Comments Add Comment

धनगढी बजार क्षेत्रमा डुबान

२६ असार, कैलाली । लगातारको वर्षापछि कैलालीका केही क्षेत्र डुबानमा परेका छन् । सदरमुकाम धनगढी बजार क्षेत्रका केही भागहरु डुबानमा परेका हुन् ।

पानीको उचित निकासका लागि ढलको व्यवस्था नहुँदा बजार क्षेत्र डुवानमा परेको हो । पानी पर्ने वित्तिकै वर्षेनी यो क्षेत्र डुबानमा पर्ने गरेको छ ।

निर्माणाधीन अत्तरिया-मोहना ६ लेन सडक निर्माणका कारण पनि केही भूभाग डुबानमा परेको छ ।

जिल्ला विपद व्यवस्थापन समितिका सम्पर्क व्यक्ति एवं कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले खोलाको जलस्तर सामान्य वृद्धि भए पनि खतरामुक्त रहेको बताए ।

नदीको अवस्थाका बारेमा बुझ्न विहानै विभिन्न नदी किनारका बस्तीहरुमा पुगेको बताउँदै सहायक प्रमुख जिल्ला अधिकारी जोशीले नदी किनारका बस्तीहरुलाई सचेत रहन आग्रह गरिएको बताए ।

ठूला नदीहरु कर्णाली, मोहना, पथरैया, गौरिगंगालगायतमा जलस्थर बढ्न सक्ने भन्दै ती नदी किनारका बस्तीहरुलाई सतर्क रहन आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताए ।

कर्णालीको जलस्तर बिहीबार विहानसम्म ६.५४ रहेको चिसापानीस्थित कर्णाली नदी मापन केन्द्रले जानकारी दिएको छ ।

पछिल्लो पटक कैलालीमा पूर्व सूचना प्रणाली लागू भएपछि मानवीय क्षतिमा भने कमि आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment