Comments Add Comment

रामग्रामका समिर खानको ‘मृत्यु’ : दुर्घटना कि हत्या ?

परिवार भन्छ : योजनावद्ध हत्या हो, न्याय चाहियो

१७ असार, बुटवल । नवलपरासीको रामग्राम नगरपालिका–२, दुर्गाटोलको खान परिवारमा असार ७ गते बिहेको खुशियाली थियो । मुख्तर अहमद खानका माइला छोरा रियाजको बिहे थियो त्यस दिन ।

भाइको बिहेको खुशियालीमा पार्टी दिन आग्रह गर्दै दाजु समिरलाई साँझखप साथी सुरज हलुवाईले पाँच पटकसम्म फोन गरे । फोन रिसिभ नभएपछि साँझ ८ बजेतिर केदार वर्मा (सुनार) घरमै आए ।

समिरलाई आफ्नै मोटरसाइकल चढाएर परासीकै नौलो रेष्टुरेन्टमा पुर्‍याए । समिरका साथी सुरज हलुवाई र जगदिश राय आइपुगे । चारजना मिलेर खाजा खाए । चारैजना परासी बजारबाट दक्षिण बैरिहवाको अर्को खाजा घरमा पुगे, जहाँ उनीहरुले मदिरा समेत पिएको पाइएको छ ।

रातको करिब १० बजेतिर जगदिश राय एक्लै र तीनजना अर्को मोटरसाइकलमा बैरिहवा चोकबाट हिँडे । होटल संचालकका अनुसार समिर खानलाई बीचमा राखेर सुरजले मोटरसाइकल चलाएका थिए । करिव १५ मिनेटपछि मोटरसाइकल दुर्घटना भएको र समिर खान गम्भीर घाइते भई पृथ्वी चन्द्र अस्पताल परासी हुँदै युनिभर्सल मेडिकल कलेज भैरहवा लगिएको खबर आयो । समिरको त्यही राति ज्यान गयो ।

‘भाइको बिहेको खुशीयालीमा पार्टी खान जान्छौं भनेर छोरालाई लगेर गए, चार घण्टा पछि त अस्पताल बोलाएर लाश पो दिए’ ७ गतेको घटना सम्झिँदै समिरका बुबा मुख्तर खानले भने, ‘यो घटना दुर्घटना होइन, योजनावद्ध हत्या हो ।’

निधार र गर्धनमा चोट लाग्ने गरी रड र ढुंगाले हानेर घाइते बनाएको र त्यही कारण छोराको मृत्यु भएको उनको दाबी छ । ‘दुर्घटना भएको भए तीनै जना घाइते हुनुपर्ने, मृतकको शरीरका कपडा च्यातिनुपर्ने, अस्पताल पुर्‍याउँदा बाटोमा रगत देखिनुपर्ने हो तर, केही छैन’ उनले भने, ‘बरु बैरिहवा–पाल्ही नहर सडक खण्डका ठाउँठाउँमा रगतको टाटा, समिरको एउटा जुत्ता भेटिएका छन् ।’ घटना भएको दिन भारतीय नम्बर प्लेटको मोरटसाइकल चढेको भएपनि प्रहरीलाई अर्कै मोटरसाइकल हो भनेर बुझाएको पनि परिवारको दाबी छ ।

‘यो योजनावद्ध हत्या नै हो, दुई महिनादेखि केदार वर्माले समिरको पिछा गरिरहेको थियो’ सोयबले भने, ‘प्रहरीले कसैको प्रभावमा नपरी निष्पक्ष अनुसन्धान गरी पीडितलाई न्याय दिनुपर्छ ।’

एक वर्षअघि सुरज हलुवाईको भाइ नाता पर्ने व्यक्तिले समिरलाई मोटरसाइकलले ठक्कर दिएका थिए । दुर्घटनामा परी घाइते भउका उनको खुट्टाको तीनवटा औंला काट्नु परेको थियो । उपचारका क्रममा १२ लाख खर्च भए पनि उनीहरुले समिरलाई ६ लाख मात्र दिएका थिए । परासी अस्पतालमा पुग्दा गम्भीर अवस्थामा छोराले ‘बाबा आमालाई बोलाइदिनुस् म सन्चो भएपछि यिनीहरु (साथीहरु)लाई छाड्दैन’ भनेको र ‘दुर्घटना’अघि का क्रियाकलापले पनि घटना नियोजित देखिएको मुख्तर बताउँछन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख प्रहरी उपरीक्षक लालमणि आचार्यले प्रदेश प्रहरी मातहतको विज्ञ टोलीले घटनाको अनुसन्धान गरिरहेको बतँए । ‘हामीले पीडितको दाबी र हाम्रो आफ्नै अध्ययनका आधारमा अनुसन्धान गरिरहेका छौं’ उनले भने, ‘सत्य के हो छिट्टै बाहिर आउँछ ।’

प्रहरीले सुरज हलुवाईलाई पक्राउ गरेको छ । अन्य दुईजनालाई समेत पक्राउ गरी अनुसन्धान गर्न मृतकका परिवारले माग गरेका छन् । मृतक र उनका अन्य साथीहरु लागू पदार्थ प्रयोगकर्ता भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment