+
+
Shares

१ सय ६१ उद्योगले लिए ४२ करोड निर्यात अनुदान

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २५ गते १७:३८

२५ असार, काठमाडौं । स्वदेशी वस्तु उत्पादन गरी विदेश निर्यात गरे वापत चालू आर्थिक वर्षको अन्त्यसम्म १६१ उद्योगलाई सरकारले ४२ करोडभन्दा बढी अनुदान बाँडेको छ । अघिल्लो आर्थिक वर्षमा ३० करोड रुपैयाँ यस्तो अनुदानका लागि खर्च भएको थियो ।

निर्यात अनुदानका लागि चालू आर्थिक वर्षमा छुट्याइएको ७० करोड ३६ लाख २७ हजार रुपैयाँ मध्ये ४२ करोड ८६ लाख वितरण भईसकेको उद्योग विभागले जनाएको छ । यस वर्ष सबैभन्दा धेरै निर्यात अनुदान त्रिवेणी स्पीनिङ मिलले प्राप्त गरेको छ ।

उद्योग विभागका अनुसार आर्थिक वर्षको मध्यसम्म करिब २३ करोड रुपैयाँ व्यवसायीले प्राप्त गरिसकेका थिए । गत पुष ४ मा विभागले राष्ट्र बैंकलाई सिफारिस गरेको थप ३० करोडबाट असार ११ गतेसम्म २१ करोड ६ लाख रुपैयाँ वितरण भईसकेको उद्योग विभागका निर्देशक विनोदकुमार खड्काले जानकारी दिए ।

राष्ट्र बैंकसँग हाल उक्त शिर्षकको रकम ८ लाख ८६ हजार बाँकी छ भने निर्यात अनुदान प्रदान गर्न थप १० करोड ७३ लाख रुपैयाँ विभागले राष्ट्र बैंकलाई सिफारिस गरेको छ ।

निर्यात अनुदान सम्बन्धि कार्यविधि २०७५ अनुसार व्यवसायीले वस्तु निर्यात गरेबापत विदेशबाट पैसा प्राप्त भएपछि आफूले कारोबार गरेको बैंकमा सम्पर्क राख्नु पर्छ । प्रक्रिया पूरा भएका सबैले सोही बैंकमार्फत अनुदानको रकम प्राप्त गर्छन् । व्यवसायीलाई निर्यात अनुदान दिने बैंकहरुले राष्ट्र बैंकमार्फत रकम पाउने छन् ।

चालु आर्थिक वर्षको एघार महिनामा नेपालले ८७ अर्ब ४३ करोड रुपैयाँ बराबरको वस्तु तथा उत्पादन निर्यात गरेको थियो । त्रिवेणी स्पिनिङ मिल्सले यार्न, दि साँगि्रला कार्पेटले उनी गलैचाँ, काठमाडौं स्टार फेसनले तयारी पोशाक, एभरेष्ट पश्मिना निटिङ एण्ड वेभिङको ऊनी तथा पश्मिना नेपालबाट तेस्रो मुलुकमा निर्यात गरेका छन् ।

नेपालबाट भारतमा धेरै निकासी गर्ने कम्पनीमा डावर नेपाल पहिलो स्थानमा छ । यस्तै आरती स्ट्रीप्स, हुलास वायर इण्डस्ट्रीज पनि भारततर्फ निकासी गर्ने प्रमुख नेपाली उत्पादक हुन् । चीनतर्फ निकासी गर्ने प्रमुख कम्पनीमा न्यु हस्तकला एक्सपोर्ट र गणेश हिमाल इम्पोर्ट एण्ड एक्सपा कम्पनी रहेका छन् ।

शतप्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारित भई उत्पादन गर्नुपर्ने वस्तुहरु प्रशोधित चिया, प्रशोधित कफी, हस्तकला र काष्ठकलाका वस्तु, प्रशोधित छाला (क्रस्ट) र छालाजन्य उत्पादनहरू, हाते कागज तथा सोबाट उत्पादित सामान, प्रशोधित पत्थर तथा पत्थरजडित गरगहना, अल्लोबाट उत्पादित सामानहरू, मिनरल वाटर, बेसार, तरकारी, पुष्प, प्रशोधित मह, प्रशोधित अलैंची, प्रशोधित अदुवा -सुठो, स्लाइडिङ, तेल र पाउडरलगायत) र प्रशोधित जडीबुटी तथा सारयुक्त तेलमा पाँच प्रतिशत अनुदान पाईन्छ ।

स्वदेशमा उत्पादित कपडा, तयारी पोसाक, गलैंचा र ऊनीका सामान, च्याङ्ग्रा पस्मिना तथा सोबाट उत्पादित सामान, स्वदेशी प्रशोधित जुट तथा जुटका उत्पादन, सुनचाँदीका गरगहना, स्वदेशी अर्धप्रशोधित छाला, औषधि, फेल्ट (ऊनीजन्य)का वस्तु, पोलिस्टर तामाका सामान (हस्तकलाका सामान, पूजा आजाका सामान, सजावटका सामान तथा अन्य भाँडाकुँडा) मा पनि निर्यात अनुदान दिईन्छ । यसै वर्षबाट सरकारले नेपालमा उत्पादन हुने जुत्ता चप्पल निर्यातमा पनि अनुदान दिने व्यवस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?