Comments Add Comment

पोखरामा फेरि सडकमै पार्किङ ठेक्का दिने तयारी

२७ असार, पोखरा । केही महिनाअघि पोखरा नयाँ बजारमा साना तथा ठूलो कुनै पनि सवारी साधन पार्किङ गर्न नपाइने महानगरले घोषणा गरेको थियो । घोषणामात्रै नभएर उक्त क्षेत्रमा ‘पार्किङ निषेध छ’ लेखिएको बोर्ड नै टाँसेको थियो ।

केही दिन पार्किङ गर्न बन्द पनि भयो । तर महानगरले चासो नदिँदा पुरानै समस्या पुन दोहोरिएको छ । पार्किङ नगर्नु भनेर लेखिएको बोर्ड वरिपरि नै सवारीसाधन यत्रतत्र पार्किङ गरिएको दृश्य देख्न सकिन्छ ।

यो पनि पढ्नुहोस अस्तव्यस्त पोखराः पार्किङस्थलमै सुपरमार्केट, सडकमै ठेक्का !

शाखा सडक नै ढाकिने गरी अत्याधिक पार्किङ हुनेमा चिप्लेढुंगा, महेन्द्रपुल, पृथ्वीचोक, गैह्रापाटन लगायत क्षेत्र छन् ।महानगरका सूचना अधिकारी गंगालाल सुवेदी सवारी पार्किङलाई तत्काल व्यवस्थित गर्न कुनै पनि योजना नरहेको प्रष्ट्याए ।

‘शाखा बाटोमा पार्किङ नै गर्न नसक्ने भनेका छौं । तर महानगरले अहिले उचित योजना ल्याउन सकेको छैन,’ उनले भने, ‘शाखा बाटोमा पार्किङ गर्न नपाइने भए पनि त्यसलाई तत्काल कार्यान्वयन गर्न समस्या देखिएको छ ।’

नयाँ बजार क्षेत्रको पार्किङका लागि महानगले प्रदर्शनी केन्द्रअघिको खाली जग्गालाई रोजेको छ । सो क्षेत्र अपायक पर्ने सवारी चालकले गुनासो गर्दै आएका छन् ।

यो पनि पढ्नुहोस बसपार्कभरि आवादी, सडकभरि गाडी पार्किङ !

पार्किङका लागि छुट्टै ठाउँ नभएपछि पोखरा महानगरले २०५७ सालदेखि सडक नै ठेक्कामा दिँदै आएको छ । महानगरले पार्किङ समस्यालाई व्यवस्थित गर्न सार्वजनिक–निजी साझेदारी अवधारणा अनुरुप काम गर्ने नीति लिएको छ ।

महानगर क्षेत्रभित्र पार्किङका लागि खाली जग्गा उपलब्ध गराउन सूचनासमेत प्रकाशित गरिसकेको छ । साझेदारी गर्न सूचना प्रकाशन गर्दा पनि निजी क्षेत्रले चासो देखाएको छैन । अहिले सोही सूचना दोस्रोपटक जारी गर्न लागिएको पोखरा महानगर ट्राफिक व्यवस्थापन समिति प्रमुख सुरेन्द्र पौडेल बताउँछन् ।

‘सूचना पहिले पनि जारी गरेका थियौं । तर आवेदन परेन,’ पौडेलले भने, ‘यसपटक भने धेरैजनाले रुचि देखाउनु भएको छ । यसपटक आवेदन पर्छ कि भनेका छौं ।’ सडकको एक किनारमा पार्किङ गर्ने र त्यसबाट राजस्व उठाउने गरी महानगरले ठेक्का दिँदै आएको हो । तर, सडकमै पार्किङ गर्न पाउने सुविधासहित पटकपटक टेन्डर आह्वान गर्दा पनि आवेदन पर्न सकेको छैन ।

पोखरा महानगरले २ वर्ष पार्किङका लागि सडक ठेक्का दिन टेन्डर सूचना नै ४ पटक निकालिसकेको छ । गत वर्षबाटै महानगरले टेन्डर आह्वान गर्दै आइरहेको छ । तर, पटकपटक टेन्डर आह्वान गर्दा पनि कसैको आवेदन नपरेको महानगरले जनाएको छ ।

महानगरले प्रथम पटक टेन्डर आह्वान गर्दा न्यूनतम् मूल्य ७ करोड ५७ लाख रुपैयाँ तोकेको थियो । तर, त्यही रकममा दोस्रोपटक टेन्डर आह्वान गर्दासमेत टेन्डर परेन । टेन्डर रकम धेरै भएका कारण व्यवसायीले आवेदन नै नदिएको महानगर कर्मचारीको भनाइ छ ।

यो पनि पढ्नुहोस पोखरामा बहुतले पार्किङ, पातलो छाँगोमा सीसाको पुल

तेस्रोपटक टेन्डर आह्वान गर्दा महानगरले पहिले तोकिएको मूल्य घटाएर ५ करोड ३९ लाख रुपैयाँमा कायम ग¥यो । तर त्यसपटक पनि कुनै आवेदन परेन । चौथोपटक टेन्डर सूचना जारी गर्दा पुनः मूल्य घटाएर ३ करोड ५६ लाख रुपैयाँ कायम गरियो । चौथोपटकमा भने ३ वटा कम्पनीले आवेदन दिए, मेन्स बिल्डर्स, अशेष निर्माण सेवा र नाइस नेपाल ।

प्रथमपटक जारी गरिएको टेन्डर सूचनाको करिब आधा रकममा जारी गरिएको चौथोपटकको टेन्डरमा ३ कम्पनीले आवेदन त दिए । तर, ३ वटै कम्पनी महानगरले बोलाएको समयमा कार्यालयमा उपस्थित भएनन् । पोखरा महानगर राजस्व शाखा प्रमुख छविलाल शर्माले नाइस आवेदन आएकामध्ये नाइस नेपाल कम्पनीसँग सम्झौता गर्ने भनिए पनि उपस्थित नभएको बताए ।

‘मेन्स बिल्डर्सले आवेदन दिएर पनि काम गर्न सक्दिनँ भनेको छ । दोस्रो कम्पनी अशेष निर्माण सेवासँग महानगरले पहिल्यै पैसा ल्याउन बाँकी छ,’ शर्माले भने, ‘तेस्रो कम्पनी नाइस नेपालसँग सम्झौता भर्ने भनेका थियौं । तर समयमा उपस्थित भएन ।’ उनले अशेष निर्माण सेवाले अघिल्लो सम्झौताबाटै १ करोड ६१ लाख रुपैयाँ उठाउन बाँकी रहेको जानकारी दिए ।

नाइस कम्पनीले महानगरसँग खरिद ऐन विपरीत माग राखेको कर अधिकृत शिवहरि शर्माले बताए । उनले भने, ‘ऐनमा व्यवस्था भएभन्दा बाहिरको माग राख्दै आएको छ ।’ उनले महानगरको आगामी बैठकमा पार्किङ ठेक्काबारे कुरा राख्ने र त्यसपछिमात्रै त्यसबारे निर्णय लिन सकिने उनले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment