२२ असार, काठमाडौं । अर्जेन्टिना र चिलीबीचको खेलमा उत्पन्न भएको विवादले यतिबेला निकै चर्चा पाइरहेको छ ।
विश्वका स्टार खेलाडी लियोनल मेस्सीलाई किन रातो कार्ड दिइयो ? के कोपा अमेरिका कपमा कप्तान मेस्सीले भनेको जस्तै व्यापक भ्रष्टाचार भएको छ ? यस्तै प्रश्न उब्जिन थालेको छ । यता, अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले पनि मेस्सीलाई रातो कार्ड दिनु गलत भएको बताएका छन् ।
तेस्रो स्थानको प्रमाणपत्र वितरण कार्यक्रममा कप्तान मेस्सीले प्रमाणपत्र लिन नै मानेनन् । मेस्सीले ब्राजिललाई जिताउन ब्यापक अनियमितता भएको भन्दै चर्को आलोचना गरिरहेका छन् भने रेफ्रीको निर्णय प्रति खुलेरै विरोध गरिरहेका छन् । मेस्सीले भनेका छन्, ‘कोपा अमेरिका कपमा ब्राजिललाई जिताउन भ्रष्टाचार भएको छ । यो भ्रष्टाचारको हिस्सा अर्जेन्टिना बन्न सक्दैन ।’
प्रशिक्षक स्कालोनीले रेफ्री र भीएरमाथि प्रश्न उठाएका छन् । ‘मैले अहिलेसम्म पनि बुझ्न सकिरहेको छैन मेस्सीले के गल्ती गरेको थियो र रेड कार्ड दिइयो ?’ पत्रकार सम्मेलनमा आक्रोशित हुँदै स्कालोनीले भने ।
‘मलाई लाग्छ हामीले फाइनल खेल्नुपर्थ्यो । तर हामी तेस्रो स्थानको खेल जित्नेको सान्त्वना पुरस्कार मिल्यो । जुन हामीले गर्नु थियो’, प्रशिक्षक स्कालोनीले थपे ।
चिलीलाई २–१ गोलअन्तरले पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका फुटबलमा तेस्रो स्थान हासिल गर्न सफल भयो ।
प्रतिक्रिया 4