Comments Add Comment

सन्दर्भ असार १५ : यस्तो छ धानको इतिहास

असार १५ अर्थात् राष्ट्रिय धान दिवस नेपाली किसानहरुको महत्वपूर्ण पर्व हो । नेपालका किसान संघ-संगठनहरुले यसलाई किसान दिवसको रुपमा लामो समयदेखि मनाउँदै आएका छन् ।  १५ वर्षअघि नेपाल सरकारले यस दिनलाई औपचारिक रुपमा धान दिवस घोषणा गरी मनाउन थालेपछि त यस दिनले थप चर्चा-परिचर्चा पाउने गरेको छ ।

नेपालको मुख्य खाद्य वाली धान नेपालको इतिहास, यहाँको सभ्यता र संस्कृतिसँग गाँसिनुका साथै जीवनयापनको अभिन्न अंग रहेकाले हुनपर्छअसार १५ वा धान दिवस एक उत्सवका रुपमा रहेको छ ।

धानसँग सम्बन्धित विविध विषयलाई उजागर गर्नुका साथै यसको महत्वलाई दर्शाउन तथा सबैकाे ध्यान  किसानतर्फ आकर्षित गर्न सक्नुपर्छ भन्ने अभिप्रायले हुनुपर्छ नेपाललगायत एसियाका विभिन्न देशमा धान बचाऔं अभियान सशक्त रुपमा अगाडि बढ्दैछ ।

असार १५ वर्षाको सुरुवात्, मुख्य वाली धानको रोपाइँका साथै हाम्रो संस्कृति र सभ्यतासँग गाँसिएको महत्वपूर्ण दिन हो । यस दिनदेखि किसानहरु वर्षाको सुरुवात् भएको, आफ्ना कामको चाँपका दिन आएका, अनि समाजको प्रतिष्ठासँग जोडिएको सबैभन्दा मिठोमानीले खाद्यान्न धानको रोपाइँमा लाग्छन् । त्यही रोपाइँमा लाग्दाको खुशी र आनन्द अभिव्यक्त गर्ने एक सांकेतिक र सांस्कृतिक पर्व असार पन्ध्र बनेको छ ।

प्रमेश पोखरेल

अहिले कृषि छाडेर जहाँ भए पनि हामीमध्ये धेरैको मानसपटमा वालापन वा युवा अवस्थाका मीठा सम्झनाहरु नविर्सने गरी रहेका छन् । त्यो दिन दहि र चिउरा नखाएको, हिलोमा नखेलेको या रोपाई गीत नगाएको हामीमध्ये कमै हुनुपर्छ । त्यसैले त कृषकहरुको बाहुल्यता भएको नेपालमा अझै पनि असार १५ को रौनकता र चर्चा किसानमा मात्र सीमीत नभई सम्पूर्ण नेपालीमा छाउने गरेको छ ।

तर, समय परिवर्तन भएको छ । त्यो रौनक, आनन्द र महिमा कम हुँदै छ । खेतिसँग गाँसिएको जनसंख्या घट्दो छ । खेति किसानीमा रमाउने र रोपाइगर्दैको बेला वाली भित्राउने समय सम्झदै रमाउने माहोल पनि कम भएको छ । धानको महत्व र भातलाई प्रतिष्ठा मान्ने प्रचलन पनि हट्दै छ । अझ असारे भाका, हिलो खेल्न र दहि चिउरा खान रमाउने प्रचलन पनि कम हुँदै छ ।

जलवायु परिवर्तनका कारण हाम्रो वर्षा असार १५ कै आसपारमा सुरु हुनुभन्दा पनि केहि अघि वा पछि सरेको छ । महत्वपूर्ण रहेको असार १५को दिनले पनि धेरै उकाली र ओराली बेहोर्दै छ । अझ हाम्रो मुख्य खाद्य वाली धानखेतिसँग जोडिएका चुनौतिहरुको त पहाड नै बनेको छ ।

अहिले पनि असार १५ को चर्चा गरिरहँदा विभिन्न जिल्लामा भइरहेको मल, विउ तथा सिंचाइको अभावका बारे पनि ध्यान जान सकेको छैन ।

यस्तो छ धानको इतिहास

धानको उत्पति र खेतिको पहिलो अभ्यासको वास्तविक समयबारे एकिन नभए पनि एशियामै मानव सभ्यता र खेतिपातिको विकासक्रम धान खेतिसँग जोडिएको छ ।

धान खेतिको प्रारम्भ लगभग ६ हजार बर्षअघि एशियाको हिन्दकुश हिमालयको फेदमा भएको मानिन्छ । धान खेती एशियामा खेती प्रणालीसँगै भित्रेको दिगो बाली हो । त्यसैले एशियाली सभ्यता धानको खेतिको सुरुवात्सँगै अगाडि बढेको पाइन्छ । एशियाको निधिका रुपमा रहेको धानको नेपाल र भारतमा आर्यन सभ्यताको विकास भएकै समयमा खेति गरिएको इतिहास पाइन्छ । यसका साथै पूर्वि एशियामा पनि धान आजभन्दा करीव ३ हजार बर्षअघि नै खेति गरिएको इतिहास छ ।

विस्तारै मध्य एशिया र यूरोपमा फैलिएको यो वाली युरोपमा लगभक २ हजार बर्षअघि र अमेरिकामा ३ सय बर्षअघि मात्रै सुरु भएको मानिन्छ ।

हामी आज असार पन्ध्र मनाइरहदा मुख्य तया तीन विषय हाम्रो सामु प्रमुख रहेका छन् । एक नेपालको सन्दर्भमा असार पन्ध्रको महिमा र यस विशेष दिनको महत्व । दोस्रो किसान अधिकार र यस दिनले उठाएका किसानका सवालहरु । तथा तेस्रो हाम्रो सभ्यता र संस्कृतिको रुपमा रहेको निधि मुख्य खाद्यवाली धान ।

अझ असार १५ अहिले पर्यटकीय पर्वको रुपमा समेत विकसित हुँदै छ । हिलोमा रेसलिङ खेलेका, स्कुल र कलेजका विद्यार्थीले हिलो खेलेका तथा विदेशी पर्याटकहरु समेत यस दिनमा धान रोपाइमा सरिक भएका र हिलो खेलेका तस्वीरले हाम्रो असार १५ रंगीने गरेको छ । यो खुशीकै कुरा भए पनि हामीले र मुख्य गरी किसानले मनाउने असार पन्ध्रको उदेश्य त्यतिमात्र होइन । हामी त्यसैमा रमेमा र गहनरुपमा नसोचे पछिल्ला केही वर्षमा देखिएझै असार १५मा अझ विकृति र विसंगति भित्रने, यो उल्लास र संघर्षको दिन भन्दा पनि एक काण्डको दिन बन्ने र हाम्रो बहश कृषि क्षेत्र, किसान, धान संस्कृतिबाट विमुख हुनेमा कुनै शंका छैन ।

त्यसैले आजका दिनमा हामीले कसरी नेपालको संस्कृति, खेतिपाती र धानको महिमासँग जोडिएको छ भन्नेबारे विष्लेषण गर्ने तथा आजको आवश्यकता, प्रतिकुलता र अवसरकाबारे छलफल र बहश चलाउन आवश्यक छ । असार १५ ले हामीलाई हाम्रो परिवेश र यहाँको एतिहासको बारेमा बताउँछ ।

त्यसैगरी यस दिनलाई किसान अधिकार दिवशको रुपमा पनि मनाइरहदा के हाम्रो देशका बहुसंख्यक सानाकिसानका अधिकार प्राप्त भएका छन् या छैनन् यसतर्फ पनि ध्यानाकर्षण गर्न जरुरी छ । किसान अधिकार र खाद्य अधिकार वीना आधारभुत मानव अधिकार , आर्थिक तथा सामाजिक सांस्कृतिक अधिकार, महिला अधिकार तथा ग्रामीण जनसमुदायको अधिकार संरक्षण नहुने भएकोले यस दिनलाई मनाइरहदा किसानको अधिकार प्राप्त गर्ने संघर्षको रुपमा समेत यसलाई लिन आवश्यक छ ।

खाद्य उत्पादकहरु, साना किसानहरु, भूमिहीन, ग्रामीण कामदारहरु, चरुवाहरु, पशुचारकहरु र मछुवाराहरु तथा ग्रामीण भेगहरुमा बस्ने मानिसहरुको मानवभैmँ सम्मानित जीवन छैनन्, अपहेलित छन्, सम्मान नगरिएका र मूलधार राजनैतिक आर्थिक प्रक्रियाहरुबाट बहिस्कृत छन् भन्ने विरोधाभाषलाई हृदयंगम गर्दै नेपालमा पनि छिट्टै किसान अधिकारको कानुन बनाएर तिनका अधिकार सुनिश्चित गर्ने तर्फ हाम्रो पाइला अगाडि बढ्नुपर्छ ।

नेपालमा विभिन्न चाडपर्व, रितिरिवाज, संस्कार तथा सामाजिक—सांस्कृतिक जिवनका विविध पक्षहरु प्रत्यक्ष गासिएको खाद्यबालीहरु मध्ये सवैभन्दा महत्वपूर्ण खाद्य बाली धानको संरक्षण गर्नु, बीउका विभिन्न प्रजातिहरुको विकासगर्नु र आफ्ना मान्यता अनुकुलको वातावरणमा खेती गर्नु आजको अर्को महत्वपूर्ण कार्यभार हो । असार १५ मनाइरहँदा यी कुरामा ध्यान जान जरुरी छ ।

धान एउटा यस्तो अचम्मको वनस्पति हो जुन पानीको अत्यन्त अभाव हुने मरुभूमिदेखि पानीले डुवेका सिमस्यार र समुन्द्र सतहदेखि ३ हजार मिटर उचाइको हिमालयको काखसम्म यसको खेति गरिन्छ । धान नेपाल र दक्षिण एशिया मात्र नभई पुरै एशिया महादेशको प्रमुख खाद्यवाली हो ।

विश्वको करीव ७ अरब जनसंख्या मध्ये धानलाई आफ्नो मुख्य आहारका रुपमा प्रयोग गर्नेको संख्या ३ अरव बढी छ । विश्वभरिको खेतीयोग्य जमीनमध्ये करीब १४ करोड ६० लाख हेक्टर भूमिमा धान खेती गरिन्छ । जसमध्ये १० प्रतिशत जमिन अत्यन्त उर्वर रहेको छ । धान सम्वन्धी अध्ययनका अनुसार संसारभरमा गत बर्ष करीव ५३ करोड ५० लाख टन धान वार्षिक रुपमा उत्पादन भएको तथ्यांक प्रस्तुत गरिएको छ । संसारको कूल धान उत्पादनको ९१ प्रतिशत हिस्सा एशियामा मात्र उत्पादन हुने गर्छ ।

यसलाई अझै बढी विश्लेषण गरेर हेर्ने हो भने यस मध्येको ५५ प्रतिशत धानको उत्पादन चीन र भारतका किसानहरुले मात्र गर्दछन् । एशिया बाहेक क्युवा, अमेरिका, अफ्रिका र यूरोपका विभिन्न देशमा पनि धान खेति गरिन्छ । यो एशियाको मुख्य बाली हो ।

एशिया धानको भण्डार हो । भारत, थाइल्याण्ड र भियतनाम प्रमुख निर्यातकर्ता हुन् भने चीन, नाइजेरिया, मेक्सिको, हाइटि आयात गर्ने राष्ट्र हुन् । एशिया बाहिर जम्मा उत्पादनको ९ प्रतिशत मात्र उत्पादन गरिन्छ । अफ्रिकाका म्याडागास्कर तथा सहारा आसपासको क्षेत्रमा पनि मुख्य खाद्य वाली धान हो ।

उत्पादकत्वका हिसावले प्रतिहेक्टर जमिन ३.७७ टन उत्पादन गरिन्छ भने सन् २०१४ को तथ्याङ्कमा त्यस बर्षका २ धान भित्राउने समयमा गरी जम्मा ४७ करोड मेट्रिक टन धान उत्पादन भएको थियो ।

उत्पादनको हिसावमा धान मकैपछि विश्वको धेरै उत्पादन गरिने वाली मानीन्छ तर खाद्यान्नमा पहिलो । चीनमा मात्र २० करोड मेट्रिक टन धान उत्पादन हुन्छ । तर खेतिका हिसावले भारतको बढी भूमिमा धान खेति गरिन्छ । औसतमा विश्वका मानिसहरु ५७.५ केजी धान उपभोग गर्दछन् ।

धानको उत्पति एशियाको हिन्दकुश हिमालय तथा चीनक नदी तटीय भागमा भएको र एशियामा खेती प्रणालीसँगै धान खेती भित्रेकोले एशियाली सभ्यता धान खेतिको सभ्यता पनि भनिन्छ । यसैका धान एशियामा स्थायी बसोबास, लिपी, संख्या, प्रथम शहरहरु तथा मानव समाजको नयाँ युगको प्रारम्भ भयो ।

हिन्दु धर्मको विकासक्रमका साथै नेपालको संस्कृति र सभ्यतामा धानको अत्यन्त महत्व छ । हाम्रो लागि धान केवल खाना वा उपभोग्य बस्तु मात्र नभएर यो संस्कृति, पहिचान र इतिहाससँग गाँसिएको विषय हो । वेद लेखिनुपूर्व धान खेति गरिएको वेदमा उल्लेख छ । साली, ब्रिहि, सुका, सिमी र चुद्रा धान्य गरी पाँच जातका धानबारे रिगवेदमा उल्लेख छ ।

एशियाली जनताको प्रतिष्ठा कायम गर्न, धान हाम्रो जीवन संग गाँसिएकोले, खाद्य संप्रभुता कायम गर्न, जन्मँदा, मृत्युमा मात्र नभई हरेक चाडपर्व र परम्परामा धानको आवश्यकता पर्छ । त्यसैले धान खाद्य वालीको रुपमा पोषणका लागि मात्र नभई यसको चौतर्फी महत्वका कारण धानको संरक्षण गर्न आवश्यक छ ।

नेपालमा ६ हजार बर्ष देखि खेति गरिएको धान केवल मानिसहरुको दैनिक उपभोग्य बस्तुको रुपमा मात्र नभएर जनताको जीवन एवं जीवीकोपार्जनको आधारका साथै पौराणिक तथा साँस्कृतिक महत्वसँग पनि सम्वन्धित रहेको छ ।

तसर्थ नेपाल लगायत एशियाकै किसानहरुले आफ्ना परम्परागत, पौराणिक तथा सांस्कृतिक महत्वको सम्बन्धसँग गाँसेर जीवनको अभिन्न हिस्साका रुपमा यसलाई अंगीकार गर्दै आइरहेका छन् ।

छैठी, न्वारान, पास्नी, छेवर, व्रतवन्ध, विवाह जस्ता संस्कारमा धान र चामलको अत्याधिक प्रयोग मात्र हुने होइन, धानविना पूरा नै हुँदैनन् । विभिन्न चाडपर्व, पूजा आजामा धान अत्यावश्यक रहन्छ । हाम्रो संस्कृति अनुसार मृत्यु र मृत्यु पश्चात् पनि धानको महत्व छ । भुत मन्छन पनि धान चाहिन्छ ।

जीवनको सुरुवातसँगै जन्म संस्कारमा यो आवश्यक पर्छ । टीका, चन्दन यसबिना अपूर्ण छ । पास्नी वा भात खुवाउने परम्पराले यहाँका मानिसको पहिलो आहार भात मान्दछ । न्वारन गर्न, बर्तबन्ध, विवाह लगायतका सवै संस्कार धान, चामल र भातसँग गासिएका छन् । धान खेति प्रतिष्ठा, सम्पति र शक्ति सँग जोडिएको छ । नेपालमा लामो समयदेखि धानखेत हुनेहरु माथिल्लो वर्गमा रहेका छन् ।

भात खानु ढिंडो र आटो खानुभन्दा प्रतिष्ठाको कुरा रहेको छ । हाम्रा चाडपर्व धान विना अधुरा छन् । दशैको टिका र जमराको साथै अतिथि सत्कारको भोजन धान विना सम्भव छैन । रोदी, रोपाइ जात्रा, न्वागी/न्वाई, असार पन्ध्र धान—चामल विशेष पर्व नै हुन् । यी त यसको महिमा र हाम्रो जीवनसँग गासिएका केही उदाहरण मात्र हुन् ।

नेपालको कुल जमिन मध्ये ३५ प्रतिशतमा धान खेति गरिन्छ । देशको कुल ग्राहस्थ उत्पादनमा धानकोे योगदान सवैभन्दा बढी छ । तर दुभाग्य हामी औसतमा लगभक ३० अरबको धान वा चामल प्रतिबर्ष आयात गरिरहेका छौं । नार्क र त्यहाँका धान विशेषज्ञका अनुसार नेपालमा धान खेतिका प्रमुख समस्याहरुमा विशेषज्ञको अभाव, तराइको भुराजनीति, मुल्य, भण्डारण र प्रशोधनमा सम्सया, आकासेपानीमा भरपर्नुपर्ने बाध्यता, विउ, मल र अन्य आपूर्तिको अभाव, युवाको विदेश पलायन, जग्गाको खण्डीकरण, परम्परागत खेतिको अभ्यास, अनुसन्धानको कमी, अनुसन्धान र विकासमा तादम्यता नहुनु, जलवायु परिवर्तन आदि पर्दछन् ।

नेपालमा मुख्य गरी धान असारश्रावण महिनामा रोपिए पनि ठाउँअनुसार नेपालको धान खेतिलाई हामी चैते धान, बर्षे धान (असार श्रावणमा लगाइने), भदैया धान, पछिल्लो धान वा खरुहान, वोरो धान र हिमाली धान गरी भन्न सक्दछौं । हिमाली धान फाल्गुणतिर रोपिन्छ भने वोरो धान मंसिर पुषमा रोपिन्छ ।

नेपालमा लगभग २ हजार जातका धान पाइने गरेको तथ्याङ्क नार्कले बताउँछ । तर, तीमध्ये सयौं प्रजाति हराइसकेका छन् र अन्य लोप हुने क्रममा छन् । नार्कको अनुवंश बचाउने ठाउँ जीन बैंकमा २०० जति जातका बंश सरक्षण गरिएको छ भने केही अन्तरराष्ट्रिय धान अनुसन्धान संस्था इरीको बैंकमा पनि रहेका छन् । तर, यी सबै धानका जात हाम्रा हुन् भनी हामीले आफ्नो पेटेन्ट अधिकार प्राप्त गर्न सकेका छैनौं । नेपालमा प्रसिद्ध धानहरुमा पोखरेली जेठो बुढो, सुनौलो सुगन्ध, लल्का वास्मती, कालो नीमग, जुम्ली मार्सी, जरायल वास्मति, घैया, अनदी आदि हुन् ।

स्वादमा पोखरेली जेठोबुढो, सुनौलो सुगन्ध, लल्का वास्मति, कालो गुडो, कालोनमक, जरायल वास्मती, चनानचुर, तिल्की, पाम्ली हाम्रा अमुल्य स्वाद र बास्नायुक्त धान हुन् । अनदी र पात्ले धानको प्रयोग औषधीको रुपमा प्रसिद्ध छन् । अनदी र थापाचिनीया धान बाढीले नबगाउने तथा बढी पानीले नबिग्रार्ने र सिमस्याहारमा पनि हुने मानिन्छन् । जुम्ली मार्सी विश्वको सबैभन्दा उच्च ठाउँमा गरिने धान खेति हो । मन्सरा, अन्गा, मुट्मुर, गुर्दी जस्ता धान कम पानीको टारी खेतमा पनि लगाउन सकिन्छ ।

नालतुम्मे जस्ता धानका जातलाई घाम कम भएको छायाँ पर्ने ठाउँ तप्केनीमा पनि रोप्न सकिन्छ । जुम्ली मार्सी, छोमरोङ्ग, हिमाली धान आदि हिमाली क्षेत्रमा हुने जातहरु हुन् । धानका जातहरु मायाप्रेमका समेत प्रतिक बनेका छन् । गमाढी, लैलामजनु यस्ता प्रतिक हुन् । गमाढी एक जंगली धानको जात हो, जसलाई धार्मिक रुपमा पवित्र मानीन्छ, जिटिया र ऋषि पञ्चमी लगायतका कार्यमा प्रयोग गरिन्छ ।

धान खेती परम्परागतवाट आधुनिक कृषि प्रणालीमा रुपान्तरण हुँदा नेपालमा जस्तै एशियाभर विभिन्न उत्पादनशील धानका प्रजातिको लोप हुँदै गैरहेका छन् । आधुनिक निगमिय खेतिले परम्परागत खेती प्रणाली र अनुवंशीय विविधताको द्रुत गतीमा क्षति गर्दै छ । यसले धान उत्पादन सँग जोडिएको सामाजिक सांस्कृतिक प्रणालीलाई कमजोर बनाउनुका साथै समुदायकोे अस्तित्व र धान खेतीको मौलिकता नाश गर्दैछ । जनसंख्या बृद्धि र धानको उत्पादनको बृद्धिलाई तुलना गर्ने हो भने यसले केहि समयपछि ठूलो अभाव सृजना गर्ने देखिन्छ । जहाँ धान मुख्य वालीको रुपमा छ त्यहाँकै जनसंख्या बृद्धि उच्च छ ।

राष्ट्रसंघका अनुसार अहिले विश्वमा भोकमरी र कुपोषणबाट ग्रसित देखिएका १ अरब जनतामध्ये ६० प्रतिशत भन्दा वढी जनता एशिया र प्रशान्त क्षेत्रीय देशमा रहेका छन् । अझ विश्वको ५० प्रतिशत भन्दा वढी कुपोसित वालवालिकाहरु दक्षिण एशियाको ग्रामिण क्षेत्रमा बसोबास गर्छन्् । त्यसैले पनि धान खेतिका साथ अनेकन सवालहरु जोडिएका छन् ।

नेपाली संस्कृतिमा भातको महत्व बढी छ । यसलाई विविधिकरण र सन्तुलितरुपमा उपभोग गर्न आवश्यक छ । कर्णालीमा भोकमरी र खाद्य संकट नभई सेतो चामल संकट भएको कुरा समय समयमा सार्वजनिक हुन्छ ।

विहान बेलुका भात खाने वानी शहरीया मध्यम वर्गलाई मधुमेह लगायतका रोगका कारण र ग्रामीण किसानलाई शक्ति र षोषणका कारण उपयुक्त देखिँदैन । नेपालमा यो वर्ष आयात भएको लगभक २९ अरवको मसिनो चामलले पनि भात संस्कृतिमा सुधार गरी खाद्यान्नमा विविधिकरण र पोषण सन्तुलनको अत्यावश्यकतालाई दर्शाउछ ।

अन्त्यमा, नेपाल मात्र नभई एशियामै भान दिवश, असार १५ तथा नीधिको रुपमा रहेको धानको महत्व अपार छ । तर असार १५ मनाइरहदा पनि यदि हामीले गम्भिर भएर यी विषयमा नसोची मात्र औपचारिकतामा रमायौं भने यसले हामीलाई गलत दिशामा लग्ने छ । धान दिवशले धान बचाऔं अभियानलाई बलियो बनाउनुका साथै किसान अधिकार सुनिश्चित गर्ने तथा मल, विउ लगायतका किसानका तात्कालिक समस्या समाधान गर्दै खाद्य सम्प्रभुता प्राप्त गर्ने र कृषिको रुपान्तरण गर्ने लगायतका पक्षमा ध्यान आकृष्ट गर्न सफल रहोस् । असार १५, धान दिवश र किसान अधिकार दिवशको हार्दिक शुभकामना । जय धान ! जय किसान !

(‘कृषिको समाजवादी रुपान्तरण’ पुस्तकका लेखक पोखरेल किसान अधिकारकर्मी हुन् । )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment