Comments Add Comment

एनआरएन बेलायतको अध्यक्षमा पुनम गरुङको उम्मेदवारी

२३ असार,लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) बेलायतको अध्यक्षमा पुनम गुरुङले उम्मेदवारी घोषणा गरेकी छन् । एनआरएन बेलायतको उपाध्यक्ष रहेकी गुरुङले गैरआवासीय नेपालीहरुको बाक्लो उपस्थितिमा अल्डरसटस्थित एम्पायर हलबाट उम्मेदवारी घोषणा गरेकी हुन् ।

एनआरएन बेलायतको अध्यक्षमा महिलाको दाबेदारी पेश भएको यो पहिलोपटक हो ।

बेलायतस्थित विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा उम्मेदवार घोषणा गरेकी गुरुङलाई कांग्रेसबाहेकका दलको समर्थन रहेको बताइएको छ । उनको उम्मेदवारी घोषणासभामा ती संस्थाका अध्यक्षहरुले उनको उम्मेदवारीमा समर्थन जनाएका थिए ।

गुरुङको तर्फबाट चुनावी प्रतिबद्धतापत्र समेत सोही घोषणासभामा सार्वजनिक गरिएको थियो । आफ्नो प्रतिबद्धतापत्रमा उनले बेलायतको जनगणनामा नेपालीको पहिचान स्थापित गर्ने जनाएकी छन् ।

बेलायतको सरकारी काजगजातहरुमा नेपाली सम्प्रदाय (इथ्निसिटी) लाई समावेश नगरिँदा जनगणनमा नेपालीको जनसंख्या थोरै देखिएको आफ्नो प्राथमिकता जनगणनामा नेपाली सम्प्रदायको सहभागिता सुनिश्चित गराउने गुरुङले बताइन् ।

उनले आफ्नो कार्यकालमा एनआरएन बेलायतको आफ्नै भवन निर्माण गर्ने र नेपाली भाषा,साहित्य र कला संस्कृतिको प्रबद्र्धन गरिने प्रतिवद्धता समेत जनाएकी छन् । गोरखा सैनिक परिवारकी सदस्य गुरुङले त्रिपक्षीय सन्धि परिवर्तन गर्ने प्रधानमन्त्री केपी ओलीको प्रस्ताव स्वागतयोग्य रहेको बताइन् ।

एनआरएनए यूकेको नयाँ कार्य समितिको निर्वाचनका लागि २ महिना बाँकी रहँदै गुरुङ चुनावी अभियानमा उत्रिएपछि अन्य दाबेदार पनि दबावमा परेका छन् ।

एनआरएन युकेको अध्यक्षका लागि अर्का उपाध्यक्ष शेर सुनारले पनि दाबी गरेका छन् । सुनारले उम्मेदवारी घोषणा भने गरिसकेका छैनन् । उनी नेपाली कांग्रेसको समर्थनमा अध्यक्षको उम्मेदवार बन्न लागेका हुन् । अर्का उपाध्यक्ष प्रेम गाहा मगरले पनि अध्यक्षको उम्मेदवारमा दाबी गरेका छन् ।

एनआरएन युकेको नेतृत्वमा पहिलोपटक महिलाको बलियो दाबेदारी पेश भएपछि यहाँ चुनावी चर्चा चुलिएको छ । नेपाली समुदायका अगुवाहरु पनि अब चुनाव चलखेलमा सामेल हुन थालेका छन् । गुरुङले एनआरएन सदस्यता अभियान र चुनाव प्रचार सँगै अघि बढाएकी छन् ।

शेर सुनारको पनि चुनावी अभियान चाँडै शुरु हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment