Comments Add Comment

नेपाली क्रिकेटमा आशलाग्दा ओपनर

२७ असार, काठमाडौं । युवा क्रिकेटर ऋत गौतमलाई उनको लक्ष्यबारे प्रश्न गर्दा नहिचकिचाई भन्छन्, ‘नेपालबाट विश्वकप खेल्नुछ । टेस्ट राष्ट्रका रुपमा नेपाललाई चिनाउनुछ ।’

उनको आत्मविश्वासी अठोट सुनिरहनेले देख्छन्, उनी कति विश्वस्त भएर बोलेका छन् । बोलीमा मात्रै होइन, ऋतले क्रिकेटमा गरिरहेको मेहनतले पनि उनको विश्वास यथार्थ बन्ने आश नेपाली क्रिकेट समर्थकले गर्न सक्छन् ।

मलेसियामा सम्पन्न यू–१९ एसिया कपको पूर्वी क्षेत्रीय छनोट प्रतियोगिता जितेर एसिया कपमा स्थान बनाएको नेपाली टिमका ओपनिङ ब्याट्सम्यान हुन् ऋत गौतम । नेपालले एकल दबदबा बनाएको प्रतियोगितामा ऋतको एक शतकले चर्चा कमायो । त्यो भन्दा बढी ओपनिङ ब्याटिङमा नयाँ आश देखियो ।

प्रतियोगिताको पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले हरायो । ५४ रनको लक्ष्य पछ्याउँदा ओपनिङमा गएका ऋत र पवन सर्राफले राम्रो साझेदारी गरे ।

दोस्रो खेलमा सिंगापुरलाई २१७ रनले हराउँदा ऋतले १३७ बलमा अविजित ११५ रन बनाए । जसमा उनले १० चौका र १ छक्का पनि लगाए । यही इनिङले नै ऋतमा नेपाली क्रिकेटको भविश्य देखिएको थियो । यसले उनको ब्याट नचलेको अरु खेललाई पनि छायामा पारिदियो । सिंगापुरविरुद्ध मात्रै नेपालले पहिले ब्याटिङ गरेको थियो, जसले लामो इनिङ खेल्न ओपनर ऋतलाई मौका मिल्यो ।

सेमिफाइनल खेलमा मलेसियालाई ७ विकेटले हराउँदा ऋतले १४ बलमा ३ रन मात्रै बनाए । फाइनलमा पनि हङकङविरुद्ध उनले १४ बलमा १३ रन मात्रै बनाउन सके । भन्छन्, ‘जब जितिहालिन्छ नि भन्ने सोच आउँछ, तब खेल भने जस्तो नहुनेरहेछ । यो पटक सिकेको पाठ नै त्यही हो, खेललाई सहज रुपमा लिनु हुँदैन ।’

नेपाली टिमको तुलनामा केही कमजोर मानिएका विपक्षसामू नेपालले देखाएको खेल तारिफयोग्य हुँदाहुँदै पनि कतिपय समय हेलचेक्र्याईं गरेको हो कि भन्ने पनि देखिन्थ्यो ।

ऋत आफैं पनि सेमिफाइनलमा आफूले देखाएको खेल निकै नराम्रो भएको स्वीकार्छन् । ‘लक्ष्य कम भएका बेला जितिहालिन्छ नि भन्ने हुँदोरहेछ’ उनले सुनाए, ‘बाहिरबाट जसरी खेल्न भनेर आएको हुन्छु त्यहीअनुसार खेल्दा आउट भए पनि नराम्रो लाग्दैन तर, सेमिफाइनलमा मैले खेल्न नहुने सट खेलेरै आउट भएको हुँ ।’

सिंगापुरलाई ११५ रन हानेपछि मलेसियाविरुद्ध सेमिफाइनलमा ऋतलाई लागेको थियो, ‘म ११५ रन बाटै सुरु गर्दै छु ।’ त्यही गलत सोचले नै उनी खराब सट खेल्न पुगे र आउट भए । उनी भन्छन्, ‘ओभरकन्फिडेन्स’ भएँ कि जस्तो लाग्छ ।’

आउट हुनेवित्तिकै उनले बुझिहाले, ‘त्यसरी सोच्नु हुँदैन थियो, हरेक खेलमा सुरुवात शून्यबाट हुन्छ । एक खेलमा राम्रो भयो भन्दैमा म आउट नै हुन्न भन्ने सोच्नु ठूलो गल्ती हो ।’

सिकाइका यही कुराले पनि ऋत क्रिकेटमा कति ‘सिरियस’ भएर लागिरहेका छन् भन्ने थाहा हुन्छ । एकपटकको गल्ती अर्को पटक दोहो¥याउनुहुँदैन भन्ने उनले बुझेका छन् । अझ कतिपय यस्ता खेल आइपर्छन्, जहाँ एक गल्ती गर्ने छुटसम्म हुने छैन ।

आउँदो अगस्ट १८ तारिखदेखि श्रीलंकामा हुने यू–१९ एसिया कप नेपालले गल्ती गर्ने छुट नपाउने त्यस्तै प्रतियोगिता हो, जहाँ ऋतको सच्चा परीक्षा हुने छ । एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश जस्ता देशसँगै अफगानिस्तान, युएई र कुवेत हुनेछन् । मलेसियामा लामो इनिङ खेल्न सक्छन् भन्ने छाप पारेका ऋतले त्यही सोचको निरन्तरता श्रीलंकामा पनि गर्नुपर्ने छ ।

सम्झनामा दुई शतक

पहिलो पटक २०१७ मा यू–१६ राष्ट्रिय टिमबाटबाट थाइल्याण्डमा एसीसी इस्र्टन रिजन प्रतियोगिता खेल्न जाँदा नै ऋतले क्रिकेटमा भविश्य देखाएका हुन् । टिममा रहेको एकताले त्यो बेलाको सम्झना धेरै राम्रो भएको ऋत सुनाउँछन् । त्यहीँबाट आफ्नो क्रिकेट यात्रा राम्ररी सुरु भएको उनलाई लाग्छ ।

त्यसबेला म्यानमारविरुद्ध ७८ बलमा अविजित १०६ रन बनाएका ऋतले आफू टिकेर खेल्न सक्ने प्रमाणित गरेका थिए । त्यो शतकदेखि अहिले यू–१९ मा सिंगापुरविरुद्ध ११५ रन बनाउँदासम्म ऋतको क्रिकेटमा परिवर्तन पनि आएको छ ।

‘पहिले बल हे¥यो अनि खेल्यो जस्तो मात्र भइरहेको थियो । अहिले त गेम सेन्स राम्रो भएको छ । अहिले ब्याटिङको टेक्निकल कुरा र प्रोफेसनल कुरा पनि बुझेको छु जस्तो लाग्छ’ उनले दुई शतकसम्मको फरक सुनाए, ‘मैले लामो इनिङ खेल्न नसकेको धेरै भइसकेको थियो । यो पटक त्यो कमी पूरा भयो जस्तो लाग्छ ।’

हुन त शतक बनाउने सोचेर मात्रै हुने कुरा होइन । ऋतले पनि हरेक बललाई ध्यान दिएर खेल्दै जाँदा शतक नजिक पुगिसकेपछि मात्रै थाहा पाएका थिए । आफू ९० रनमा पुग्दा बल्ल उनको आँखा स्कोर बोर्डमा परेको थियो । ‘शतक बनाउँदा गर्व लाग्छ, सकेसम्म लामो इनिङ खेलौँ भन्ने हुन्छ । एउटा इनिङ राम्रो भएर मात्रै त हुँदैन तर त्यसले सहयोग भने गर्छ नै’ उनले भने । ऋतको यही सोच र यु १९ टिममा देखाएको ब्याटिङले सिनियर टिमले पनि भविष्यमा राम्रो ओपनिङ ब्याट्सम्यान पाउने आश बढेको छ ।

विश्वकपमा नेपाल देखेपछि

अहिले परिवारसँगै काठमाडौं पेप्सीकोला बस्ने युवा क्रिकेटर ऋत पहिले ललितपुरको झम्सीखेलमा बस्थे । उनको गल्ली क्रिकेट झम्सीखेलमा नै हुर्किएको हो । फुर्सदमा बिहानदेखि बेलुकासम्म नै टेनिस बलको क्रिकेट सडकमै चल्थ्यो ।

अहिले १२ कक्षा सकेका ऋतको क्रिकेट आठ कक्षा पढ्न थाल्दा बल्ल सुरु भएको थियो । त्यो अघि फुटबल खेल्न रमाइलो लाग्थ्यो । क्रिकेट सुरु भइसक्दा पनि फुटबल निरन्तर अभ्यास गरिरहेको हुन्थे तर विस्तारै मन क्रिकेटतिर मोडियो ।

सुरुमा ब्याट र बल भेट्टाउँदा प्रायको इच्छा ब्याटिङमै भए पनि ऋत भने बलर थिए । कसरी मिडियम प्रेसर बलर बनेँ भन्ने ऋतलाई उति सम्झना छैन । अहिले त ब्याटिङमा यति एकाग्र छन् कि कुनैबेला बलर थिएँ भन्ने पनि उनले भुल्दै गएका छन् । अहिले पनि उनलाई कहिँलेकाहीँ बलिङ गरौं जस्तो लाग्छ । अझ कुनै ओभर नराम्रो भएको बेलामा ‘म भए गर्थें कि’ भन्ने पनि सोच्छन् तर उनलाई आफ्नो ब्याटिङको जिम्मेवारी थाहा छ र त्यसमा नै एकाग्र हुन्छन् ।

ऋतमा क्रिकेट लत बस्नुमा उनको परिवारको खेल मोहसँगै दुई घटना विशेष छन् । एक कीर्तिपुर मैदानमा अफगानिस्तानविरुद्ध हेरेको खेल, अर्को टी–२० विश्वकपमा नेपालले उपस्थिति ।

‘म १२ वर्षको हुँदा हो, नेपाल र अफगानिस्तानको खेल कीर्तिपुर मैदानमा हेर्न जाँदा एक दिन नेपालको लागि खेल्नेछु जस्तो लाग्यो । मैदानमा त्यतिका दर्शक देख्दा नै क्रिकेट राम्रो कुरारहेछ लाग्यो । क्रिकेटरले पाउने सम्मान पनि त्यहीँ देखेको थिएँ । त्यसपछि नै मेरो क्रिकेट सपना सुरु भयो’ ऋत भन्छन् ।

सिनियर टिमका खेलाडीहरु हेर्दै गर्दा ऋतमा पनि उनीहरु जस्तो बन्ने रहर पलाएको थियो । त्यसमा परिवारको साथ पाउँदै आएका उनले आफ्नो बाटो पनि बनाइरहेका छन् । ‘अहिले नै म सिनियर टिमका लागि योग्य छैन तर, मेहनत गर्दै त्यहाँ पुग्ने छु’ उनले भने ।

उनलाई लाग्छ, यू–१९ विश्वकप खेल्न पाएको भए अनुभवको कमी हट्ने थियो तर यो पटक त्यो सम्भव भएन । उनी भन्छन्, अब राष्ट्रिय टिमसम्म पुग्न केही समय लाग्छ नै ।’

अनि यू–१९ टिममा

ऋतले अहिले यू–१९ राष्ट्रिय टिमका प्रशिक्षक रहेका विनोद दाससँगै क्रिकेट सिक्ने मौका पाएका थिए । त्यसले ठूलो स्तरमा कसरी अगाडि बढ्नुपर्छ भन्ने उनले बुझ्न पाए ।

‘मेरो पहिलो प्रशिक्षक विनोद सर हो । कीर्तिपुरमा सिनियर खेलाडीहरुसँग समेत अभ्यास गर्न पाउँथे । त्यसले हरेक दिन नयाँ कुरा सिक्न पाएँ’ उनी भन्छन्, ‘२०१४ मा यू–१६ को क्लोज क्याम्पमा बिनोद सरले नै पठाउनुभएको थियो । त्यसपछि २०१५ मा यू–१९ ट्यालेन्ट हन्टमा थिएँ । त्यहाँबाट टिममा भने परिनँ । त्यसपछि फेरि यू–१६ क्याम्पमा परेँ र छानिएँ पनि ।’

यू–१६ मा छानिएपछि ऋत एभरेस्ट प्रिमियर लिगमा ललितपुर प्याट्रियोट्स टिममा पनि परे, जहाँ सिनियर खेलाडीसँगै रहेर उनले क्रिकेटका नयाँ आयामहरु बुझे ।

गएको अगस्टमा लखनउमा भएको भारतको दुई टिमसहित अफगानिस्तान र नेपालबीच भएको सिरिजमा ऋतले यू–१९ टिमबाट डेब्यू गरे । उनले अगाडि बढ्ने आफ्नो बाटो बनाए । तृत दाससँगै पाँच महिना अघि क्रिकेट अभ्यासको लागि भारत गएका ऋतले आफ्नो खेल निखार्ने नयाँ मौका त्यहीँ भेटेका हुन् । ‘त्यहाँ वीरेन्द्र सहवाग एकेडेमीमा धेरै खेल खेलियो । त्यसले मेरो खेल अझ राम्रो बन्यो’ उनी भन्छन्, ‘हामीले यहाँ सिकिरहेको क्रिकेट र भारतमा उति फरक त छैन । तर त्यहाँ धेरै खेल खेल्न पाइने हुँदा राम्रो हुँदै जान्छ ।’

यू– १९ विश्वकपमा नछानिँदा

गएको अप्रिलमा यू–१९ विश्वकपका लागि नेपाली टिम मलेसियामा नै प्रतिस्पर्धा गरिरहेको थियो, जहाँ कुवेत, मलेसिया, ओमन र सिंगापुरलाई हराएको नेपाल युएईसँगको खेलमा भने हार्न पुग्यो । पानी परेर डीएल मेथडका आधारमा एक रनले हार्न पुग्दा नेपाली टिम अभागी समेत देखियो ।

ऋत गौतम भन्छन्, ‘विश्वकपमा छनोट भएको भए अझ राम्रो लाग्ने थियो । एक महिनापछि एसिया कपका लागि जाँदा पनि विश्वकप छनोट हुन नसकेको समय याद भइरहेको थियो । त्यही मैदान, त्यहीँ ठाउँ नमज्जा नै हुने रहेछ ।’

अहिले एसिया कपको छनोट प्रतियोगिता जितेर आउँदा पनि दिमागमा एउटा बोझ भने रहिरहेको सुनाउँदै उनी भन्छन्, ‘विश्वकप भन्दा ठूलो त अरु केही छैन ।’ उनी अघि भन्छन्, ‘त्यो बेला पनि हामीले राम्रो गर्न सक्ने ठाउँ थियो । यूएईसँगको खेलमा धेरै कुराले साथ दिएन, हामीले जित्नुपर्ने खेल पानीका कारण गुमायौं भने पनि अलिकति बढी मेहनत आवश्यक थियो ।’

सानोसानो गल्तीबाट नयाँ कुरा सिक्दै अगाडि बढ्न सक्नुपर्ने उनलाई लाग्छ । हरेक खेलाडीले आफूले पाएको जिम्मेवारी निभाउने हो भने कसैको सामू कमजोर हुनु नपर्ने ऋतको बुझाइ छ । ओपनिङमा देखिएको आश पनि ऋतको त्यही विश्वासमा टिकेको छ ।

पवनसँगको तालमेल

ओपनिङमा पवन सर्राफसँग उनको राम्रो लय मिलेको छ । पवन र मेरो भूमिका फरक भएकाले पनि दुबैले आफ्नो शैलीमा खेल्न पाएको उनको ठम्याइ छ । ‘म स्ट्राइक रोटेटमा ध्यान दिन्छु, पवन दाइ रन रेट बढाउन ध्यान दिनुहुन्छ । त्यसैले राम्रो पार्टनसिप गर्न सकिरहेका छौं’ उनी भन्छन्, ‘खेलिरहँदा पनि अवस्थाअनुसार अब के गर्ने भन्ने निर्णय गर्छौं र त्यसै अनुसार खेल्छौँ । ’

तुलनात्मक रुपमा कमजोर टिम भएकाले अप्ठ्यारो नभएको तर, एसिया कप चुनौतीपूर्ण हुने उनले सुनाए ।

ऋतका अनुसार उनलाई स्पीन बलिङ खेल्न थोरै गाह्रो लाग्छ । अभ्यासदेखि म्याचसम्म मिडियम प्रेसरविरुद्ध खेल्ने भएर पनि स्पीन बलिङमा रन बनाउन अप्ठ्यारो भएको हुनसक्छ ।

खास गरी लेग स्पिन अलि बढी अप्ठ्यारो मान्ने उनी त्यसलाई सहज बनाउन अभ्यासरत छन् । ‘सबै खाले बलका लागि अभ्यासमा ध्यान दिइरहेको छु तर, कहिलेकाहीँ बल आउनुअघि नै यस्तो सट हान्छु भन्ने सोच आएको बेला आउट हुने सम्भावना बढ्नेरहेछ’ उनले भने, ‘आउट भएपछि मैले त्यस्तो गर्न नहुने भन्ने लाग्छ । खेलिरहँदा र अरु कुरा याद नै हुँदैन ।’

२०१८ को यू–१९ एसिया कपमा भारतलाई हराएपछि पनि नेपाली टिममा विश्वास बढेको पनि छ ।

ऋत सुनाउँछन्, खेलाडी सबैलाई आफ्नो जिम्मेवारी राम्रोसँग थाहा पनि छ । रोहित दाइको कप्तानी पनि राम्रो भइरहेको छ । यसैले हामीले राम्रो नै गर्छौं । विपक्षीलाई हेर्ने भन्दा बढी आफ्नो खेलमा ध्यान दिनु राम्रो हुन्छ जस्तो लाग्छ ।’

अन्त्यमा,

उमेर समूहमा राम्रो खेल प्रदर्शन गरेका थुप्रै खेलाडी सिनियर टिममा पुग्ने बेलासम्म कमजोर भइसकेका हुन्छन् ।

यो ऋतले पनि बुझेका छन् । त्यसैले धेरै कुरामा ध्यान नदिई उनले हरेक कुरा क्रिकेटका लागि गर्ने गरेका छन् ।

यू–१६ को बेला आफूबारे आएका समाचार खोजीखोजी हेर्ने ऋत अहिले भने सामाजिक सञ्जाल या सञ्चार माध्यममा उतिधेरै ध्यान दिँदैनन् । क्रिकेटबाहेक मनपर्ने अरु केही छैन, विकल्पमा कुनै लक्ष्य पनि छैन, क्रिकेट नै सबथोक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment