Comments Add Comment

नार–फूको यात्रा

२१ असार, काठमाडौं । सदाझैँ बेसीशहरका लागि छुट्ने माइक्रोबस पृथ्वीचोकमा मेरै लागि कुरेर बसे जस्तो देखिन्थ्यो । करिब १५–२० मिनेटको पर्खाईपछि गाडी गुड्यो । तनहुँको कुनै ठाउँमा हामीले खाजा खायौं । चिल्लो बाटोमा गाडी बेस्सरी हुँइकियो । भुसुक्क निदाइएछ, उठ्दा घडीमा १ बजिसकेको थियो । स्टाफभाइले ल झर्नुस् भन्दै झोला छतबाट झारिदिए ।

दिनेश र मेरो लागि बेसीशहर दोस्रो पटक थियो । हामी सरसमान र औषधी किनेर मनाङ चोकतर्फ लाग्यौं । मनाङका लागि गाडी छुट्ने बेला पनि भइसकेको रहेछ । छिटो–छिटो झोला छतमा राखेर छेवै सिट रोज्यौं । सिमसिमे पानीसँगै गाडी मनाङतर्फ हुँकियो । ३ वर्ष अगाडि कहाली लाग्ने बाटो अहिले धेरै सुधिएको तथा विचविचमा पिच भएको रहेछ ।

मर्स्याङ्दीको किनार, चाम्चे, स्याफु लगाएतका झरनाको मनमोहक दृश्य हेर्दै कोतो पुगियो । पहिलो दिनको बसाई कोतोमा रह्यो । कोतो र चामे करिब आधा घण्टाको दूरीमा रहेका गाउँ हुन् ।

विहानीको किरणसँगै चियानास्ता गरेर नार–फूको बाटो लाग्यौ । बीच–बीचमा बाटो बन्दै थियो, अनि बनेको बाटो साघुरो, पहराको विचमा खोपिएका साँघुरा बाटाहरुले झसङ्ग बनाउँथे ।

बेसिजन भएर पनि होला पर्यटक निकै कम थिए । कलकल खोलाको आवाज, सरसर हावाको वहाव अनि चिरविर चराको धुनसँगै हाम्रा पाइला अगाडि बढ्यो । शिरै ठाडो पार्दा पनि पुरै हेर्न नभ्याउने अग्ला चट्टाने पहाडको खोचबाट हिँडेका हामीलाई मडारिएको बादलले थप सहज बनायो ।

भौगोलिक संरचनाको आनौठो परिभाषालाई नियाल्दा हराएको यो मन मस्तिष्कलाई गलेको शरीरको आभास गर्ने चेष्टा भएन । करिब आठ-नौ घन्टा हिँडेपछि मेहता गाउँ पुग्यौं । साँझ पर्नै आँटेको थियो । हामी बस्ने होटलमा करिब २५-३० जना रहेछन् । आधा बढि त किरा टिप्न लेक हिँडेका रहेछन् भने बाँकी चाहिँ कामको शिलसिलामा रोल्पा रुकुमबाट आएका रहेछन् ।

बिहान आँखा खोल्दा करिब सात बजिसकेको थियो । हतारहतार नास्ता गरेर फू गाउँतर्फ लाग्यौं । तेर्सो बाटोमा जति अगाडि बढ्यो, त्यति नै मनमोहन दृश्य देखिन्थ्यो ।

मोवाइलमा नेटवर्क थिएन तर, बाटोमा हिड्ने बटुवाहरु साथी थिए । करिब २-३ घन्टाको हिँडाइ पछि च्याखु पुगियो । च्याखुमा तिब्बती सैनिक (खाम्पा)हरुको वासस्थान जीर्ण रुपमा अझै देखियो । च्याखुमा खाना खाएर फूतर्फ लाग्यौं । च्याखुबाट क्याङ्ग करिब २ घण्टामा पुगिन्छ ।

चर्को घाम अनि गलेका शरीरका कारण क्याङ्गबाट अगाडि बढ्न निकै कठिन भयो । पहरामा कोरिएको साँघुरो बाटो र बेस्सरी चलेको हावका बीच हामी अगाडि बढ्यौैं र करिब ९-१० घण्टाको यात्रा पछिहामी फू गाउँ पुग्यौं । सानो थुम्कोमा अडिएका घरहरुको त्यो गाउँले कसको मन नलोभ्याउला ।

च्याखु हुँदै हामी नार फेदीतर्फ झर्‍यौं । नार फेदीदेखि नार गाउँ करिब ४–५ घण्टाको उकालो बाटो हो । मानिस र घोडाको लस्कर हेर्दा कुनै फिल्मीसिनको झल्को दिन्थ्यो । पारी लेकको पूर्जी फुकेकाले सबै यार्साको लागि हिँडेका रहेछन् । धरै जना यार्सा टिपेर ल्याउने आशमा हिँडेकाहरु थिए ।

नार फू गाउँमा पुगेपछि भने हामीले यात्राका क्रममा भोगेका सबै दुःख बिर्सियौं । सुन्दर र हरियो फाँट अनि त्यसको शिरमा रहेको गाउँ साँच्चै मनमोहक थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment