Comments Add Comment

वर्षाले १३ ठाउँमा राजमार्ग अबरुद्ध (सूची)

२७ असार, काठमाडौं । बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण मुलुकका विभिन्न क्षेत्रका राजमार्ग अबरुद्ध बनेका छन् । सडकमा पहिरो खसेका कारण राजमार्ग अबरुद्ध बनेको हो ।

प्रहरी प्रधान कार्यालय, नक्सालका अनुसार काभ्रेमा बीपी राजमार्गमा सवारी चल्न सकेका छैनन् भने पूर्वपश्चिम राजमार्ग अन्तरगत सर्लाही खण्डमा बाटोमा पानी आएर साना गाडी नचल्ने अवस्थामा छन् ।

पूवपश्चिम राजमार्गकै सनुसरी रामधुनी-६ मा पनि सडक अबरुद्ध छ । धनकुटा पाख्रिवाट-७, उदयपुरको रौतामाई गाइघाट, खोटाङ हलेसी-चुवाचुङ सडकखण्ड पनि ठप्प रहेको जनाइएको छ ।

ओखलढुंगाको मनेमञ्ज्याङ-७, सिन्धुलीको गोलञ्चोर-५ र रामेछापको मन्थली-६ मा अबरुद्ध सडक खुलाउने प्रयास भइरहेको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ललितपुरको महाकाल-हेटौंडा राजमार्ग, कान्तिपथ र त्रिभुवन पथ पनि अबरुद्ध छ । लम्जुङ-मनाङ राजमार्गमा पनि सवारी चल्न सकेका छैनन् ।
मुलुकभर बाढी र वर्षाको क्षतिका विवरण आउन थालेपछि गृह मन्त्रालयले सुरक्षा साथ बस्न सर्वसाधारणलाई अपिल गरेको छ ।

गृहका अनुसार बाढी र वर्षा सम्बन्धी पूर्वसूचना सम्भावित क्षेत्रमा विहानदेखि नै एसएमएसमार्फत पठाइएको थियो ।

स्थानीय प्रशासन, सुरक्षा निकाय लगायतलाई सम्बन्धित क्षेत्रमा उच्च सतर्कताका साथ काम गर्न पनि गृहले निर्देशन दिएको छ ।

साथै, आपतकालीन उद्दारका लागि हेलिकोप्टर पनि तयारी अवस्थामा राखिएको छ । अविरल वर्षाका कारण अहिलेसम्म मुलुकभर ११ जनाको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment