Comments Add Comment

विराटनगरको डिएपी गोदाम रित्तियो, किसान मर्कामा

किसान भन्छन्– कि सजिलै उपलब्ध गराऊ, कि बजारबाट किन्न देऊ

१८ असार, विराटनगर । विगतका वर्षजस्तै यो वर्ष पनि पूर्वी नेपालका किसानहरुले धान रोपाइँको सुरुमै प्रयोग हुने डिएपी मल नपाउने भएका छन् । किनभने कृषि सामाग्री कम्पनी क्षेत्रीय कार्यालय विराटनगरले डिएपीको गोदाम मंगलबारबाट रित्तिएको जनाएको छ । धान रोपेको करिब तीन सातापछि प्रयोग हुने युरिया मल भने गोदाममा मौजदात छ ।

कार्यालयका सूचना अधिकारी नवरत्न गौतमले फागुन महिनादेखि चैत मसान्तसम्म आएको डिएपी मल मंगलबारबाट सकिएको बताए । ‘गएको ९ फागुनदेखि चैत मसान्तसम्म ३२ सय ९० मेट्रिक टन डिएपी मल कार्यालयमा डिएपी मलको गोदाम रित्तिएको छ,’ सूचना अधिकारी गौतमले भने, ‘अब कृषकहरुलाई डिएपी मल उपलब्ध गराउने सक्ने अवस्थामा यो कार्यालय छैन ।’

उनले डिएपी मल आगामी साउन महिना लागेपछि आउन सक्ने जानकारी दिए । कार्यालयका अनुसार धान रोपाइँको सिजन भएकाले यतिखेर दैनिक २ सय टन डिएपी मलको माग छ । सोमबारसम्म गोदाममा १८ टन डिएपी मल थियो, तर मंगलबार नै सकिएको सूचना अधिकारी गौतमले बताए ।

मर्कामा किसान

मल नपाएपछि किसानहरु समस्यामा परेका छन् । मोरङ बयरवनका कृषक रमेश चौधरीले धान रोपाइँ गर्ने समयमा आवश्यक डिएपी मल नपाएपछि हैरान भएको बताए ।

मोरङ रतुवामाई ५ मा रहेको सर्वोत्तम कृषि सहकारीका गोविन्द राईले कृषकको अत्याधिक माग भएअनुसार डिएपी मल लिन कृषि सामाग्री कम्पनीमा आए पनि रित्तो हात फर्कन परेको बताए । उनले अहिले धान खेतीको सिजन भएकाले मल लिन कृषकहरु सहकारीको कार्यालयमा धर्ना दिएर बसेको सुनाए ।

मोरङ बयनवनका कृषक रोशन चौधरीले समयमा मलखाद दिन नसक्ने सरकारले कृषिलाई आधुनिकीकरण र यान्त्रिकीकरण गरी उत्पादन वृद्धि गर्ने भनेर हास्यास्पद नारा दिएको टिप्पणी गरे । सरकारले खुल्ला रुपमा मल बिक्री वितरणमा रोक लगाएका कारण झन् समस्या थपिएको उनले बताए । चौधरीले भने, ‘सरकारले किसानको मर्म बुझ्न जरुरी छ । कि सहुलियतमा मल दिनुपर्‍यो, होइन भने सहजरुपमा बजारबाट मल किनेर लान सक्ने व्यवस्था मिलाउनु पर्‍यो ।’

किसानको मागअनुसार सरकारले सहकारीमार्फत रासायनिक मल उपलब्ध गराउँदै आएको छ ।

साढे १३ हजार मेट्रिक टन युरिया मौजदात

जेठ महिनादेखि हालसम्म कृषि सामाग्री कम्पनी क्षेत्रीय कार्यालय विराटनगरले मोरङसहित कार्यालय नरहेका जिल्लामा कुल ४ सय २३ मेट्रिक टन डिएपी सहकारी मार्फत बिक्री गरेको थियो ।

विराटनगरमा क्षेत्रिय कार्यालय रहेको कृषि सामाग्री कार्यालयले पूर्वी पहाडी जिल्लाहरु तेह्रथुम, भोजपुर र संखुवासभामा पनि मल आपूर्ति गर्दछ । ती जिल्लामा कार्यालय नरहेकाले आपूर्ति केन्द्र र ज्ञान केन्द्रको सिफारिसमा मल उपलब्ध गराइन्छ । त्यसैगरी सुनसरी जिल्लाका दुई सहकारी र मोरङ जिल्लाका १ सय ५४ सहकारीमार्फत स्थानीय कृषकहरुलाई रासायनिक मल उपलब्ध गराउँदै आएको छ ।

धान रोपाइको सिजनमा आवश्यक डिएपी मल सकिए पनि युरिया मल भने क्षेत्रीय कार्यालयमा छ । धान रोपाइँको करिब तीन सातापछि प्रयोगमा आउने युरिया मल १३ हजार ५ सय मेट्रिक टन आएको कार्यालयले जनाएको छ ।

कृषि सामाग्री कम्पनीका अनुसार सो कार्यालयमा वार्षिक युरिया २६ सय २५, डिएपी २ हजार र पोटास १ सय २० मेट्रिक टन उपलब्ध हुने गरेको छ ।

प्रदेश १ मा १७ प्रतिशत रोपाइँ

प्रदेश नं. १ कृषि निर्देशनालयका अनुसार प्रदेश नं. १ मा अहिलेसम्म जम्मा साढे १७ प्रतिशत मात्र धान रोपाइँ भएको छ ।

कार्यालयका कृषि प्रसार अधिकृत हृदयराम पोखरेलका अनुसार सबैभन्दा बढी भोजपुरमा २१ प्रतिशत रोपाइँ भएको छ, भने सबैभन्दा कम हिमाली जिल्ला ताप्लेजुङमा ३ प्रतिशत रोपाइँ भएको छ । धानको पकेट क्षेत्र मानिने मोरङ, सुनसरी र झापामा भने क्रमशः १७, १३ र २२ प्रतिशत धान रोपाइँ भएको छ ।

किसानहरुले धान रोप्नै बाँकी रहेकाले डिएपीको मलको माग बढ्दै जाने निश्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment