Comments Add Comment

सरकारको विरोध गर्न मास्क लगाउन थाले : प्रधानमन्त्री

२० असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको काम देखेर मानिसहरु अताल्लिन थालेको दाबी गरेका छन् । प्रधानमन्त्री रोजगार, कृषिमा आधुनिकीकरण, जेष्ठ नागरिक बीमा लगायतका कार्यक्रम सुरु गर्दा सरकार अझै सफल हुने भयो भनेर मानिसहरु अताल्लिन थालेको उनको विश्लेषण छ ।

देवेन्द्र पराजुली, कल्पना धमलालगायतका समाजवादी पार्टीका नेताहरुलाई पार्टी प्रवेश गराउन शुक्रबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारको बचाउ गरे । सरकारका आलोचकलाई खासै केही भन्नु नरहेको भन्दै उनले अघि भने, ‘चुनाव पनि नजित्नु, आलोचना गर्न नपाउनु पनि हुन्छ ? हुँदैन ।’

उनले काठमाडौंमा मास्क लगाउन नपर्ने आफ्नो अभिव्यक्तिको पनि बचाउ गरेका छन् । आफूले प्रधानमन्त्री भएको बेला काठमाडौंमा मास्क नलगाई हिँड्नै नसक्ने अवस्था रहेको तर अहिले त्यसमा सुधार आएको भनेको भन्दै उनले भने, ‘अहिले मास्क नलगाएर पनि हिँड्न सकिन्छ । यसलाई सुधार गर्दैछौं भनेको थिएँ ।’

त्यसपछि सरकारको विरोधका लागि केहीले मास्क लगाउन थालेको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘मास्क लगाउने बानी गर्दा राम्रै हुन्छ । मेरो रिसले भए पनि कृपया मास्क लगाइदिनुहोला । तर यसले बाटो सफा गर्ने हाम्रो काम रोकिँदैन ।’

प्रधानमन्त्री ओलीले केही दिनअघि आफू प्रधानमन्त्री हुँदा आधा मानिसले मास्क लगाउने गरेको तर, हटेको दाबी गरेका थिए, जसको चर्को आलोचना भएको थियो ।

उनले मुलबाटो मात्र पिच गर्दा सहायक सडकहरुबाट धुलो आउने गरेको भन्दै सिंगो काडमाडौैं उपत्यकालाई कालोपत्रमय बनाउन जरुरी रहेको बताएका छन् ।

आईफाबारे अनावश्यक हल्ला चलाइयो

प्रधानमन्त्री केपी शर्मा ओलीले आईफा अवार्डलाई लिएर भएको आलोचना प्रति असन्तुष्टि जनाए ।

२० लाख पर्यटक भित्र्याउने सरकारको योजना असफल बनाउन आईफा अवार्डबारे अनावश्यक हल्ला चलाइएको उनको दाबी छ । उनले भने, ‘थोरै लगानीमा धेरै प्रतिफल पाउने गरी निर्णय गरिएको थियो तर अर्बौं खर्च भनेर हावा कुरा गरियो ।’

सरकार सम्झौता पूर्व सौदाबाजीमा रहेकै बेला ‘लौ सर्वनाश हुने भो’ भनेर संसदीय समितिमार्फत अनधिकृत निर्देशन दिन लगाइएको समेत उनको आरोप छ ।

एकतामा आउन आह्वान

प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्डले एकतामा आउन बाबुराम भट्टराईलाई गरेको आग्रहमा सहमति मात्र जनाएनन्, समाजवादी पार्टीलाई नै आग्रह गरे । भट्टराई आउन हुन्छ भने उपेन्द्र यादवहरु पनि आउनसक्ने उनले बताए ।

वामपन्थीहरुमा कुनै मतभेद नरहेको भन्दै उनले अरुलाई पनि एकतामा आउन आग्रह गरे । ‘मेची महाकालीका दुई तिहाई अटाउन सक्ने, एक दुई जना अटाउन नसक्ने हुन्छ ?’ उनले अघि भने, आत्मकेन्द्रित भएर नबस्नुस्, आउनुस् ।’

लेखेर दिन्छु, पार्टी फुट्दैन

कतिपयले नेकपा फुट्छ कि भन्ने सपना देख्दा माया लाग्ने गरेको प्रधानमन्त्री ओलीले सुनाए । ‘कसैलाई चाहिन्छ भने म लेखेर दिन्छु, यो पार्टी फुट्दैन । किनकी हामीले फुट्नलाई होइन, जुट्नलाई एकता गरेको हो’ उनले अघि भने ।

यदि कसैलाई फुटाउन सकिन्छ कि भन्ने लागेको छ भने प्रयास गर्न चुनौती समेत दिए ।

नवप्रवेशीहरुलाई पनि उचित जिम्मेवारी दिन्छ कि दिन्न भन्ने चिन्ता नगर्न आग्रह गरे । यो महिाभित्र पार्टी एकताका बाँकी काम सकिने भन्दै अध्यक्ष ओलीले पहिलेदेखि संठगित र नव प्रवेशीहरुलाई पनि उचित जिम्मेवारी दिइने बताए ।

यो पनि पढ्नुहोस प्रधानमन्त्रीलाई सांसद रंगमतीको आग्रह : मेरो स्कुटीको पछाडि बसेर बनस्थली जाऔं यो पनि पढ्नुहोस काठमाडौंको धुलोमा क्यान्सर बनाउने धातु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment