Comments Add Comment

आजका पत्रपत्रिका : नक्कली गुठी खडा गरी रानीमहलको जग्गा व्यक्तिको नाममा

२३ असार, काठमाडौं । काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरुले तरकारी तथा फलफूलको विषादी परीक्षणदेखि खाडीमा नेपाली घरेलु कामदारले भोगेको पीडा, सार्वजनिक सम्पदा दुरुपयोगसम्मका विषय उठाएका छन् ।

सार्वजनिक जग्गा दुरुपयोग अब कुनै नयाँ विषय रहेन । राजधानीको मुटुमा रहेको बालुवाटारको ललितानिवासलगायतका स्थानसमेत माफियाको चलखेलमा व्यक्तिको नाममा दर्ता भएको अब नयाँ रहेन । यस्तैमा नेपालको ताजमहलका रुपमा परिचित पाल्पाको रानीमहलको जग्गा माफिया र मालपोत कार्यालयको मिलेमतोमा व्यक्तिका नाममा नामसारी भएको राजधानी दैनिकले लेखेको छ ।

राजधानीका अनुसार माफियाले नक्कली गुठी खडा गरी रानीमहलको जग्गा व्यक्तिका नाममा दर्ता गराएका छन् । रानीमहलको जग्गा दुरुपयोग भएको गुनासोपछि राष्ट्रिय सतर्कता केन्द्रले थालेको छानबिनका क्रममा यस्तो तथ्य खुलेको हो ।

सतर्कतालाई उद्धृत गर्दै राजधानीले लेखेको छ– १८ माघ ०६२ मा पाल्पा दरबारमा आगलागी भएर काजगात जलेको र तत्पश्चात १२ असार ०६३ मा नयाँ स्रेस्ता कायम गर्न माग गर्दै खड्गभक्तेश्वर गुठीका मोही महालक्ष्मी श्रेष्ठले गाविस कार्यालयमा स्रेस्ता कायम गर्न माग गर्दै निवेदन दर्ता गराएको पाइएको छ । सोही निवेदनका आधारमा मालपोत कार्यालयले स्रेस्ता कायम गरिदिएको थियो ।

समाचार अनुसार यो कार्यमा मालपोत कार्यालयको भूमिका शंकास्पद पाइएको छ ।

कान्तिपुरले खाडीमा रहेका नेपाली कामदारले भोगेको पीडालाई आज प्रमुख समाचारका रुपमा प्रस्तुत गरेको छ ।

अवैध रुपमा खाडी मुलुकमा घरेलु कामदार लैजाने क्रम बढेपछि सरकारले सम्बन्धित मुलुकले कानून नबनाउँदासम्म र द्विपक्षीय श्रम सम्झौता नगर्दासम्मका लागि बन्द गरेको छ । सरकारको यस्तो कदमबाट घरेलु कामदारका रुपमा खाडी पुगेका नेपाली रोजगारी गुम्ने डरले घर फर्केका छैनन् ।

कान्तिपुरका अनुसार रोजगारी गुम्ने डरले खाडी मुलुकमा बसिरहेका नेपालीहरुले परिवारबाट अलग्याइएको भन्दै सरकारसमक्ष गुनासो गरेका छन् ।

तरकारी परीक्षणकाे ल्याब प्रयोगमा नआएकोदेखि नेकपामा जनताको जनवादमै सहमति भएकोसम्मका खबर कान्तिपुरको पहिलो पृष्ठमा छापिएका छन् ।

अन्नपूर्णले ‘छन् पर्याप्त प्रयोगशाला’ शीर्षक दिएर चर्चामा रहेको तरकारीको विषादी परीक्षणको अन्तरकुन्तर केलाउने प्रयास गरेको छ । अन्नपूर्णका अनुसार भारतबाट आयात गरिने तरकारीजन्य उत्पादनको विषादी परीक्षण प्रयोगशाला नभएको सरकारी पक्षले बताए पनि पर्याप्त प्रयोगशाला रहेका छन् ।

नयाँ पत्रिका दैनिकले त्रिभुवन विश्वविद्यालयको जग्गा दुरुपयोगबारे सोधीखोजी गरेको छ । नयाँ पत्रिकाका अनुसार कीर्तिपुरस्थित त्रिविको नौ सय रोपनी जग्गामा २० संस्थाले रजाइँ गरेका छन् । जग्गा दुरुपयोग गर्नेमा प्रहरीदेखि राधास्वामी सत्संगसम्म छन् ।

नागरिकले तरकारीको विषादी परीक्षण, कांग्रेसभित्रको किचलोलगायत विषयलाई प्राथमिकतापूर्वक समेटेको छ भने गोरखापत्रले अविवाहित छोरीले जन्माएको बच्चा माइतीकै हुने हुम्लाको अनौठो चलनबारे एंकर बनाएको छ । समाचार अनुसार स्थानीय तहमा ठिमाहा भनिने यो चलनले धनी परिवारलाई सकस नपरे पनि गरिब परिवारलाई बोझिलो बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment