Comments Add Comment

५ महिनामै ४ वटा पाँचतारे होटेल थपिए, ठमेलको अलफ्ट १५ औं

२० असार, काठमाडौं । अन्तर्राष्ट्रिय होटेल चेन ब्राण्ड मेरियटको नेपालमा तेस्रो होटेल अलफ्ट काठमाडौं ठमेलले पाँचतारे प्रमाणपत्र प्राप्त गरेको छ । पर्यटन विभागको १६ असारको निर्णय अनुसार अलफ्टले पाँचतारे मान्यता प्राप्त गरेको हो ।

अलफ्ट नेपालको १५ औं पाँचतारे होटेल हो । ठमेलस्थित छाँया सेन्टरमा बनेको यो होटेलको स्थलगत अध्ययनपछि पाँचतारे मान्यता दिने निर्णय भएको विभागले जानकारी दिएको छ ।

१४ तलाको छायाँ सेन्टरमा ६ तलासम्म सिनेमा हल, पसल र कार्यालय अटाएका छन् । त्यसभन्दा माथि होटेल शुरु हुन्छ । करीव साढे ५ अर्ब रुपैयाँ लगानीमा निर्माण भएको यो होटेलमा १७७ वटा कोठा छन् । नेपालमा होटेल वर्गीकरणअनुसार पाँचतारे होटेलका लागि काठमाडौंभित्र एक सय कोठा आवश्यक पर्छ ।

होटेल मापदण्ड २०७० को पहिलो संशोधनबाट उपत्यकाबाहिर खुल्ने होटेलका लागि पाँचतारे मान्यता पाउन ८० कोठा भए पुग्ने प्रावधान ल्याइएको छ । यस प्रावधानअनुसार पछिल्लो समय मोफसलमा धमाधम ठूला र स्तरीय होटेल खुल्ने क्रम जारी रहेको छ । अनुगमनमा पास हुने होटेललाई विभागले प्रमाणपत्र दिने गरेको छ ।

५ महिनामा ४ वटा पाँचतारे होटेल थपिए

पछिल्लो ५ महिनामा नेपालमा चारवटा पाँचतारे होटेल थपिएका छन् । पछिल्लो समय फागुन २०७५ मा बाँकेको कोहलपुरस्थित होटेल सेन्ट्रल प्लाजा पाँचतारे वर्गीकरणमा परेको थियो । सोही महिना नेपालगन्जको सोल्टी वेस्टेन्ड प्रिमियरले समेत पाँचतारे होटेलको मान्यता पायो ।

काठमाडौंको नक्सालमा हालै सञ्चालनमा आएको काठमाडौं मेरियट होटेलले २ असारमा पाँचतारे प्रमाणपत्र प्राप्त ग¥यो । १६ असारमा होटेल अलफ्ट काठमाडौंले पाँचतारे मान्यता पाएसँगै ५ महिनाको अवधिमा ४ नयाँ होटेल पाँचतारे वर्गीकरणमा परेका हुन् । सरकारले वार्षिक २० लाख पर्यटक भित्राउने लक्ष्यसहित सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ । सोही अनुसार व्यवसायीहरु आतिथ्य सेवामा लगानी बढाइरहेका छन् ।

नेपालमा स्थापना भएका पाँचतारे होटेलमध्ये १० होटेल राजधानी भित्र छन् । पाँच वटा होटेल भने उपत्यका बाहिर खुलेका छन् । नेपालगन्जस्थित सोल्टी वेस्टेन्ड प्रिमियर, भैरहवास्थित टाइगर प्यालेस रिसोर्ट र बाँकेको कोहलपुरस्थित होटेल सेन्ट्रल प्लाजा मोफसलका नयाँ होटेल हुन् । यसअघि पोखरामा ग्रान्ड होटेल र द फूलबारी रिसोर्टले पाँचतारे मान्यता पाएका थिए ।

नेपालमा पहिलो पाँचतारे होटेल काठमाडौंको दरबारमार्गस्थित होटेल अन्नपूर्ण २०२२ सालमा स्थापना भएको थियो । सोही वर्ष २०२२ मै ताहाचलमा सोल्टी होटेल स्थापना भयो । १५ पाँचतारेमध्ये २ वटा भने अहिले बन्द छन् । नयाँ बानेश्वरस्थित एभरेस्ट होटेल र पोखरास्थित फूलबारी रिसोर्ट बन्द छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment