Comments Add Comment

भारतको बजेटले बढायो नेपाललाई सहायता

Photo Credit : ANI

२० असार, काठमाडौं । प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालको पहिलो बजेटमार्फत भारतले नेपाललाई दिदैं आएको अनुदान ४ अर्ब ८० करोड रुपैयाँले बृद्धि गरेको छ । शुक्रबार लोकसभामा भारतीय अर्थमन्त्री निर्मला सीतारमनले प्रस्तुत गरेको बजेटमा नेपालका लागि १६ अर्ब ८० करोड नेपाली रुपैयाँ (भारतीय रुपैयाँ १० अर्ब ५० करोड) विनियोजन गरिएको छ ।

गत फेब्रअरीमा मोदी सरकारले घोषणा गरेको अन्तरिम चुनाबी बजेटमा नेपालका लागि नेपाली रुपैयाँ १२ अर्ब ८० करोड -भारतीय रुपैयाँ ७ अर्ब ५० करोड) विनियोजन गरेको थियो । छिमेकी देशलाई दिदैं आएको अनुदान धेरै पाउने सूचीमा नेपाल तेस्रो स्थानमा पर्छ ।

भुटानका लागि भारतले सबैभन्दा धेरै २१ अर्ब ३५ करोड भारतीय रुपैयाँ दिने बजेटमा उल्लेख गरेको छ । यस्तै मौरिससलाई १७ अर्ब ६ करोड अनुदान दिने बजेटमा भनिएको छ ।

नेपालको पञ्चेश्वरदेखि उच्च बाँधसम्मलाई भारतीय बजेट

बाढी नियन्त्रण तथा सीमा क्षेत्र कार्यक्रमअन्तर्गत भारतले नेपालमा सञ्चालन हुने आयोजनामा समेत बजेट छुट्याएको छ । भारतले पञ्चेश्वर बहुद्देश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण र निर्माणपूर्वको काम सम्पन्न गर्ने कार्यक्रम बजेटमा राखेको छ ।

सप्तकोशी उच्च बाँध एवम् सुनकोशी डाइभर्सन स्किमको डीपीआर बनाउनसमेत बजेट छुट्याइएको छ । यसअन्तर्गत नेपालतर्फ कोशी र गण्डक नदीमा तटबन्ध निर्माणमा समेत लगानी गर्ने बजेटमा उल्लेख छ ।

यसबाहेक बाढी प्रभावित क्षेत्रमा नदी नियन्त्रण, कटान नियन्त्रण, पुनरुद्धारजस्ता क्षेत्रमा समेत खर्च गर्नेगरी भारत सरकारले कूल ७०० करोड भारु बजेट विनियोजन गरेको छ ।

भारतले कोशीको बाढी नियन्त्रण योजना अन्तरगत नै नेपालमा बन्न लागेको सुनकोसी सुनकोशी मरिन डाइभर्सन आयोजनामा लगानी गर्न लागेको छ । नेपालले पनि लगानी गर्ने यो आयोजनाको लागि विस्तृत सम्भाब्यता अध्ययन (डीपीआर) अन्तिम चरणमा छ ।

नेपाल सरकारले पनि आगामी आर्थिक वर्षको बजेटमा सो आयोजनालाई विशेष रुपमा सम्बोधन गर्दै राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेको छ । सरकारले उक्त आयोजनाका लागि आगामी आवमा दुई अर्ब पाँच करोड बराबरको बजेटसमेत विनियोजन गरेको छ । लामो समयदेखि चर्चामा मात्रै रहेको सो आयोजनाको काम आगामी साउनदेखि निर्माणको प्रक्रिया सुरु गर्ने लक्ष्य राखिएको छ ।

निर्माण प्रक्रिया शुरु गर्ने चरणमा रहेको सुनकोशी–मरिन डाइभर्सन आयोजनामा टिबिएम प्रयोग गर्ने योजना छ । यसैगरी भारतीय बजेटमा उल्लेखित सप्तकोशी उच्च बाँधका लागि पनि हाल नेपाल भारतले संयुक्त रुपमा अध्ययन गरिरहेका छन् । तर, यसको रिर्पोट आएको छैन ।

सप्तकोशी उच्च बाँध बहुद्देश्यीय परियोजना हो । सप्तकोशी नदीमा बनाउन प्रस्ताव गरिएको जलाशययुक्त जलविद्युत परियोजनाबाट ३ हजार ३ सय मेगावाटभन्दा बढी बिजुली उत्पादन गर्न सकिने अनुमान छ ।

उदयपुर, सप्तरी, धनकुटा र सुनसरी जिल्लाका सीमावर्ती यो बाँध बनाउन प्रस्ताव गरिएको छ । २ सय ६९ मिटर अग्लो एक किलोमिटर लम्बाईको बाँध बनाएर सिँचाई आयोजना पनि सञ्चालन गर्ने लक्ष्य राखेर अध्ययन भइरहेको ऊर्जा मन्त्रालय स्रोत बताउँछ ।

तर, स्थानीय सरोकारवालाले भने भारतलाई बचाएर नेपाललाई डुबाउन मात्रै यो परियोजना बनाउन लागिएको भन्दै यसको विरोध गर्ने गरेका छन् ।

यस्तै पञ्चेश्वरको डीपीआर टुंग्याउने विषय पनि भारतीय बजेटमा उल्लेख छ । लामो समयदेखि डीपीआरको मस्यौदामा सहमति भएको छैन । यो बहुउद्देश्यीय परियोजनामा नेपाल र भारतबीच पानी बाँडफाँटको विषय मिलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment