+
+
Shares

पर्सामा चालुतर्फ ९४ र पुँजीगततर्फ ६१ प्रतिशत बजेट खर्च

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २७ गते १६:३०

२७ असार, वीरगञ्ज । पर्सामा बजेट खर्च गर्ने परम्परामा खासै परिवर्तन आउन सकेको छैन् । विकास निर्माणका काम आर्थिक वर्षको अन्त्यतिर आएर हतारहतारमा गर्ने परिपाटीले यसवर्ष पनि निरन्तरता पाएको छ ।

कोष तथा लेखा नियन्त्रकको कार्यालय पर्साको तथ्याङ अनुसार पर्सामा विगतमा जस्तै जेठ र असारमा धेरै बजेट निकासा भएको छ । असारको अन्तिम दुई साता कोलेनिकाका कर्मचारीहरुलाई रकम भुक्तानीका लागि भ्याइनभ्याइ भएको छ ।

प्रमुख कोष तथा लेखा नियन्त्रक लक्ष्मीप्रसाद पौडेल प्रमुखको कार्यकक्षमाथि भए पनि काम गर्न सहज होस भनेर तल्लो तलामै आएर बसेको बताउँछन् । ‘अब त भुक्तानी लिन आउनेको चाप लगभग सकियो, छुटपुट भुक्तानी लिन आउनेहरु आउन बाँकी छ,’ उनले भने, ‘कतिपयले चेक तयार भईसकेको भएपनि लिएर गएका छैनन् ।’

कार्यालयले दिएको तथ्याङकअनुसार असार २६ गतेसम्म पर्सा जिल्लामा आएको बजेट मध्येबाट चालुतर्फ ९४ प्रतिशत र पुँजीगततर्फ ६१ प्रतिशत खर्च भइसकेको छ ।

पर्सा जिल्लामा रहेका ६४ वटा कार्यालयलाई आर्थिक वर्ष २०७५/७६ का लागि चालुतर्फ ७ अर्ब १३ करोड ४३ लाख ५१ हजार ७ सय ८ रुपैयाँ २६ पैसा र पुँजीगततर्फ ५ अर्ब ९६ करोड ६८ लाख ५९ हजार बजेट आएको थियो ।

असार २६ गते अपरान्ह ४ बजेसम्म चालुतर्फ ६ अर्ब ७२ करोड १८ लाख ८८ हजार ७ सय ६६ रुपैयाँ २८ पैसा अर्थात ९८.२२ प्रतिशत खर्च भएको छ भने पुँजीगततर्फ ३ अर्ब ६७ करोड ३९ लाख ७ हजार ४ सय २१ रुपैयाँ ७० पैसा अर्थात ६१.५७ प्रतिशत खर्च भएको छ ।

वर्षभरी काम भए पनि भुक्तानी असारमा नै हुने गरेकोले पनि बढी खर्च असारमा भएको जस्तो देखिने कार्यालयका प्रमुखहरु बताउँछन् ।

असार महिनामा मात्रै चालु खर्चमा १४ प्रतिशत र पूँजीगत खर्चमा १७ प्रतिशतले वृद्धि भएको कार्यालयको तथ्याङ्कले देखाएको छ ।

जेठ मसान्तसम्म पर्सामा चालुतर्फ ५ खर्ब ७४ करोड ८० लाख ६० हजार ४० रुपैयाँ ८० पैसा र पुँजीगततर्फ २ अर्ब ५८ करोड ४६ लाख ९६ हजार ७ सय ५५ रुपैयाँ २६ पैसा खर्च भएको थियो ।

असार महिनाको २६ दिनमा मात्रै चालुतर्फ ९७ करोड ३८ लाख २८ हजार ७ सय २५ रुपैयाँ ४८ पैसा र पुँजीगत तर्फ १ अर्ब ८ करोड ९२ लाख १० हजार ६ सय ६६ रुपैयाँ ४४ पैसा खर्च भएको कोलेनिका पर्साको तथ्याङ्ले देखाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?