+
+
Shares

ट्वीटरमा नयाँ नियम, धर्ममा आधारित अमानवीय ट्वीटमा बन्देज

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २६ गते ११:५९

माइक्रोब्लगिङ साइट ट्वीटरले आफ्नो प्लाटफर्ममा घृणाजन्य सामग्रीहरुमा कमी ल्याउन नयाँ नियम लागू गरेको छ ।

ट्वीटरमा अमानवीय भाषाको प्रयोग गरी घृणित आचरण देखाउने तथा धर्मको आधारमा अन्य व्यक्तिमाथि अमानवीय टिप्पणी गर्नेहरुमाथि ट्वीटरले प्रतिबन्ध लगाएको हो ।

आफ्नो यो नयाँ नीति विरुद्धमा हुने पोष्टहरुमाथि प्रतिबन्ध लगाइने ट्वीटरले जनाएको छ ।

ट्वीटरले भनेको छ, ‘नयाँ लागू भएको नियम उल्लंघन गर्ने ट्वीटर प्रयोगकर्ताका ट्वीट हटाइनेछ । तथापि, त्यस्ता अकाउन्टहरु निलम्बन भने गरिनेछैन । यो नियम लागू हुनुभन्दा अगाडि गरिएका त्यस्ता ट्वीटको आधारमा सम्बन्धित ट्वीटर अकाउन्ट निलम्बन गरिने छैन ।’

गतवर्ष ट्वीटरले धर्मको आधारमा ट्वीटरमा प्रकट गरिने घृणित आचरणमाथि कसरी प्रतिबन्ध लगाउन सकिन्छ ? भन्ने विषयमा विभिन्न समुदायसँग राय मागेको थियो । दुई हप्ताभित्रमा ३० भन्दा धेरै देशका ८ हजारभन्दा धेरै व्यक्तिले ट्वीटरलाई विभिन्न खाले सल्लाह प्रदान गरेका थिए ।

ट्वीटरले भनेको छ, ‘भाषाहरुका अलावा मानिसहरुले अधिक जानकारी उपलब्ध गराएर प्रस्तावित परिवर्तनमा सुधार ल्याउन सकिने मत प्रकट गरेका थिए ।’ कतिपय मानिसहरुले ट्वीटरका नयाँ नियमहरुको निष्पक्ष रुपमा कार्यान्वयन गर्ने ट्वीटरको क्षमताबारे चिन्ता व्यक्त गरेका थिए ।

पछिल्लोपटक लागू गरिएको नयाँ नियम ट्वीटरको हिंसा, धम्की तथा दुर्व्यवहारलाई दुरुत्साहित गर्ने सामाग्रीमाथि बन्देज लगाउने विद्यमान नीतिकै विस्तारित रुप भएको बताइएको छ ।

एक ब्लग पोष्टमा ट्वीटरले आफ्नो नयाँ नियम उल्लंघन गर्ने केही ट्वीटको उदाहरणसमेत पेश गरेको छ ।

स्मरणरहोस् फेसबुक र युट्युबले यसअघि नै जाति, धर्म तथा समुदायप्रति लक्षित घृणाजन्य तथा अमानवीय सामाग्रीहरुमाथि बन्देज लगाउने नीति यसअघि नै लागू गरिसकेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?