Comments Add Comment

राष्ट्रसंघमा नेपाली नियोगले गर्‍यो जलवायु परिवर्तनबारे अन्तरक्रिया 

२५ असार , न्युयोर्क । राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले जलवायु परिवर्तनका कारण हिमालमा पर्ने असरका बारेमा अमेरिकाको न्यूयोर्कमा एक छलफल कार्यक्रमको आयोजना गरेको छ ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) सँगको सहकार्यमा  आयोजित  कार्यक्रममा इसिमोडले हालै सार्वजनिक गरेको हिन्दूकुश हिमालयमा जलवायु परिवर्तनका असरसम्बन्धी प्रतिवेदनमाथि छलफल गरिएको थियो । साथै हिमाली भेगको समावेशी विकासमा गर्ने सकिने कामका बारेमा प्रतिवेदनले औँल्याएका मुद्दाहरूमा पनि छलफल भएको नियोगले जनाएको छ ।

राष्ट्रसंघको उच्चस्तरीय राजनीतिक फोरम २०१९ को साइडलाइन्समा आयोजित कार्यक्रममा नेपाली राजदूत अमृतबहादुर राईले सहाभागीहरूलाई स्वागत गरेका थिए । राजदूत राईले दुई महिनापछि राष्ट्रसंघका महासचिव आन्टोनियो गुटेरेसले आयोजना गर्न लागेका जलवायू परिवर्तनसम्बन्धी सम्मेलनलाई कार्यक्रमले सहयोग गर्ने विश्वास व्यक्त गरे ।

उच्च स्तरिय राजनीतिक फोरम २०१९ मा नेपाली डेलिगेसनको नेतृत्व गरिरहेका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले नेपाल जस्ता जोखिममा रहेका देशहरूले जलवायु परिवर्तनको असर असमानूपातिक रूपमा भोग्नु परेका बताए । नेपाल सरकारले जलवायु परिवर्तन बारे छलफल गर्न सगरमाथा इाइलग नामक फोरमको सुरुवात गर्न लागेको पनि उनले बताए ।

कार्यक्रममा इसिमोडका कार्यकारी निर्दैशक डेभिड मोल्डेनले केन्द्रले हालै सार्वजनिक गरेको अध्ययनको संक्षिप्त प्रस्तुति दिएका थिए । उनले विश्व तापक्रम वृद्धिलाई सन् २१०० सम्म १.५ डिग्री सेल्सिसयमा सीमित गर्न सकियो भने पनि हिमाली क्षेत्रमा तापक्रम २.२ डिग्रीले बढ्ने बताए । जलवायु परिवर्तनबारे ठोस कदम नचालिने हो भने हिमालमा आएको परिवर्तनले १.६ अर्ब मानिस जोखिममा पर्ने उनको तर्क थियो ।

कार्यक्रममा अस्ट्रिया, कीर्गिस्तान, बङ्गलादेश र भूटान लगायत देशका प्रतिनिधिहरुको उपस्थिति थियो । कार्यक्रममा आफ्नो समापन मनतव्य राख्दै महासचिव गुटेरेसका विशेष प्रतिनिधि लुइस अलफोन्सो दी आल्बाले राष्ट्रसंघले सेप्टम्बरमा आयोजना गर्न गइरहेको सम्मेलनलाई कार्यक्रमले सहयोग गर्ने बताए र आयोजकहरूलाई धन्यवाद ज्ञापन गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment