Comments Add Comment

चार महिनामा साग गर्ने चुनौती स्वीकार गरेँ : सदस्य सचिव सिलवाल

२३ असार, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त सदस्य सचिव रमेश सिलवालले तोकिएकै समयमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) गर्ने चुनौती स्वीकार गरेर आफू नेतृत्वमा आएको बताएका छन् ।

तयारी नपुगेपछि सागको मिति तीन पटक सरिसकेको छ । चौथो पटक तोकिएको मिति आउन अब चार महिना मात्र बाँकी छ । त्यस्तो अवस्थामा राखेप सदस्य सचिव नियुक्त भएका सिलवालले चार महिनाभित्र साग गर्ने चुनौती स्वीकार गरेर आफूले जिम्मेवारी लिएको बताए ।

राखेप अध्यक्ष तथा युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले सोमबार सिलवाललाई राखेप सदस्य सचिव नियुक्त गरेका थिए । उनले सोमबार नै सपथ ग्रहण गरेका छन् ।

लगत्तै सञ्चारकर्मीहरुसँग कुरा गर्दै सिलवालले भने, ‘साग तीन पटक सर्‍यो । अब सर्नु हुँदैन ।’ सागका लागि चार महिना बाँकी रहेको र त्यसमध्ये दुई महिना वर्षायाम रहेको भन्दै उनले क्यालेन्डर बनाएर काम नगेर सम्भव नभएको बताए ।

तर यो चुनौती स्वीकार गरेर आफू राखेपमा आएको भन्दै उनले बोलेर भन्दा एक्सनबाट विश्वास दिलाउने बताए । आफू जागिर खान नभई खेलकुद क्षेत्रमा केही गर्न सकिन्छ कि भनेर आएको भन्दै उनले भने, जीवनको दुई तिहाई सम्मानजनक ढंगले शीर ठाडो राख्ने गरी काम गरेको छु । एक तिहाईमा अझै सम्मानित ढंगले जीउन चाहन्छु ।’

कुर्सी कहिले बाँकी अन्धो हुने भन्दै उनले कमजारी भएका बेला सच्याइदिन सञ्चारकर्मीहरुलाई आग्रह गरे । उनले हनिमुन पिरियडमै भित्र रिजल्ट निकाल्ने गरी स्वच्छ र पारदर्शी रुपमा काम गर्ने बताए ।

उनले भनेका छन्, ‘म जागिर खानको निम्ती राखेपको सदस्यसचिव बनेको होइन । प्रधानमन्त्री र मन्त्रीले मलाई खेलकुदमा केही गर्दै शिर अझ उच्च बनाएर बाँच्नको लागि अनुरोध गरेपछि आएको हुँ । खेलकुदको विकास गर्न म यहाँ आएको हुँ ।’

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले राखेपका नवनियुक्त सदस्य सचिव सिलवाललाई बधाई दिदै उनको नियुक्तिले खेलकुद क्षेत्रको विकास हुने आशा व्यक्त गरे । ‘उहाँले राम्रोसँग खेलकुदको विकास पुग्ने काम गर्नु हुनेछ । नेपाली खेलकुदको राम्रोसँग कार्यसम्पादन गर्नु हुनेछ मलाई विश्वास छ’ उनले भने ।

सपथ समारोहमा पुगेका राखेपका निवर्तमान सदस्यसचिव केशवकुमार विष्टले सबै कुराले सिलवाल योग्य भएको भन्दै खेलकुदलाई अझ माथि लान शुभकामना दिए ।

सपथ ग्रहणमा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिना तथा विभिन्न खेलकुद संघका पदाधिकारीहरु सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment