Comments Add Comment

फिल्म फ्लप भएर के भो ? कतारमा गुन्द्रुक बिक्न थाल्यो !

आज टिपेको साग आजै कतार, खाडीसम्म पुग्यो नेपालको तरकारी

१५ असार, काठमाडौं । कल्याण घिमिरेले नेपाली सिनेमा क्षेत्रमा दुई दशकभन्दा बढी गुजारे । केही फिल्ममा ‘हिरो’ पनि भए । उनले बनाएको पछिल्लो फिल्म हो, महसुस । करिब ८४ लाख बजेटमा बनाएको फिल्म फ्लप भयो ।

बलिउड फिल्म ‘चेन्नई एक्सप्रेस’सँग जुध्नु र वितरक तथा हलवालाको असहयोगी भूमिका कारण आफ्नो फिल्म फ्लप भएको उनको निष्कर्ष छ ।

फिल्म डुबेपछि कल्याणले खाडी क्षेत्रमा चलचित्र वितरकका रुपमा काम गरे, त्यसबाट पनि पार लागेन ।

किसानले गोलभेडा सडकमा फ्याँकेको, बन्दामा डोजर लगाएको समाचार कल्याणले पढेका थिए । पछिल्लो त्यस्तै समाचार पढ्दै गर्दा उनलाई फिल्म प्रदर्शनका लागि कतार जाँदा त्यहाँको मलहरुमा देखिने अमेरिकी, भारतीय तथा बेल्जियमका तरकारीहरुको सम्झना आयो ।

साथीभाइसँग नेपालबाट हरियो तरकारी कतार ल्याएर बेच्ने योजना सुनाए तर, धेरैले उनलाई ‘पागल’ भने । नेपालबाट कतारमा त्यो पनि हरियो तरकारी कसरी पुर्‍याउने ? कसले किन्ने ? भन्दै साथीहरुले उनलाई यता नलाग्न सल्लाह दिए । तर, कल्याणले अठोट लिइसकेका थिए ।

त्यसैले फिल्मी यात्रालाई बिट मारेर तरकारी खेतीतर्फ लागे र, नयाँ प्रयास पनि गरेका छन् ।

ऊँटजस्तै बनेर कतार चाहारे

साथीहरुको प्रतिक्रियाबाट हतोत्साही भएनन् । कतारका गल्ली–गल्ली र मलहरु चहारे । कतारमा नेपालीसहित बंगलादेशी, पाकिस्तानी, श्रीलंकाली, भारतीयहरु प्रशस्त छन् ।

‘उनीहरुको खान्की नेपालीहरुकै जस्तो हुन्छ । हरियो तरकारी उनीहरु पनि रुचाउँछन् । त्यसैले तरकारी ल्याउन सके बिक्री हुन्छ भन्ने थियो,’ कल्याणले भने ।

तरकारी बिक्छ भन्ने त भयो । तर कतारमै उत्पादन गर्न सकिन्छ कि भनेर केही फर्महरु पनि चहारे । तर, त्यो गर्मीमा यो सम्भव देखिएन । केही होलसेल पसल तथा मण्डीलाई ‘म नेपालबाट तरकारी ल्याउँछु, बेच्ने हो ?’ भनेर प्रस्ताव गरे ।

‘उनीहरुले मेरो कुरोलाई हाँसीमजाक ठाने । नेपालबाट यहाँ कुनै पनि हालतमा तरकारी ल्याउन सकिन्न भन्ने उनीहरुको बुझाइ थियो,’ कल्याणले सुनाए ।

तरकारी कुहियो, मुख छोपेर हिँडे

नेपाली स्वादको तरकारीको भविश्य छ भन्ने निचोडका साथ कतार लैजान सक्ने तरकारीहरुको लिस्ट बनाए । यही समय ‘अलसमन ग्लोबल’ नामको कम्पनी कतारमा स्थापना गरे । त्यो कम्पनीले नेपालका विभिन्न एजेन्सीहरुसँग समन्वय गरेर तरकारी लैजाने योजना थियो ।

नेपालबाट यस्तो तरकारी ल्याउँछु भनेर सबै पसलहरुमा एउटा लिस्ट पनि बाँडे । तर, नेपालबाट कतारमा ताजा तरकारी पुर्‍याउन सहज थिएन ।

सन् २०१९ को फेब्रुअरीमा नेपालबाट पहिलो पटक कतारका लागि तरकारी पठाइयो । घिउसिमी, तनेबोडी लगायतका तरकारी कतार एयरको राति ९ बजेको फ्लाइटमा नेपालबाट उडेको थियो । तर, पहिलोपटक उडेको तरकारी भन्सारमा ढिलाइका कारण धेरैजसो बिग्रिन पुग्यो ।

उनले सबै स्टोरमा तरकारी पुर्‍याउन सकेनन् । पसलेहरुले ‘भाइ तरकारी खोई ?’ भन्दै सोध्न थाले ।

उनी लाजले उनीहरुको पसल नजिक पुग्दा मुख लुकाएर हिँड्न थाले । ‘कतिपटक त उनीहरुको पसलको बाटो नै हिँडिनँ,’ कल्याण सम्झिन्छन् ।

त्यसपछि भने समस्या नआएको कल्याणले बताए । अहिले हप्ताको दुईपटक काठमाडौंबाट झण्डै चार हजार किलो तरकारी तथा फलफुल कतारमा ओसार्छन् ।

उनले पछिल्लो समय नेपालमा ‘अलसमन इन्टरनेसनल’को शाखा कम्पनी स्थापना गरेका छन् । अहिले कतारको अलसमन ग्लोबलले नेपालको अलसमन इन्टरनेसनललाई कतारमा आवश्यक पर्ने तरकारी तथा फलफूल अर्डर गर्छ । अर्डर अनुसारको सामान पठाइन्छ ।

आज टिपेको साग आजै कतार

घिमिरेका अनुसार आज टिपेको साग आजै कतार पुर्‍याउने गरी कम्पनीले काम थालेको छ । अहिलेसम्म गरेको प्रयासमा साग, न्यूरो र फर्सी पुर्‍याउन कठिन भएको कल्याणले बताए । कम्पनीको सबै तरकारीहरु आवश्यकताअनुसार कागज र प्लास्टिकमा प्याक गरेर बाकसमा राखिन्छ ।

हावा छिर्ने खालका बाकसहरु छन् । कतार पुगेपछि तरकारी बिग्रने समस्या हुँदैन, किनकी त्यहाँ कम्पनीको आफ्नै कोल्ड स्टोर छ । तर नेपालमा आफ्नै कोल्डस्टोर नभएका कारण दुःख छ । सरकारसँग पनि विमानस्थलमा कोल्डस्टोर छैन । त्यसैले प्याक भएको तरकारी तथा फलफुल रुखको छहारीमा राखिन्छ ।

कतारस्थित अल सफारीलगायतका मलमा नेपालबाट लगिएका तरकारी तथा फलफुलहरु बेचिन्छन् । काँचो आँप, करेला, घिउसिमी, आलुबखडा, एलोभेराको पात, सेतो मुला, न्यूरो, हरियो भटमास, गुन्द्रुक, हरियो खुर्सानी र काँक्रोलगायतका एक दर्जन तरकारी त्यहाँ पाइन्छ । तरकारी फलफुलकोे नाम कार्डमै ‘नेपालबाट आएको’ उल्लेख हुन्छ ।

अल सफारी मलमा नेपालबाट आएको गुन्द्रुकको प्रतिकिलो औसत मूल्य ३५ कतारी रियल तोकिएको छ । गत साता हरियो खुर्सानीको प्रतिकिलो मूल्य कतारी रियाल ११, बएरे खुर्सानी प्रतिकिलो मूल्य १७.५०, न्यूरो १५, काँचो आँप १२, एलोभेराको पात ३५, करेला १०, घिउसिमी १२, सेतो मुला १२, आलुपखेडा १४.५०, हरियो खुर्सानी ११ र काँक्रो १० तोकिएको थियो ।

स्टोरमा भारत, बेल्जियम अमेरिका लगायत देशबाट आएका हरिया तरकारी तथा फलफूल पनि पाइन्छ । बुल्गेरिया तथा अर्जेन्टिनाबाट धनियाँ आयात गर्ने नेपालले कतारमा हरियो तरकारी र फलफूल बेचिरहेको छ ।

यसरी गरिन्छ संकलन

कालीमाटी तरकारी बजार तथा काठमाडौं छेउछाउमा किसानले उत्पादन गरेका तरकारी हरेक बिहीबारबाट संकलन सुरु गरिन्छ । तरकारी संकलनका लागि केही व्यक्ति खटिएका हुन्छन् । हरियो साग, गुन्द्रुकदेखि करेला खुर्सानी र मुला लगायतका १९ सय किलो तरकारी र फलफूल बुधबार बिहानसम्म सातदोबाटोको एक घरमा जम्मा भई सक्छन् । तत्कालै ओइलाउने खालका तरकारी राख्नका लागि कोल्ड स्टोर नभएका कारण गाडीको एसी खोलेर त्यस्ता तरकारीहरु राख्छन् ।

बुधबार बिहानैदेखि तरकारी तथा फलफुल प्याकिङको काम सुरु हुन्छ । अपरान्हको ४ बजेतिर प्याकिङ भएका तरकारीहरु विमानस्थलका लागि पठाइन्छ । कुनै व्यवधान नआए विमान ९ बजे उड्छ । काठमाडौंबाट कतार पुग्न विमानलाई करिब ५ घण्टा लाग्छ । कतारको विमानस्थलबाट भन्सार तथा क्वारेन्टाइन पास हुन र त्यहाँबाट अल सफारी मल पुग्न अर्को ५ घण्टा लाग्छ ।

यसरी १५ घन्टामा सातदोबाटोको स्टोरबाट कतारको अल सफारी मलमा तरकारी र फलफुल पुग्छ । बुधबार ४ बजे हिँडेको तरकारी कतारको मलमा बिहीबार डिस्प्ले हुन्छ ।

सरकारसँग अपेक्षा

बंगलादेशबाट कतार आइपुगेको तरकारी प्रतिकिलो ४ रियलमा बिक्री हुन्छन् तर, नेपालबाट कतार लैजाने तरकारीको प्रतिकिलो कार्गोको भाडा नै ४ रियल पर्छ ।

कार्गोको चर्को भाडाका कारण यहाँबाट पठाइएका तरकारी मूल्यमा प्रतिस्पर्धी हुन सकेका छैनन् । अहिले पनि कल्याणले थालेको कामलाई साथीभाइ र परिवारले ‘पागलपन’ कै रुपमा हेरेका छन् । तर उनले भने यसमा राम्रो भविष्य देखेका छन् । सरकारसँग पनि उनको अपेक्षा छ । कल्याण भन्छन्, ‘नेपालबाट लैजाने तरकारी विमानस्थलमा सुक्ने स्थिति नआओस् ।’

सरकारले दुईवटा कुरा लागू गर्न सक्ने उनी बताउँछन् । पहिलो, प्याकिङ भएका तरकारी प्राथमिकताका साथ कम समयमै विमान चढोस् । दोस्रो नेपाल एयरलाइन्सले बोकेको तरकारी कतार विमानस्थलमा पहिलो प्राथमिकताका साथ ग्राउण्ड ह्याण्डलिङको काम होस् ।

बढ्दो आकर्षण, परीक्षणमा अब्बल

एकपटक कल्याणले थोरै परिमाणमा मुला पठाएका थिए । बंगलादेशीहरुलाई मुला निकै मन पर्नेरहेछ । उनीहरुले स्टोरमा रहेको मुला किन्न तँछाड मछाड गरेको उनी आफैंले देखे । त्यस्तै, यहाँबाट लगेको गाजर टोक्दै हिँडेको देखेर पनि उनलाई हौसला मिल्यो । महंगो भए पनि नेपालको स्वाद उनीहरुले बेस्सरी मन पराए ।

कतारका सम्पन्न मानिसहरुले नेपालको गुन्द्रुकमा निकै रुची देखाए । बैदेशिक रोजगारीमा गएका नेपालीहरुले आफ्नो घरको स्वाद पाएको भन्दै तरकारी स्टोरमा झुम्मिन थाले । कल्याण भन्छन्, ‘मैले काम सुरु गरेको धेरै भएको छैन । भविश्यमा कति कमाउँला, यो व्यवसाय कहाँसम्म जाला अहिले भन्न सक्दिनँ । तर मैले गरेको सानो प्रयासलाई जेजति प्रोत्साहन मिलेको छ, त्यसले मेरो हौसला बढेको छ ।’

नेपाली तरकारी तथा फलफूल कतार र नेपालका दुवै क्वारेन्टाइनमा फेल नभएको उनले खुशीसाथ सुनाए । कतारमा भएको परिक्षणमा नेपाली तरकारी तथा फलफुल भारत र बंगलादेशबाट आउने भन्दा २० प्रतिशत कम विषादीयुक्त भएको पाइएको थियो । कतारका नेपाली रेष्टुरेन्ट, नज्माका बजार, सफारी मल र ग्रान्डमल गरेर करिब ७ ठाउँमा अहिले सामान गइरहेका उनले जानकारी दिए । ‘खासमा हामीले माग अनुसार आपूर्ति नै गर्न सकेका छैनौं,’ उनी भन्छन् ।

आँप नपठाउन कतारका राजदूतको सुझाव

नेपालबाट कतार पठाउने तरकारीको विवरण घिमिरेले नेपालका लागि कतारी राजदूत युसुफ हेललाई पनि पठाउँछन् । केही साता पहिले पठाएको तरकारी तथा फलफूलको लिस्टमा आँप पनि थियो । तर, राजदुत यूसूफले फोन गरेर घिमिरेलाई आँप कतार नपठाउन आग्रह गरे ।

‘नेपालको सबैभन्दा राम्रो आँप सिरहामा पाइन्छ, सिरहाको आँप काठमाडौं आइसकेको छैन । भारतबाट आउने आँप नपठाऊ, गुडविल बिग्रन्छ,’ राजदूत हेलको भनाइ उद्वृत गर्दै घिमिरेले भने । आफ्ना लागि राजदूतले यतिसम्म सोचिदिनु निकै ठूलो कुरा भएको उनी बताउँछन् ।

कतारका लागि तत्कालीन नेपाली राजदूत रमेशप्रसाद कोइरालाले पनि उनलाई सहयोग गरेका छन् ।

राजदूत कोइरालाले नेपाली तरकारी बिक्रीका लागि सहज बनाउन मलहरुमा फोन नै गरेर भनिदिएको पनि घिमिरेलाई सम्झनामा छ । नेपालका लागि कतारी राजदूत यूसुफ हेल पनि सबैखाले परामर्श दिइरहेका छन् ।

कृषि सचिव डा. युवकध्वज जीसीले पनि आवश्यक सहयोगका लागि मन्त्रालय सदैव तयार रहेको घिमिरेलाई बताएका छन् ।

तर, चुनौती ठूलो

नेपालमा प्रशस्त तरकारी छन्, त्यसैले यहाँबाट कतारमा पठाउन कुनै समस्या छैन भन्ने लागेको थियो उनलाई । तर, लगानी बमोजिमको प्रतिफल पाउन कठिन भइरहेको छ ।

उनी भन्छन्, ‘अहिलेसम्म हामीले ६ करोड लगानी गरिसकेका छौं । किसानसँग १५ रुपैयाँमा किनेको तरकारी कालिमाटी आइपुग्दा ५० रुपैयाँ पर्नेरहेछ । कालिमाटीमा ५० मा किनेर कार्गो खर्च लगायत सबै गर्दा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न नसकिने अवस्था आयो ।’

उनी किसानसम्म नपुगेका पनि होयनन् तर बिचौलियालाई १५ रुपैयाँमा बेच्न राजी हुने किसानले उनलाई ३० रुपैयाँमा पनि दिन मानेनन् । कतारमा बेचिएका तरकारीको भुक्तानी मासिक रुपमा आउने भएकाले पनि उनलाई समस्या परेको छ ।

अर्को समस्या भनेको ढुवानी गर्ने जहाजको पनि हो । यात्रु संख्या हेरेर कतारले उताबाट नेपालका लागि विमान पठाउँछ । कहिलेकाहीँ सानो जहाज यात्रुका लगेजले नै भरिन्छ । यस्तो बेला विमानस्थल पुगेको तरकारी रोकिन्छन् । ‘हाम्रो नेपाल एयरलाइन्स नियमित तर खाली उड्ने भएका कारण बरु कार्गो मूल्यमा केही बिचार गरिदिए हुन्थ्यो,’ उनले भने ।

नाफा– घाटाको हिसाब

आँप नेपालमा प्रतिकिलो ८० रुपैयाँसम्म पर्छ । त्यसलाई पठाउँदा कतार एयर भए १३५ र नेपाल एयरलाइन्समा ९० रुपैयाँ प्रतिकिलो ढुवानी खर्च लाग्छ । बजारमा पुग्दासम्म आपको मुल्य १७० देखि २१५ सम्म पर्ने भयो ।

कतारमा नेपालबाट लगिएका प्रायः सबै तरकारी तथा फलफूल कम्तिमा ७ कतारी रियल प्रतिकिलोमा बिक्री गरिन्छ । यो भनेको नेपाली रुपैयाँ २१० हो । बीचमा कार्गो एजेन्टलाई पनि केही पैसा तिर्नुपर्छ । घिमिरेले भने, ‘सबै तरकारीमा नाफा हुँदैन । करिब ८.५० रियाल त यहाँबाट पठाउँदैमा पर्छ । तर, अहिले नेपाली स्वाद चखाउन भए पनि हामी कोसिस गरिरहेका छौं ।’

उनका अनुसार केही तरकारी र फलफुलमा हुने घाटा गुन्द्रुकले पूर्ति गरिरहेको छ । कतारको स्टोरले गुन्द्रुक प्रतिकिलो ३५ रियल अर्थात एक हजार ५० रुपैयाँमा बेचिरहेका छन् ।

सोच बदल्नु छ

संसारका धेरै ठाउँमा नेपाललाई श्रमिकको देश भनेर मात्र चिनिने गरेकोमा घिमिरेको चित्त दुख्छ । कतारमा पनि नेपालीलाई त्योभन्दा धेरै नसोच्ने गरिएको उनी बताउँछन् ।

कतारमा तरकारी बेच्न चाहन्छु भन्ने प्रस्ताव लिएर त्यहाँका मलका मालिकहरुलाई भेट्न जाँदा नेपाली भनेर भेट दिनै नचाहेको तितो अनुभव कल्याणसँग छ । कयौँ पटक वास्ता नगरेपछि भारतीय बनेर भेट्न गएको उनले बताए । ‘कुरै कुरामा उसलाई विश्वस्त दिलाएर नेपालबाट तरकारी ल्याउन सक्छु र नेपाली हुँ भनेर फर्किएँ,’ उनले भने ।

उनी थप्छन्, ‘म चाहन्छु, एक दिन मेरो देशको पहिचान बदलिने छ । कतार लगायतका खाडी मुलुकमा नेपालीप्रतिको सोच र उनीहरुको स्वादलाई म र म जस्तैहरुको पहलले बदल्नु छ ।’

आफैंले बनाएको फिल्म ‘श्रीमान’ मा कल्याणले नायक बनेर अभिनय गरेका थिए । त्यो फिल्म हिट भयो । त्यसबाट हौसिएर उनले ‘महसुस’ बनाएका उनी चिप्लिए । अब भने उनलाई जीवनमा फेरि यसरी चिप्लिनु छैन । भन्छन्, ‘हेरौं समयले कति उनलाई साथ दिनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment