स्थिति

दक्षिण अफ्रिकी टिम बलिङ, ब्याटिङ र फिल्डिङ सबै तहमा कमजोर देखिएको छ । विशेष त अझ ब्याटिङ र फिल्डिङ कमजोर देखिन्छ । जारी विश्वकपमा दक्षिण अफ्रिकी क्रिकेट समर्थकले धित मरुञ्जेल ब्याटिङ हेर्नैै पाएका छैनन् । उत्कृष्ट १० ब्याट्सम्यानभित्र समेत दक्षिणी अफ्रिकी टिमका कोही देखिँदैनन् ।

ओपनिङमा आम्ला र डिककदेखि ब्याटिङको कमजोर प्रदर्शन सुरु भएको हुन्छ । आम्लालाई त विश्वकप टिममा राख्दा नै अनगिन्ती प्रश्नहरु आइरहेका थिए । उनको लय बिग्रिएकाले विकल्प खोज्नुपर्ने भनिए पनि प्रयोग गर्न खोजिएको उनको अनुभव समेत प्रयोग भएको छैन ।

यस्तै उत्कृष्ट फिल्डिङ र आक्रामक ब्याटिङका लागि चिनिने डेभिड मिलरसमेत विश्वकपमा सोचेजस्तो खेल देखाउन सकेका छैनन् । मिलरले मात्रै होइन, कुनै पनि खेलाडीको फिल्डिङ त हेर्न लायक नै छैन । छाडिएका क्याच, खेर गएका रन आउट अवसर, सुस्त फिल्डिङ हारको कारण बनिरहेको छ ।

ब्याटिङ र फिल्डिङको तुलनामा केही राम्रो भए पनि बलिङसमेत दक्षिण अफ्रिकी टिमसँगको आशाअनुरुप छैन । तीब्र गतिका बलरको प्रदर्शन त अझ आश गरिएभन्दा तल्लो तहको देखिन्छ ।

पुरातनवादी दृष्टिकोण

दक्षिण अफ्रिकाले विश्वकप सुरुवात परम्परागत रुपमा नै ग¥यो । बलिङमा ज्यादा भर परेर प्रस्तुत हुँदा टिमलाई ‘ब्याकफायर’ नै भयो ।

यस्तो लाग्छ उनीहरु ‘प्लान ए’ बनाएर विश्वकपमा आएका थिए उक्त योजनाले काम नगरेपछि उनीहरुसँग ‘प्लान बी’ नै थिएन । उनीहरु परिवर्तनीय योजनामा नै छैनन् । अवस्थाअनुरुप हुनुपर्ने परिवर्तन टिमको प्रदर्शनमा देखिँदैन ।
दक्षिण अफ्रिकी टिम रक्षात्मक क्रिकेट खेलिरहेको छ । ब्याट्सम्यान ब्याटिङ गर्दा डराइरहेका छन् । बलरहरु वाइड र सर्ट बलमा धेरै देखिन्छन् । राम्रो लेन्थ र योर्कर बलिङ त हराइरहेका छ । सबै खेलाडीको प्रदर्शन सकरात्मक देखिँदैन । अफगानिस्तानविरुद्धको एक मात्र जित पनि सन्तुष्ट हुने खालको छैन ।

कप्तान फाफ डु प्लेसिसको मैदानमा देखिने योजना पनि सकरात्मक छैन । उनी बचेर खेल्न चाहेका जस्ता देखिन्छन् तर योजनाअनुसार नतिजा आएको छैन । बलरसँगको मैदानको उनको योजना पनि कमजोर छ ।

हासिम आम्ला, फाफ डुप्लेसिस, क्वान्टन डेकक, डेभिड मिलर कसैको पनि क्षमताअनुसारको खेल देखिएको छैन ।

 जितको भोक छैन

न्युजिल्याण्डसँगको बाहेक अरु खेललाई हेर्ने हो भने दक्षिण अफ्रिकी टिममा जितको भोक पनि देखिँदैन । दक्षिण अफ्रिकी खेलाडीहरुले विश्वकपलाई आईपीएललाई दिएको जति पनि महत्व दिइरहेका छैनन् ।

प्रशिक्षक ओटिस गिब्सनको साधरण प्रस्तुति र इंग्ल्याण्डसँगको हारपछि कप्तान प्लेसिसले दिएको अभिव्यक्तिले पनि विश्वकपको हारको उति ठूलो कारण उनीहरुले देखेका छैनन् । अझ डि ककको आईपीएल उनका लागि कति महत्वपूर्ण छ भन्ने भनाइलाई विचार गर्ने हो भने त विश्वकपलाई उनीहरुले दिएको महत्व थाहा हुन्छ । विश्वकपका खेललाई यति हलुका रुपमा लिन सक्नु र जितको खुशी र हारको सामान्य नमजाबाहेक अरु केही नदेखिनुले पनि उनीहरुको कमजोर इच्छा देखिन्छ ।

अदालतमा पुगेको विवाद

‘दक्षिण अफ्रिकन क्रिकेट एशोसियसन’ ले घरेलु क्रिकेटमा देखिएको विवादलाई लिएर ‘क्रिकेट साउथ अफ्रिका’विरुद्ध अदालत गएकाले पनि व्यवस्थापन चुस्त रुपमा लागिपर्न सकेको छैन ।

दुईवटा संघमा देखिएको विवादका कारण पनि क्रिकेटका लागि देशभित्र हुनुपर्ने कामहरु भइरहेका छै्रनन् । दुई संस्थामा देखिएको विवादका कारण खेलाडी संघ पनि जवाफदेही बनिरहेको छैन ।

यस्तै विवादले नै खेलाडीहरुका लागि दक्षिण अफ्रिकामा तलब भत्ताको सुविधासमेत राम्रो छैन । यसैले पनि उनीहरु विश्वभरका लिगहरुमा हिँडिरहेका हुन्छन् ।

अस्ट्रेलिया र इंग्ल्याण्डका खेलाडीले विश्वकप अघिको आईपीएल नखेल्ने निर्णय गरे पनि दक्षिण अफ्रिकाको बोर्डमा भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) लाई नकार्ने क्षमता समेत देखिएन ।

(यो सामग्री क्रिक इनकी खेल पत्रकार ब्रास्ना कसीले लेखेको लेखमा आधारित छ)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment