Comments Add Comment

कथा : रानीबाँसुरी

‘यस्तो पो हुनुपर्छ त गीत-सङ्गीतको धुन ! आहा कत्ति मिठो ! कत्ति मधुर र कस्तो कर्णप्रिय सरगम !’

मध्यरातमै जुरुक्क उठेर एकाएक बोले महाराज । स्थलगत अवलोकन भ्रमणको उपक्रममा भोजपुर खिकामाछाको चौरमा क्याम्प हालेर बसेका थिए महाराज ।

भाइ भारदारहरू जर्‍याक-जुरुक उठेर महाराजको सामुन्ने झटपट खडेराम हुन पुगिहाले । दरबारको तालिम न हो आखिर ।
‘कहाँबाट आएको हो यस्तो सुरिलो धुन ?’ सोधनी भयो महाराजबाट ।

‘उ त्योमाथिको झुप्रोबाट, सरकार !’ अङ्गरक्षकले औँलाले इङ्गित गर्दै जबाफ टक्रयायो ।
महाराजको इसारामा सबैले उतैतिर कान थापे । धेरैबेर मिठो धुन बजिरहृयो ।

‘कुन बाजा हो यो ?’ अर्को जिज्ञासा पोखियो महाराजको मुखारबिन्दबाट ।

दरबारिया भ्रमण टोलीका सबै सदस्यहरू एकार्कामा मुखामुख गरेर बसिरहे चुपचाप । अलि धेरै बेरसम्म ।
‘कसैलाई थाहा छैन कि क्या हो ?’ महाराजले स्वरको भोल्युम बढाएर थर्काए ।
अब केही न केही बोल्नैपर्ने अबस्था उत्पन्न भयो दरबारका भारदारहरूलाई ।

सङ्कोचमिश्रित आवाजमा प्रमुख सहायकले अनुमानको तीर हाने – ‘सरकार, झट्ट सुन्दा त मुरली हो कि जस्तो अनुभूति भयो तर मुरलीको आवाज ठ्याक्कै यस्तो नसुनिनु पर्ने हो !’

सहसचिवले अन्दाजमा झटारो हानिटोपले – ‘खोई सरकार, यो त अलि अनौठो प्रकारको आबाज लाग्यो मलाई । बाँसुरीको जस्तो धुन छ तर बजाइ अलिक फरक छ ।’

राजदरबारका संस्कृति सचिवले पनि तर्कको तानाबाना बुनेः ‘सारङ्गी पनि होइन, एक तारे पनि होइन, भ्वाइलिन हो कि भनौँ भने त्योभन्दा बेग्लैखालको मिठो आबाज आइराखेको छ । ठ्याक्कै भन्नै सकिएन, सरकार !’

‘के जस्तो लाग्यो, तिमीलाई चाहिँ, प्रमुख सचिव ?’ महाराजको प्रमण्डलमा सबैभन्दा ठूलो कर्मचारी भनेको त प्रमुख सचिव चतुरानन्द चट्टोपाध्या नै थिए । ‘अलि विशिष्ट प्रकारकै बाजा हुनुपर्छ सरकार ! तर एकीन गर्न सकिनँ । रिसानी माफ रहोस्, प्रभु, भोलि बिहान म बुझेर सबै जाहेर गर्छु ! अहिले सुकला होस् !’ एकै सासमा सबै बिन्ती बिसाउन भ्याए उनले ।

बाजाको मिठो धुनले मनमनै मन्त्रमुग्ध बनेका महाराजको धित मरेन । निन्द्रा पनि परेन । उनलाई भोलि फेरि त्यही सङ्गीत सुन्ने धुन चढ्यो । भ्रमणटोलीको बसाइ लम्बियो ।

****

भोलिपल्ट बिहान प्रमुख सचिवले जाहेरी गरे – ‘सरकार, कलाकार कान्छो भनेर चिनिने राजाराम वस्तादले आफैँ आविष्कार गरेको एउटा नयाँ बाजा पो रहेछ त्यो त !’
‘विशिष्टता के रहेछ त्यसको ?’ आयो अर्को एउटा राजजिज्ञासा ।

‘अलि विशेष खालकै बाजा रहेछ, सरकार ! बाजाहरूको पनि राजा । हेरिरहूँ, छोइरहूँ अनि बजाइरहूँ जस्तो लाग्ने । एकातिरबाट मुरली पनि फुक्न मिल्ने । अर्कोतिरबाट बाँसुरी बजाउन पनि मिल्ने । सारङ्गी जस्तो स्वर पनि निकाल्न मिल्ने । फुकेरै भ्वाइलिन जस्तो धुन निकाल्न पनि मिल्ने । कताकता सुब्रानो जस्तो पनि । सबै किसिमको आवाज । मिस्कट पनि । एकल पनि । साँच्चीकै गज्जबको बाजा रहेछ, सरकार !’ सविस्तार जाहेरी गरे प्रमुख सचिव श्री चतुरानन्द चट्टोपाध्याले ।

‘के रहेछ त बाजाको नाम ?’
‘रानीबाँसुरी सरकार, सुन्दर र सुरिलो बाँसुरी रानीहरूको पनि महारानी !’
‘तब त त्यत्ति मिठो र सुमधुर धुन निस्किँदो रहेछ ।’ महाराजको मन-मुहार दुबै एकैचोटि उज्यालियो ।

****

भोलिपल्ट मध्यरातमा फेरि त्यही झुप्रोबाट सङ्गीतको सरगम त्यसैगरी छुट्न थाल्यो । अझै मिठो । मनै हर्ने । दिलै चोर्ने । बिस्तारै वल्ला-पल्ला गाउँका मानिसहरू वाद्यवादक राजाराम वस्तादको घरबाहिर आँगनमा, डिलमाथि र डिलमुनि जम्मा हुन थाले । भीड बाक्लिँदै जान थाल्यो । सङ्गीतप्रेमी सबैजना व्यग्रतापूर्वक मध्यरातको प्रतीक्षामा रहने गरेको रहश्य खुल्दै गयो । महाराज अलि परबाट अरूले थाहा नपाउने गरी यो परिदृश्य बडो अभिरूचिपूर्वक नियाल्न थाले ।

घर्‍याक्क आवाज निकालेर राजाराम वस्तादले आफ्नो घरको झ्याल खोल्यो । बिस्तारै उसले निकाल्यो रानीबाँसुरी । त्यसलाई ओल्टाई-पल्टाई नियालेर हेर्‍यो । एउटा पहेँलो कपडा निकालेर पुछपाछ गर्‍यो । अनि शिर झुकाएर निधारमा लगेर तीन पटक ढोग्यो । एक दुई पटक परीक्षण गरेजस्तो गरेर मुड सिर्जना गर्‍यो । मुड नआई यस्सै पनि सिर्जना कहाँ फुर्छ र ?

अनि त के थियो र ? बिस्तारै त्यो अनौठो वाद्ययन्त्र रानीबाँसुरीलाई आफ्नो ओठनेर पुर्‍यायो । अनि दुबै हातका दशै औँला चाल्न थाल्यो छिटोछिटो गरेर तलमाथि, दायाँबायाँ, वरपर, सबैतिर । पहिले पानको पातको धुन निकाल्यो । फूलको थुङ्गा बहेर गयो गङ्गाको पानीमा बोलको धुन बज्यो । ‘आहा !’ महाराजको मुखबाट आफैँ फुस्कियो । म मरे पनि मेरो देश बाँचिरहोस्, यो नेपाली शिर उचाली…।

मान्छेहरूले आपसमा खासखुस गरे ‘कत्ति मीठो गरी बजाएको !’ आमाले सोध्लिन् नि खोई छोरा भन्लिन् नि रनै पर्‍यो भन्दिए…गोरेटो त्यो गाउँको…ए कान्छा ठट्टैमा यो बैँश जान लाग्यो….एकपछि अर्को गर्दै धेरै लोकप्रिय र कालजयी गीतहरूको धुन बजिरहृयो ।

मोहनी लाग्ला है गाउँलेको बोलीले… रेशम फिरिरि रेशम फिरिरि… गैरी खेतको शिरै हान्यो मस्र्याङदी… धड्कनभित्र लुकाइदेऊ न भित्री मनको तरेलीमा, नजर अरू झुकाइदेऊ न बास बस्छु परेलीमा…सिमसिमे पानीमा ..जिन्दगानी उकाली ओराली रैछ….। अनि अन्तिममा उसले उदासी मुड निकालेर उजाडलाग्दो धुन फुक्यो- मुटुमाथि ढुङ्गा राखी हाँस्नु पर्‍या छ… आधा जिन्दगी रित्तिसक्यो भनेर कहिले शोक मनाएँ, आधा अझै बाँकी छ ठानेर उत्सव पनि मनाएँ, जसरी हेर्‍यो उस्तै देखिन्छ जिन्दगी बल्ल होस पाएँ…एक बुँद पानी रारातालमा झरे ठाउँको ठाउँ हराउँछ, त्यही पानी कमलको पातमा परे आफ्नो ठाउँ आफैँ बनाउँछ, कसलाई कहिले कुन ठाउँ सुहाउँछ, समयले बताउँछ…!

राजाराम वस्तादको रानीबाँसुरीबाट मूल फुटेका धुनका अविरल नदीहरू कहिले सप्तकोशीझैँ त कहिले सप्तकणर्ाली बनेर सङ्गीतको समुन्द्रतिर सलललल बग्न थाले । अविश्रान्त दुई घण्टाको मधुरतम, अद्वितीय र श्रुतिमधुर धुन पस्किसकेपछि वाद्यवादक राजाराम वस्तादले झ्याल बन्द गरेको दृश्य देखियो मधुरो जूनको प्रकाशमा । रसास्वादन गरिरहेका पारखीहरू आ-आफ्ना दर्ग-दिशा लागे ।

****

तेश्रो दिन पनि महाराज उसैगरी प्रतीक्षारत रहे व्यग्रतापूर्वक । अधैर्यझैँ । अबुझझैँ । आफ्नो ड्युटी त गरिरहेकै थियो इमान्दारितापूर्वक घडीले । तर महाराजलाई भने घडी नै ढिलो चलेको अनुभूति भयो ! धन्य, धैर्यताको बाँध भत्किनुभन्दा केही पलअघि नै गाउँको क्षितिजमा फेरि ठूलो साँझ पर्‍यो, अँध्यारो झर्‍यो अनि मध्यरात भयो – महाराजको मुहारमा उत्सुकताको लालिमा पोतेर । महाराजको नजर सामुन्ने हिँजोकै जस्तो दृश्य देखा पर्‍यो र कानमा मधुर सङ्गीत गुञ्जियो ।

पर्सिपल्ट पनि ऐजन ऐजन नै भयो । एवं रीतले यो क्रमले निरन्तरता पाइरहृयो । बजाउने धुनहरू भने हरेक साँझ पृथक-पृथक हुने गर्दथ्यो । अचम्मको धुन निकाल्ने त्यो रानीबाँसुरी र कलाकारको अद्भूत प्रतिभा देखेर राजा मनमनै दङ्ग परिरहे । एक दिन, दुई दिन, तीन दिन हुँदै त्यो धुनसित मोहित भएर लठि्ठएर पूरै एक हप्ता त्यहीँ बितेको महाराजले पत्तै पाएनछन् !

बिचरो रानीबाँसुरीवालालाई राजा आएको र गएको केही थाहा भएन । ऊ आफ्नै सिर्जनाको सुन्दरतम संसारमा झुमि नै रहृयो । यो दैनन्दिनी यसरी नै चल्दै गयो जसरी सूर्य चन्द्र पनि एउटा निश्चित अनुशासनमा नित्य नियमित चलिरहन्छन् । जसरी हावा हिँडिरहन्छ । जसरी अक्सिजन छरिइरहन्छ । जसरी पानी बगिरहन्छ । जसरी पृथ्वी घुमिरहन्छ र जसरी शाश्वत सत्य छाइरहन्छ, दशैदिशा निरन्तर-निरन्तर ।

****

राजधानी र्फकँदा बाटोभरि महाराजलाई तिनै मिठा धुनहरूले पालैपालो आक्रमण गरिराखे । मोहनी लाग्ला है गाउँलेको बोलीले भन्ने गीतको धुन गुनगुनाउँदै उनी अघि बढिरहे । दिमागमा भने राजाराम वस्तादको र त्यही रानीबाँसुरी नामक वाद्ययन्त्रको मात्रै काल्पनिक स्वरूपको सम्झना आइरहृयो उनलाई । नारायणहिटी राजदरबार पुगेको त्यो राति उनलाई निन्द्रा परेन फिटिक्कै ।

भोलिपल्ट एकाबिहानै उनले प्रमुख सचिव चट्टोपाध्यालाई डाक्न पठाए । चट्टोपाध्याको मुखमा ताकेर फर्मान जारी गरे- ‘मलाई त्यही रानीबाँसुरी चाहियो ! तत्कालै, तुरुन्तै !’

महाराजको पर्माइसपूर्ण हुकूम तामेली गर्नेे जिम्मेवारी अब झ्याप्पै उनको काँधमा आइलाग्यो । उनलाई थाहा थियो आखिरमा आदेशको ओखती अहिलेसम्म यो दुनियाँमा आविष्कार भएकै छैन !

****

राजाज्ञा शिरोपर गरेर हिँडेको प्रमुख सचिवको उच्चस्तरीय दौडाहा टोली गाउँको त्यही घरमा पुग्यो । राजाराम वस्तादलाई महाराजको आदेश सुनाइयो । द्विपक्षीय वार्ता सघनरूपले भयो । पटक-पटक छलफल र संवार्ता भयो । जति गरे पनि रानीबाँसुरी दिने बिन्दुसम्म राजा वस्ताद आउनै मानेन । आफ्नो भावना जोडिएको यो बाजा आफूले दिन नसक्ने निर्णय उसले बारम्बार सुनायो ।

जागीर जाने डरले भयातुर प्रमुख सचिवको पसिना छुट्यो । सात दिनको लामो, निरन्तर र पट्टाइलाग्दो प्रयासपछि अन्ततोगत्वा तीन बुँदे सहमति सम्पन्न भयो दुबै पक्षबीचमा ः

१. कलाकार कान्छो भनिने राजाराम वस्तादले आजसम्म प्रयोग गरिरहेको ‘रानीबाँसुरी’ महाराजलाई आजै उपलब्ध गराउने ।
२. यो बाजा दिएवापत् निज राजाराम वस्तादलाई एक सय मुरी धान आउने नम्बरी खेत सरकारले उपलब्ध गराउने ।
३. साथै निज राजाराम वस्तादको तौल बराबरको नम्बरी सुन आजकै मितिमा सरकारले उपलब्ध गराउने ।
४. निजको जीवनयापन, भैपरि र स्वास्थ्योपचारको सम्पूर्ण प्रवन्ध सरकारले मिलाउने ।

जमिनको लालपूर्जा बन्यो । जोखेर तीस धार्नी सुन राखेको बडेमानको सेफ वस्तादको झुपडीको भित्रपटि लगेर लुकाइयो । लालपूर्जा र ताल्चा-चाबी राजाराम वस्तादको हातमा थमाइयो । रानीबाँसुरी अब वस्तादबाट लिइयो । त्यही बोकेर प्रमुख सचिवको टोली राजधानी काठमाण्डौतर्फ हानियो – मिशन सफल भएको विजयोत्सव मनाउँदै ।

****

राजाराम वस्तादको जीवनस्तर अब एकैचोटि इथियोपियाबाट अमेरिका गए जत्तिकै भयो । चोखो-मिठो खानपिन, भव्य महल, ऐश आरामयुक्त दैनन्दिनी, सरकार र राज्यको सुविधा । न भोक न सुर्ता । न त कामको चिन्ता न त हात मुख जोर्ने दुःख । साँच्चीकै यत्ति धेरै सरसुविधा एक्कैचोटि देखेको र भोगेको उसको सात पुस्ताकै लागि यो नै पहिलोपल्ट थियो ।

परिवारजनको मुहारमा आएको मुस्कानको चमक देखेर ऊ पनि मनमनै मक्ख पर्दै गयो । सबैमा आनन्दानुभूतिको वषर्ा भयो । मस्तले निन्द्रा पर्न थाल्यो । दीनदुःखी अनुहारमा पोषिलो खानाले चमत्कार देखाउन थाल्यो । सबै जना हृष्टपुष्ट हुँदै गए । चिल्ला चापुल्ला देखिन थाले । बोली र भाषा पनि सहरिया सहरिया पाराको हुन थाल्यो । सन्तुष्टि र प्रसन्नताले वस्तादको सिङ्गो घर धपक्कै बल्न थाल्यो । आहा, स्वर्ग भनेको कतै यही त होइन ? भ्रममा पर्‍यो ऊ !

****

ऐश्वर्यको यो आकाशमा उडान भर्दाभर्दै एक दिन अचानक उसले चिरबिराउँदै उडिरहेको चखेवा-चखेवीको जोडीलाई नियाल्न पुग्यो । अनायास उसको मन भत्किएर भताभुङ्ग भयो । अर्कैै खालका बिचारका छालहरू मडारिँदै तरङ्गति हुन थाले । नयाँ-नौलो खालको अनुभूतिको बाक्लो सिरकले उसलाई माथिबाट गम्लङ्गै छोपेजस्तो भएर सास अड्क्यो ।

साँच्ची, खोइ त मेरो घरमा आइराख्ने ती गाउँलेहरू ? झसङ्ग भयो ऊ । अनि कता गए ती मेरो बाँसुरीका धुनले मक्ख पर्ने युवा, युवती, तन्देरी, बालबच्चा, बूढापाका, आमाबुवा, दिदी बहिनी, सोल्टा सोल्टिनी, नरनाता, कुटुम्ब, साथीभाइ….चुर्सी, भुन्टी, काली, गोरी, साहिँली, कान्छी …..सम्झेर शीताङ्ग बन्यो उसको शरीर ।

साँच्चीकै ‘मिस’ गर्न थाल्यो उसले अब- मन बहलाउन गाउँको तल्ला घर मास्ला घर, पल्लो गाउँ, तल्लो बस्ती, मुलाबारी, बन-पाखा भिरहुँदी घुमफिर गरेको… हालखबर सोधपूछ गरेको ..अलिअलि ठट्टा गरेको.. अलिअलि भनाभन परेको.. अलिअलि लखेटा-लखेट गरेर खेतको आलीमा कुस्ती खेलेर पछारेको…गाउँको पुरै पुरानो परिदृश्यको चलचित्र फनफनी उसको दिमागरूपी पर्दामा देखिन थाले, त्यो पनि पूरै भिजुएल र फूल साउण्ड इफेक्टको साथमा आइम्याक्स हलमा डिजिटल फिलिम हेरेको जसरी !

ओहो, राजबाँसुरी बजाउँदा कत्ति मान्छे भेला हुन्थे, मेरो घरमा । कत्तिले मलाई स्याबासी दिन्थे । कत्तिले मलाई खानेकुरा ल्याइदिन्थे । कति जनाले मलाई प्रशंसा गर्थे । आखिर धेरै दुःख त मलाई पनि कहाँ थियो त ? कलाकार कान्छो भनेर चिनिएकै थिएँ । स्कूलतिर पनि बालबच्चाहरूलाई फीस नलिई फ्रीमै पढाइदिएकै थिए । साह्रो-गाह्रो परेको बेला सबै गाउँले जुटेर उतारिदिएकै थिए ।

फेरि म पनि त मिठो धुन निकाल्न मेहनत गरि नै राखेको हुन्थेँ । मिठो मेलोडी र मौलिक लोक भाका र धुनहरू खोजी नै रहेको हुन्थेँ । मेरो कला र सिपबाट सबै मन्त्रमुग्ध नै थिए ।
हो, म अहिले यो सुखको समुन्द्रको बीच टापूमा त सुखसयल भोगिरहेको त छु । अभाव र असुविधा भन्नु त केही छैन यहाँ ।

तर यत्ति हुँदाहुँदै पनि दुःखको समुन्द्रले मलाई किन छोपिरहेको छ आज ? किन यत्ति बढी छटपटी ? अनायासै किन यस्तो असन्तुष्टि ? मन मष्तिष्क शून्यप्राय भएको छ उसको एक्कासी आज । चल्दाचल्दैको पारिवापरिक डुङ्गा अचानक सुनामीमा परेर हराए जस्तो । सन्न । चारैतर्फ सन्नाटा छाए जस्तो ।

खोई मेरो घर ? खोई मेरो बाजा ? प्राणभन्दा प्यारो बाँसुरी ? मेरी खसमले दिएको त्यो रानीबाँसुरी ! खोई ‘म’ ? खोई ? खोई ?? कर्कश आवाजमा जोडजोडले चिच्यायो अनायास आफैँ ।

दौडेर आफ्नो राजबाँसुरी राख्ने गरेको ठाउँमा पुग्यो हस्याङ-फस्याङ गर्दै । झुक्किएछ नराम्ररी ऊ त ! त्यो त महाराजकहाँ पुगिसकेको थियो उहिल्यै ।

बल्ल होसमा फक्र्यो ऊ । अर्को एउटा सानो बाँसुरी त्यतै लडिरहेको देख्यो । हाङ्ग्राले पाङ्ग्रा निलेझैँ उठाएर मुखमा ल्यायो, बान्की पारेर फुक्यो, औँला चाल्यो । अहँ, टेर्दै टेरेन बाँसुरीले । बोल्दै बोलेन बाँसुरी । लाजले मुहार आफैँ रक्तिम भयो । बल्ल पो छाँगाबाट खसेझैँ झसङ्ग भयो । झुपडीमा लुकाएको यत्रो सम्पत्ति चोरी होला कि भनेर डराई-डराई रुङ्दा रुङ्दै बिर्सी पो सकेछ उसले त बाँसुरी फुक्न नै । सुखसयलमा चुर्लुम्म डुबेको गतिलो प्रमाण !

‘धत्, बाँसुरी भए पो बाँसुरीवादक ! नत्र…के प्रयोजन ! थुक्क जिन्दगी !’

यस्तै के के बकबकाउँदै छिटोछिटो लुगा फेर्‍यो । अनि नारायणहिटी राजदरबार, काठमाण्डौतर्फ हानियो – रिसाएको हान्ने साँढे खुल्ला सडकमा निस्केको शैलीमा !

****

‘म यही गाउँको एउटा गरीब मान्छे हुँ । कलाकार कान्छा भनेर चिनिन्छु । मेरो सक्कली नाम त राजाराम वस्ताद हो । बजाउने एकमात्र ठूलो शोख बनेको छ अहिले मेरो । पहिले त मलाई गीत-सङ्गीत पटक्कै मन नपर्ने । रसै नपसेको । तर मेरी श्रीमतीलाई चाहिँ गीत-सङ्गीतको नशा लागेको थियो । नाम थियो रानीकुमारी वस्ताद । मान्छे पनि अत्ति राम्री । स्वर पनि अत्ति मिठो । बाँसुरीमा अब्बल । मादल, मुरली र मुर्चुङ्गामा पनि उत्तिकै पोख्त थिई ऊ ।’

‘एकपल्ट ऊ साह्रै नराम्ररी बिरामी परेर थलिई । केही गर्दा पनि बीसको उन्नाइस नहुने छाँट देखियो । वैद्यबाले अन्तिम इच्छा पूरा गरिदिनू है चाँडै भनेर अन्तिम भएको ठोकुवा गरे । यो सुनेपछि श्रीमती बेस्सरी राई । म भक्कानिएँ । श्रीमतीले मेरो हात मागी र हातमा एउटा अचम्मको बाँसुरी थमाइदिई । यो बजाउने गर्नू है । मनमा श्रीमतीप्रति एकाएक मायाको भेल उर्लेेर आयो । उसको अतृप्त इच्छा पूरा गर्ने एउटा अचम्मको उपहार थियो त्यो !’ ‘मेरी रानीले दिएको हुनाले बाँसुरीको नाम राखिदिएँ मैले ‘रानीबाँसुरी’ ।

‘स्मरणमा आयो धेरै पहिलेको एउटा घटना । विवाहपछि कुनै एक दिन मध्यराति श्रीमतीले त्यही रानीबाँसुरी घरको कुनामा लुकेर बजाएकी थिई । मैले महत्व दिइनँ । घरले साथ दिएन । समाज उस्तै सङ्कुचित । सबैले भोलिपल्ट उसको सातोपुत्लो लिए । श्रीमतीको त्यो प्रतिभालाई प्रष्फुटन हुने मौकै मिलेन । उसको त्यो जिजीविषा ठाउँको ठाउँ ठहरै भयो ।’

‘त्यसै दिनदेखि मैले रानीबाँसुरी सम्हालेँ । अनि हरेक दिन साँझमा उसकै मधरु सम्झनामा झ्यालमा बसेर त्यही बाजाबाट साङ्गीतिक धुनहरू सिर्जना गर्न थालेँ उसैको यादमा चुर्लुम्म डुबेर । गाउँलेहरू र पारखीहरू त्यही धुन सुनेर आनन्दित र आल्हादित हुन थालेछन् ।’

‘त्यो रानीबाँसुरलाई म बाजा देख्तिनँ, मेरी श्रीमती रानीकुमारी वस्ताद देख्छु ! यस्ती मेरी ‘रानी’ लाई कसरी महाराजसित साट्न सक्छु म ?’

****

‘भएकै यही सत्य घटना यसैगरी सुनाएर महाराजको मन जित्छु । अनि रानीबाँसुरी फिर्ता ल्याउँछु’ – दिमागमा यस्तै तानाबाना बुन्दै राजाराम वस्ताद राजदरबारतर्फ लम्किँदै गयो ।

****

बाटो हिँड्दा राजाराम वस्तादको मनमष्तिष्कको आँखामा भने महभन्दा मिठा सपनाहरू लटरम्मै फुलिरहेका थिए । सुन्दरतम सपनाको संसार मस्तसित नाचिरहेको थियो । हिँड्दै थियो उसको शरीर राजधानीको नारायणहिटी राजदरबारतर्फ । तर मन भने राजदरबारबाट सोझै आफ्नो गाउँको पुरानो घर पुगिसकेको थियो अघि नै कल्पनामा चुर्लुम्मै डुबेर !

दाहिने हातमा रानीबाँसुरी च्यापेर राजाराम वस्ताद गाउँ फर्क्यो । पिँढीमा थचक्क बस्यो खुइय गरेर । बाजासहितको कलाकार कान्छोलाई देखेर घर मुसुक्क मुस्कुरायो । गाउँलेहरू उसैगरी ओइरिए जसरी पहिले भेला हुन्थे । गाउँमा फेरि त्यही रानीबाँसुरी घन्किन थाल्यो । मध्यरातमा होइन । साँझैमा । चहलपहल देखेर जून पनि मनमनै मुस्कुरायो । छेउका रुखपातहरूले फुर्केर अक्सिजनै अक्सिजन फाले । गाउँमा झलमल्ल जून लाग्यो । भोलिपल्ट घामको रङ्ग पनि सुनौलो भएर आयो । सुनौलो प्रकाश फालेर घाम लाग्यो सबैतिर ! अनि बल्ल पो कलाकार कान्छोको आङमा झलमल्ल घाम लाग्यो !

नारायणहिटी राजदरबारको मूलगेट देखेपछि पो उसको तन्द्रा अप्रत्यासित ढङ्गले बज्रेको ऐनाझैँ झर्‍यामझुरुम हुनपुग्यो । स्वर्गबाट सोझै पृथ्वी लोकमा पदार्पण गरेको सपनाझैँ !

****

नारायणहिटी राजदरबारभित्र महाराजको सामुन्ने पुग्नेबित्तिकै राजाराम वस्ताद बेस्सरी कडि्कयो – ‘सरकार, मलाई मेरो बाँसुरी फिर्ता चाहियो ।’
अकमक्क परेका महाराजले केही मेलोमेसो पाएनन् ।

‘किन के भो ? के फिर्ता ? किन फिर्ता ?’ महाराजबाट मोटो स्वरमा सोधनी भयो ।

राजाराम वस्ताद चुइँक्क बोलेन । जय विजय केही गरेन । निकै बेर सुनसान र सन्नाटा छायो । मनमनमा भने ओठे जवाफ ठीक पार्‍यो- ‘मायाप्रेमको निशानी पनि कहीँ बिक्री हुन्छ, मूर्ख महाराज !’ तर भित्रभित्रै पचाइदियो ।

‘यो मेरो ताजमहल हो सरकार !’ अलिअलि कामेको र अलिअलि दबेको नाके स्वरमा उसले सत्य समुद्घाटन गर्ने साहस बटुल्यो बल्ल ।’ निःशब्द बने सम्पूर्णतः महाराज । ‘हो सरकार, यो मेरो ताजमहल हो, सम्राट शाहजहाँले मुमताजको लागि निर्माण गरेको प्रेमको उपहार जस्तै । प्रेमको अमर र अजर निशानी हो महाराज मेरो यो !’

‘अचल बस्तु पो हुन्छ त मायाको अमर निशानी त । यस्तो चल बस्तु पनि कहीँ ताजमहल हुन्छ ? यो त कुनै बेला हराउन पनि सक्छ । भाँचिन सक्छ । बिगि्रन सक्छ । नासिन सक्छ । जे पनि हुनसक्छ नि ।’ सैयौँ संशयका सवालहरू उठाए महाराजले ।

‘महाराज, यो जीवित ताजमहल हो । मसँगै बस्ने, हिँड्ने र सुत्ने ताजमहल ! यस्तो ताजमहल जसमा प्राण छ, आवाज छ, पुरानो कथा-कहानी छ र छ एउटा सिङ्गो संसार छ एउटा अतृप्त आत्माको !’ साहित्य छाँटिदियो उसले पनि ।

‘हेर त, प्रेमका लागि संसारभरि कस्ता-कस्ता महल, दरबार, बगैँचा, उद्यान, संरचनाहरू बनेका छन् ।’ महाराज फूलबुटामा बात्तु जड्न थाले- ‘नपत्याए अमेरिकाको फ्लोरिडाको कोरल क्यासल हेर । अष्ट्रियाको साल्जबर्गको मिराबेल प्यालेस हेर । टाढा किन जान्छौ आग्राको ताजमहलै हेर, बृन्दावनको प्रेममन्दिर हेर !’

‘बरू तिमी पनि त्यस्तै केही निर्माण गर ! अर्को ताजमहलै बनाऊ । जो कालान्तरसम्म रहन्छ, जसलाई पत्येक दिन लाखौँ मानिसहरूले हेर्न, देख्न, छुन र अनुभूत गर्न पाउँछन् । अनि पो तिम्रो गुमेको प्रेमीको आत्मालाई आशीर्वाद ओइरिरहन्छ । तिमीलाई पनि शान्ति मिल्छ । होइन त ?’

‘आँट गर ! लाग्ने खर्च सरकारले ब्यहोरिदिन्छ । हुन्छ ?’ महाराजले निर्णय सुनाए ।

‘हुँदैन सरकार !’ गल्नेवाला थिएन राजाराम वस्ताद पनि ।

‘बिचार गर, एक पटक !’ अन्तिम अवसर दिए महाराजले ।

‘प्रेमको निशानीलाई सम्पत्तिसित साट्न सक्तिनँ, सरकार, म !’ झन् रूखो बनायो आवाजलाई उसले अनि चिच्यायो – ‘मेरो बाजा फिर्ता पाऊँ, सरकार ! मलाई मेरै रानी चाहियो । मेरै रानीबाँसुरी चाहियो !’

****

थप सन्नाटा छायो नारायणहिटी राजदरवारको शान्त वातावरणमा । भुइँतिर हेरेर घोरिइरहृयो राजाराम वस्ताद । एकछिनपछि ऊ चलमलायो । हात अघि सार्‍यो । हातेझोलाको चेन स्वार्र पार्‍यो । भित्र हात घुसायो । केही निकाल्यो । एक निमेषभरमै । र महाराजको अगाडिको भुइँमा पछारिदियो बेजोडले ।

रातोरातो मुख पारेर गजधम्म परेर बसेका महाराज त्यो आवाजले भस्के । ‘के फ्यालेको, यो ?’ जङ्गिए महाराज !

उचो आवाजमा राजाराम वस्तादको जवाफ फर्कियो- ‘जग्गाको लालपुर्जा र सेफको साँचो !’

‘अब मेरो बाजा फिर्ता पाऊँ !’ कड्कियो ऊ न्वारानदेखिको बल निकालेर ।

अपमानबोधले भरिपूर्ण र रिसले चुर भएका महाराजले पनि तत्क्षणै भुइँमा केही बजारे ठूलो आवाजसिहत – ‘लैजाऊ… कहीँ नभएको तिम्रो बाजा !’

उछिट्टएिर राजाराम वस्तादको खुट्टामा बज्रिन आइपुग्यो-

‘चिरैचिरा परेको त्यही रानीबाँसुरी !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment