Comments Add Comment

बलात्कृत आमाको पेटको ढुंगा !

२५ असार, काठमाडौं । अनलाइनखबरले यसअघि मानसिक सन्तुलन गुमेर सडकमा लावारिस बनेकी शान्ति सेनको जीवनकथा उतारेको थियो । मानसिक समस्यामा परेको मानिसलाई उचित स्याहारले ठीकठाक पार्न सक्छ भन्ने बलियो उदाहरण हुन्- शान्ति ।

यहाँ हामीले मानव सेवा आश्रममा शान्ति सेनले नै स्याहार गरिरहेकी अप्सरा (नाम परिवर्तन) कामीको व्यथा प्रस्तुत गरेका छौं ।

अप्सरालाई बुझन् काठमाडौं सामाखुशीको यो आश्रमबाट निस्किएर भित्री मधेस दाङ छिर्नुपर्छ । तुलसीपुरदेखि बौलाहाखोला वरिपरिको कथा हो यो ।

अप्सरा त्यही बौलाहाखोला वरिपरि यात्रा गर्ने अविरल यात्री थिइन् । उनकै भाषामा भन्दा उनको पेटमा ढुंगा नआएको भए अहिले पनि उनी त्यहीँको यात्रामा हुन्थिन् ।

              ००००

तुलसीपुरबाट पनि अलि भित्र शान्तिनगरमा जन्मिएकी अप्सराको त्यही गाउँपालिकाभित्र बिहे भयो । अहिले पनि उनका श्रीमान त्यहीँ छन्, सन्तान हुर्केर १६ वर्ष पुगिसकेको अवस्था छ ।

दश वर्षअघि नै अप्सरा त्यो घर छोडेर निस्किइन् । अधिकारकर्मी राधिका परियार भन्छिन्, ‘परिवारले सम्हाल्नै नसक्ने भएपछि अप्सरालाई घरपरिवारले वास्ता गर्न छोडिदिए ।’

अप्सराको जीवनमा त्यस्तो के आइपरेको थियो, जसले सिधै दिमागमा हिर्कायो र उनको समझ भत्काइदियो ?

अहिले पनि अप्सरा त्यो सम्झन सक्ने अवस्थामा छैनन् । तर, जब अप्सराबाट घर नचल्ने देखेपछि श्रीमानले अर्की भित्राए, त्यसपछि अप्सराको अलिकति बचेखुचेको समझ पनि गुम्यो । राधिकाको भनाइलाई मान्ने हो भने कुनै औषधीले पनि अप्सराको दिमागलाई छुन सकेन । त्यसपछि सडक नै उनको बन्यो ।

कर्मआमा रमा पाैडेलसँग गाैरव।

अप्सरा कसैको गोठमा सुत्थिन् । कहिले परालको टौवामा । कहिले घरको बरण्डामा । कहिले सडक छेउमा । उनको एउटा ड्यूटी थियो – विहानै उठ्ने अनि तुलसीपुरबाट बौलाहाखोलाको यात्रामा निस्कने । खुट्टामा चप्पल हुँदैनथ्यो । कसैले नयाँ कपडा दिए पनि च्यातचुत पारेर लगाउँथिन् । खाली खुट्टै २४ किलोमिटरको दुरी निरुद्देश्य पार गरेर साँझ फेरि तुलसीपुर नै आइपुग्थिन् ।

यसरी नै अप्सराको सडकमै चार वर्ष बितिसकेको थियो । उनको अवस्था झन् झन् नाजुक बन्दै थियो । माटो केपर्न थालेकी थिइन् । मुख र पेटलाई सडे-गलेका खानेकुराले पनि कुनै फरक पार्दैनथ्यो । बरु मान्छेहरुलाई भन्थिन्, ‘मेरो पेटमा ढुंगा छ, यसलाई फाल्दिहाल त ।’

त्यहीबेला राधिका नभेटिएकी भए, अप्सराको हालत के हुन्थ्यो होला ? सम्झँदा पनि आङ जिरिङ्ग हुन्छ ।

राधिका बजारमा हिँडिरहेकी थिइन्, त्यहीबेला सडककी अप्सरा उनीसँग ठोक्किइन् । राधिकालाई भेट्नासाथ अप्सराले उही वाक्य दोहोर्‍याइन्, ‘मेरो पेटमा ढुंगा छ, निकाल्दिहाल् ।’

राधिकाको दिमाग रन्थनियो । यो कस्तोखालको ढुंगा होला ? राधिकाको रन्थनिएको दिमागले अप्सरालाई अस्पतालसम्म पुर्‍यायो । अस्पतालले भन्यो, ‘पेटमा ढुंगा होइन, पाँच महिनादेखि भ्रुण हुर्किइरहेको छ ।’

त्यसपछि उघ्रियो समाजको एउटा कुरुप मुकुट । सडकलाई नै घर मान्ने मनोरोगीहरु पनि असुरक्षित यो समाजमा । अप्सरा कतिपटक बलात्कृत भइन्, कोबाट बलात्कृत भइन् र कति कष्ट बेहोरिन् ? यसको कुनै हिसाब-किताब छैन उनीसँग ।

त्यसपछि नै हो, राधिकाले अप्सरालाई मानव सेवा आश्रमसम्म ल्याइपुर्‍याएको ।

आश्रमको गेटभित्र अप्सरा प्रवेश गरेको केही दिन मात्रै भएको थियो । एकाएक २० वैशाख, ०७३ का दिन अप्सरा गायव भइन् । आश्रमका सुमन गर्तौला सम्झन्छन्, ‘एक हप्तापछि भेट्दा उनको शरीरमा कुनै कपडा थिएनन् ।’

सोही साल १ जेठमा बेखबर बाको एउटा छोराले धर्ती टेक्यो ।

००००

छोराको माया लाग्छ ?

अप्सरा : लाग्छ ।

छोराको नाम के हो ?

अप्सरा : गौरव ।

अप्सरा त्यति धेरै बोल्दिनन् । मानसिकरुपमा अझै तंग्रिएकी छैनन् । तर, आफ्नो नाम बताउन सक्छिन् । सायद आफ्नै छोरालाई पनि चिन्दिनन् । यो किनभने अरुको बच्चा देख्यो कि मेरो छोरा भन्दै समाउन पुग्छिन् । गौरव आफ्नी आमाको काखमा अडिँदै अडिँदैनन् । अप्सराले समाउन खोज्यो कि चिच्याइहाल्छन् । अप्सराको दिमाग छोराप्रति प्रेम दर्शाउन असमर्थ छ । तथापि उनले सहेको प्रशव पीडालाई उनको मुटुले त पक्कै सम्झिरहन्छ ।

गौरवले पाँच महिनासम्म अप्सराकै दूध चुसेका हुन् । आश्रमले नै अप्सरा र गौरवको स्याहार गर्थ्यो । आश्रमकी अभिभावक रमा पौडेल अर्याल अप्सराको गर्भावस्थादेखि नै स्याहारमा खटिएकी थिइन् । तर, एक दिन छोरालाई दूध चुसाएपछि अप्सराले दिशा खाइरहेको देखिन् । त्यसपछि गौरवको कर्मआमा आफैं बनिन् – रमा ।

अहिले गौरवलाई बानेश्वरको आफ्नै घरमा राखेकी छिन् रमाले । आमाले जत्तिकै माया दिएकी छिन् । तीन वर्षीय गौरव नर्सरीमा पढ्न जान थालेका छन् । गौरवले अब आमा-बाबाको अर्थ बुझ्न थालेका छन् । उनले पढ्ने पाठ्यक्रममा लेखिएको हुन्छ- ‘बाबा आमा महान् हुन् ।’

यतिबेला गौरवको दिमागमा आफ्नो ‘बा’ बारे कस्तो चित्र बन्ला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment