Comments Add Comment

जनकपुरधामका अस्पतालको कमाउ धन्दा, सामान्य प्रसूतिको बिल साढे ५ लाख !

विचौलिया प्रयोग गर्दै, बिरामीसँग चर्काे शुल्क असुल्दै

२४ असार, धनुषा । जनकपुरधाम उपमहानगरपालिका–१३ की ललिता साह प्रसूति गराउँदा जनकपुरधाम–६ स्थित आस्था हस्पिटल आइन् । असारको पहिलो साता यो अस्पताल भर्ना भएकी उनको सामान्य तरिकाले प्रसूति भयो । परिवारका सबै व्यक्ति खुशी भए । तर, एकैछिनमा सबैको होस उड्यो । कारण, अस्पतालले प्रसूति गराए वापत ५ लाख ६५ हजारको बिल थमाएको थियो । सामान्य प्रसूति गराउँदा पनि साढे पाँच लाखको बिल आएपछि हल्लाखल्ला मच्चियो । त्यसपछि अस्पतालले ३५ हजार लिएर साह र उनको परिवारलाई घर जान दियो ।

यही अस्पतालले ३ माघ २०७५ मा प्रसूति गराउन आएकी जनकपुर उपमहानगरपालिका– १९, जमुनियाकी रञ्जिता मण्डललाई शल्यकृया गरेर बच्चा निकाल्यो । शल्यकृया गर्नका लागि अस्पतालले २८ हजार पर्ने बताए पनि डिस्चार्ज हुने बेलामा प्रसूतिको ५३ हजार र बच्चाको ४० हजार गरी ९४ हजारको बिल हातमा थमाएको थियो ।

मण्डलको परिवारले यसबारे ध्यान दिएनन् । तर ललिता साहको परिवारले ९ असारमा जिल्ला प्रशासन कार्यालयमा उजुरी दियो । उजुरीपछि जिल्ला प्रशासन कार्यालयले अनुगमन गर्दै अस्पतालमा शिलबन्दी गरेको छ । आश्चर्यको कुरा त के भने जिल्ला प्रशासन कार्यालयको टोली अनुगमन गर्न जाँदा यो अस्पतालको ल्याबमा मदिराका बोतल फेला परेका थिए ।

बिरामीलाई ठग्ने यो अस्पतालमा शिलबन्दी गरियो । तर, यहीँका अन्य अस्पतालहरु सञ्चालकले मनोमानी शुल्क असुली गर्न छाडेका छैनन् ।

जनकपुरधामकै आराध्या हस्पिटलले पनि बिरामीलाई ठगी गर्दै आएको भेद खुलेको छ । महोत्तरीको लोहारपट्टी नगरपालिका निवासी जाबिर खान दुर्घटनामा परेपछि ७ असारमा यो अस्पतालमा भर्ना भए । खुट्टामा गम्भिर चोट लागेका उनलाई अस्पतालले ६ वटा टाँका लगाएर १५ दिन अस्पतालमा राख्यो । र, डिस्चार्ज गर्ने बेला २२ असारमा १ लाख २१ हजार रुपैयाँको बिल थमायो ।

जनकपुरधाममा तीन दर्जन जति निजी अस्पताल र नर्सिङ्ग होम सञ्चालनमा छन् । यसमध्ये अधिकांसले आ–आफ्नो अस्पतालमा बिरामी ल्याउन दलालहरु परिचालन गरेका छन् । खासगरी जनकपुर अञ्चल अस्पतालमा दलालहरु सकृय भएपछि प्रहरीले यसतर्फ पनि निगरानी बढाएको छ । सरकारी अस्पताल आसपास निजी क्षेत्रका क्लिनिक र अस्पतालहरुले आफ्ना दलालहरु खटाउने गरेको पाइएपछि प्रहरीले २० जेठमा २ जनालाई पक्राउ गरी मुद्दा चलाइसकेको छ ।

सरकारी अस्पतालमा उपचार गराउन आउने बिरामीलाई बिभिन्न मानसिक दवाव दिएर निजीतर्फ लग्ने दलालहरु सिराहाको सिराहा नगरपालिका ११ घर भई जनकपुर बस्ने २५ वर्षीय सन्जय कामती र जनकपुर १० बस्ने ३५ वर्षीय मनोज यादवलाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको छ ।

यी दुवैले जनकपुर अञ्चल अस्पताल क्षेत्रमा उपचारका लागि आउने बिरामीहरु तथा बिरामीका आफन्तहरुलाई बीच बाटोमै छेकी जोर जबरजस्ती अन्यन्त्र क्लिनिकमा उपचारार्थ लग्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

सिडिओ भन्छन्– भूमिका नभए पनि खटिरहेका छौं

जनकपुरधाममा निजी क्षेत्रका अस्पतालहरुले उपचार गर्ने नाममा व्यापक ठगीरहेको गुनासो आफूले पनि सुनेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेल बताउँछन् । स्वास्थ्य क्षेत्र हेर्ने प्रशासनको कुनै भूमिका नभए पनि आफू ठगी रोक्नका निम्ति लागिपरेको उनले बताए ।

स्वास्थ्य ऐन २०७५ ले जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहलाई तथा उपभोक्ता संरक्षण ऐन २०७५ ले स्थानीय तह र प्रदेशलाई यस्ता कामहरु हेर्ने अधिकार दिएको छ ।

‘यी ऐनहरुमा कहिँकतै प्रमुख जिल्ला अधिकारीको भूमिका नदेखाइए पनि सरकारीबाट तानेर निजीमा लग्ने विचौलियालाई पक्राउ गर्न लगाई मुद्दा चलाउन लगाएको, जनकपुर अञ्चल अस्पताल अगाडि नालामा फ्याँकिएका सिरिञ्जहरु सफा पार्न लगाई नष्ट गराउनेजस्ता काम गराइएको छ,’ उनले भने ।

बताउँदै कणेलले आफ्नो भूमिका नभएपनि बारम्बार अनुगमन गराउने काममा लागिपरेको बताए ।

औषधि पसलमा पनि ठगी

जनकपुरधामका औषधि पसलहरु पनि मापदण्ड पूरा नगरी सञ्चालनमा रहेको पाइएको छ । औषधि पसलको अनुगमन गर्न ४ असारमा जिल्ला स्वास्थ्य कार्यालयबाट खटिएको टोलीलाई देखेपछि औषधि पसलेहरुको भागाभाग नै भएको थियो ।

औषधि पसल सञ्चालनको अनुमति लिएर पनि बिल नदिने, बिलमा ब्याच नम्बर तथा अन्तिम मिति उल्लेख नगर्ने गरेको पाइएको अनुगमनका क्रममा फेला परेको थियो । त्यस क्रममा अनुगमन टोलीले ११ औषधि पसलमा सिल गरेको थियो ।

त्यस बेला अनुगमन टोलीले प्रकृया पुर्‍याउन निर्देशन दिँदै अन्नपूर्ण मेडिकल हल, राम मेडिकल हल, आरुषी मेडिकल हल, आमना क्लिनिक, आभाष मेडिकल हल, महेन्द्र मेडिकल हल, निलु फार्मेसी, मिरा औषधी केन्द्र, ओम जानकी मेडिकल हल, साह फर्मा र फर्मालिंकमा २० दिनका लागि सिलबन्दी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment