Comments Add Comment

वर्षापछिको विपदः १७ जनाको मृत्यु, ७ बेपत्ता

२७ असार, काठमाडौं । बिहीबार रातिदेखि मुलुकका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ । हालसम्म रामेछाप, काभ्रेपलाञ्चोक, भोजपुर, ललितपुर, काठमाडौं, खोटाङ, सिन्धुली, धादिङ मकवानपुर र पर्सामा गरी १७ जनाले जनाले ज्यान गुमाएका छन् ।

प्रहरी प्रधान कार्यालय, नक्सालका अनुसार सबैभन्दा बढी काठमाडौं र खोटाङमा ३/३ जनाले ज्यान गुमाएका छन् । कार्यालयका एसपी रमेश थापाका अनुसार विपदमा परेर ७ जना घाइते छन् भने ४ जनाको उद्दार गरिएको छ ।

थापाका अनुसार प्रभावित क्षेत्रमा सम्बन्धित प्रहरी कार्यालयबाट खोज तथा उद्दार कार्य जारी छ । मुलुकका विभिन्न भागमा पानी पर्ने क्रम अझै रोकिएको छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै दुई दिन पानी पर्न सक्छ ।

ज्यान गुमाउनेको विवरण

बनेपा–३, नालामा भूकम्प पीडितको घरमाथि पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते छन् । मृत्यु हुनेमा ५५ वर्षीया गोमा दंगाल र ७ वर्षीय सोहनी दंगाल छन् ।

घटनामा बुहारी ३० वर्षीया शुशिला र तीन महिने नातिनी अनुश्का घाइते छन् ।

रामेछापमा पनि पहिरोले पुरिएर रामपुरकी ४५ वर्षीया पदमकुमारी सुनुवारको मृत्यु भएको छ । अर्का एक जना घाइते छन् ।

भोजपुरमा पनि पानीको भेल घरभित्र पस्दा भत्किएको पर्खालले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामप्रसाद राई गाउँपालिका–७, बासिखोराका ६६ वर्षीय जगतबहादुर राई छन् ।

टेम्केमैयुङ गाउँपालिका–९, लेखर्कका १४ वर्षीय बालक जनक विकको पनि शौच गर्ने क्रममा पहिरोले चर्पीसहित पुरिएर घटनास्थलमै मृत्यु भएको स्थानीय अनिल कुमार राईले बताए । ललितपुरमा पनि अविरल वर्षाका कारण एक जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । खोटाङमा ३ जना बेपत्ता रहेका पनि जनाइएको छ ।

पर्साको पर्सागढी नगरपालिकामा बाढीले बगाएर एक बालकको मृत्यु भएको छ । पर्सागढी नगरपालिका वडा नं १ बस्ने १० बर्षका निखिल पटेलको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

सिंग्याही खोलामा आएको बाढीले बगाएर ल्याएको दाउरा संकलन गरिरहेका उनलाई बाढीले बगाएको प्रहरीले जनाएको छ ।

उत्तरी मकवानपुरको थाहा नगरपालिका – ३ मा महाभीर खोलाले बगाउँदा घाइते भएकी बालिका सञ्चना बलामीको मृत्यु भएको छ ।

दम्कीबाट खोलाले बगाएको उनलाई चार सय मिटर तल पुगेपछि स्थानीयले उद्धार गरी अस्पताल पुर्‍याएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

काठमाडौंको मुलपानीमा पनि पहिरोले पुरिएर एकैपरिवारका ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा घर भइ कागेश्वर मनहरा नगरपालिका, मुलपानी बस्दै आएका नतु यादव, सर्मिला यादव र १० वर्षीय कुन्दन यादव छन् ।

निरन्तरको वर्षाका कारण ललितपुरको वाग्मती गाउँपालिका–२ माल्टामा पहिरोले घर पुरिँदा एक बालकको मृत्यु भएको छ ।

पञ्चलाल जिम्माका घर पहिरोमा पुरिँदा घरभित्र रहेका दुई छोरामध्ये ११ वर्षीय सरोज जिम्माको मृत्यु भएको हो ।

घर पुरिनासाथ स्थानीयवासीले तत्काल उद्धार गर्दा एक जना सकुशल भेटिएको र एक जनाको मृत्यु भइसकेको गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनलाई उद्धृत गर्दै महानगरीय प्रहरी वृत चापागाउँका प्रमुख रामकृष्ण सापकोटाले राससलाई बताएका छन् ।

कान्ती लोकपथमा पर्ने खानीखोला बढ्दा अहिलेसम्म घटनास्थलमा प्रहरी पुग्न नसकेको उनले बताए । प्रहरी चौकी छपेली र प्रहरी चौकी आश्राङ गरेर दुवैतर्फका प्रहरी घटनास्थलमा पुग्न सकेका छैनन् ।

उनले भने, ‘त्यहाँको अवस्थाका बारेमा हामी गाउँपालिकासँग नियमित सम्पर्कमा छौँ ।’ दक्षिणी भेगका कतिपय स्थानमा खोला बढेर र सडक अवरुद्ध हुँदा घटना हुँदा हेलिकप्टरबाट मात्रै उद्धार गर्न सकिने अवस्था रहेको वृत्तले जनाएको छ ।

वर्षाले कुन जिल्लामा कति क्षति पुर्‍यायो ?

पाल्पा

पाल्पाको तिनाउ–५, केराबारीमा वर्षात्का कारण सिद्धार्थ राजमार्ग अबरुद्ध भएको छ । अहिले त्यहाँ प्रहरी चौकी प्रभाषबाट प्रहरी नायब निरीक्षकको नेतृत्जवमा टोली पुगेको छ । सडक डिभिजन कार्यालयसँगको समन्वयमा बाटो खुलाउने प्रसास भइरहेको जनाइएको छ ।

काठमाडौं

काठमाडौं–२१, लगनमा ढुंगाले बनेको कच्ची घर वर्षाले भत्काएको छ । तर, मानविय क्षति हुन भएको छैन । घरमा कोही नसकेको वेला घटना भएकाले क्षति नभएको जनाइएको छ । घटनास्थलमा महानगरीय प्रहरी वृत्त, जनसेवटाबाट टोली खटिएको छ ।

वर्षाले मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारको पनि पर्खाल पनि भत्काएको छ ।

ललितपुर

गएराति आएको हुरीले महानगरीय प्रहरी प्रभागभित्र रहेको सहायक कक्ष छेऊको रुख ढालेको छ । जसका कारण मंगल बजार जाने सडक अबरुद्ध भएको थियो । तर, अहिले अवरोध हटाइसकिएको छ ।

सुनसरी

सनुसरीमा अविरल वर्षाका कारण अधिकांश क्षेत्र जलमग्न बनेको छ । जिल्ला प्रहरी कार्यालय, सुनसरीको विवरण अनुसार जिल्लाको हरिनगरा–५, सुकसेना टोल डुबानमा परेको छ । अझै वर्षा भइरहे थप क्षति हुने भएकाले प्रहरीले करिब ५० घरपरिवारलाई स्थान्तरण गर्ने प्रक्रिया थालेको छ । त्यहाँ अहिले सुरक्षा बेसक्याम वसन्तपुरबाट प्रहरी नायब निरीक्षकको नेतृत्वमा १० जनाको टोली खटिएको छ ।

महोत्तरी

वर्षाका कारण महोत्तरीको जलेश्वर कारागार पनि जलमग्न भएको छ । करिब एक फिट पानी जमेपछि कारागारमा रहेका कैदीबन्दीलाई खाना पकाउन कठिन भएको जनाइएको छ ।

महोत्तरीको जिल्ला प्रहरी कार्यालयभित्र पनि पानी पसेको छ । अन्य क्षति भने भएको छैन ।

जनकपुर

सरकारी समाचार एजेन्सी राससका अनुसार अविरल वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिका पनि जलमग्न भएको छ । वर्षाले नगरका सडक जलाशयमा परिणत भएको छ भने उपनगरपालिकाको घर–घरमा पानी पसेको छ ।

निकास नभएका कारण जनकपुरधामस्थित सरकारी कार्यालय डुबानमा परेको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, वन कार्यालय, आन्तरिक राजश्व कार्यालय, राष्ट्रिय समाचार समिति, हुलाक कार्यालय, वन निर्देशनालयलगायतका कार्यालय परिसरमा तीन फिटसम्म पानी जमेको छ ।

अविरल वर्षाले धनुषा जिल्लाको कमला नदीको जलसतह पनि बढेको छ ।

सिन्धुली

प्रहरीका अनुसार सिन्धुलीको गोलान्जोर–२, बित्तिजोरमा अविरल वर्षासँगै परेको चट्याङले एक जना घाइते भएकी छन् । घरमै बसिरहेका वेला ४० वर्षीया निर्मला कार्कीलाई चट्याङ्गले लागेको थियो । घटनालगत्तै उनी बेहोस भएकी थिइन् । अहिले प्राथमिक स्वास्थ्य चौकी ग्वाल्टारमा उपचार भइरहेको छ ।

सडकमा पहिरो खसेपछि गए रातिदेखि विपी राजमार्ग र मध्यपहाडी लोकमार्ग पनि अवरुद्ध भएको छ । गोलन्जोर र सुनकोशी गाउँपालिकामा विपी राजमार्ग अवरुद्ध भएको छ ।

गएराति गोलन्जोर गाउँपालिका–५ को सोलाभञ्याङ र खनियाखर्कको बीचमा सडकमा माथिबाट पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहलाई उदृत गर्दै राससले लेखेको छ ।

सुनकोशी गाउँपालिका–१ कमरेमा पनि पहिरोका कारण विपी राजमार्ग अवरुद्ध भएको सिंहले बताएका छन् । उनका अनुसार पहिरोका कारण राजमार्ग अवरुद्ध भएपछि अहिले पहिरो पन्छाउने तयारी भइरहेको छ ।

यसैबीच माथिबाट खसेको पहिरोका कारण गोलन्जोर गाउँपालिकाअन्र्तगत मध्यपहाडी लोकमार्ग पनि अवरुद्ध भएको छ । अवरुद्ध राजमार्ग हटाई सवारी आवागमन सञ्चालन गर्न गाउँपालिका अध्यक्षसँग समन्वय भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख विष्णु बस्नेतले जानकारी दिए ।

गोलन्जोर गाउँपालिकाले साइकल जोन भन्दै राजमार्गभन्दा माथि डोजर चलाएर सडक खनेपछि पटक–पटक राजमार्ग अवरुद्ध हँुदै आएको छ । सामान्य वर्षातमा समेत माथिबाट लेदो खस्दा राजमार्ग अवरुद्ध हुने गरेको छ । राजमार्गभन्दा माथि जथाभावी खनिएका ग्रामीण सडकका कारण पानी पर्ने बित्तिकै अवरुद्ध हुने गरेका छन् । राजमार्ग अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका यात्रु बीचमै अलपत्र परेका छन् ।

सिन्धुलीमा लगातार वर्षा भइरहेको र अहिलेसम्म कहीँकतै अप्रिय घटना नघटेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । जिल्लाको मरिण, कमला तथा चदाह क्षेत्रका बासिन्दालाई खोला तथा नदी क्षेत्रमा जाँदा सावधानी अपनाउन आग्रह गरिएको छ ।

रौतहट

रौतहटस्थित अनलाइनखबर संवाददाता गौतम श्रेष्ठका अनुसार अविरल वर्षाले जिल्लाको जनजीवन प्रभावित भएको छ । बाढीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बनेको छ भने लाल बकैया नदीले बन्जरहाको बाँध कटान गर्दा आधा दर्जन बस्ती डुवानमा परेका छन् ।

अविरल वर्षापछि चन्द्रपुर लच्कामा आएको बाढी सडकमा पसेपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बन्न पुगेको रौतहट प्रहरीले जनाएको छ ।
सडक अवरुद्ध भएसँगै दुवैतर्फका सवारी गन्तव्यमा जान नसकेर रोकिएका छन् ।

सडकमा देखिएको अवरोध हटाएर सञ्चालनमा ल्याउने प्रयासमा जुटिरहेको प्रहरीले जनाएको छ । तर, वर्षा जारी रहेकाले कठिनाइ भइरहेको छ ।

यसैबीच, रौतहटको गढीमाई नगरपालिका–३ लक्ष्मीपुरमा बागमतीले बाँध भत्काएको छ । भत्किएको बाँधको पानीले नगरपालिकाका लक्ष्मीपुर, धर्मपुर, पकहा, रजवाडालगायतका वडाहरु जलमग्न भएका छन् ।
चन्द्रपुर–२ स्थित पूर्व–पश्चिम राजमार्गको पहिलो लच्कामा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको हाल नम्बर नखुलेको यात्रुबहाक बस अविरल परेको बर्षाको कारण आएको बाढीले रोकिएको छ ।

अहिले दुवै तर्फको सवारी अवरोध भएको जनाइएको छ ।

पाँचथर

जिल्ला प्रहरी कार्यालय, पाँचथरका अनुसार फाल्गुनन्द–३, मेची राजमार्गस्थित पाङग्रेभिरमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । अहिले प्रहरी चौकी, पौवासार्तापबाट प्रहरी सहायक निरीक्षक वद्रिविक्रम दाहालको कमाण्डमा टोली खटिएर पहिरो हटाउने प्रयास गरिरहेको छ ।

झापा

जलमग्न झापाको दमक । तस्वीरः विष्णु पोखरेल

जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार जिल्लाका अधिकांश ग्रामिण क्षेत्र डुबानमा परेका छन् । जिल्लाको दक्षिणी क्षेत्र बढी प्रभावित छन् ।

तर, जिल्लाको नदी कन्काई, बिरिङ लगायतमा पानीको वहावले खतराको सूची नाघिनसकेको नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जनाएको छ ।

जिल्लाको विभिन्न क्षेत्र जलमग्न भए पनि अहिलेसम्म कोही विस्थापित हुनु नपरेका रेडक्रसले जनाएको छ ।

बिराटनगर

अनलाइनखबरका बिराटनगर संवाददाता हरि अधिकारीका अनुसार अविरल वर्षापछि सिंगिया खोलामा आएको बाढीले विराटनगर–३ वडाका विभिन्न बस्ती डुवानमा परेका छन् । महानगरपालिकाका १, २ र ८ वडाका बस्ती शुक्रबार बिहान डुबानमा परेका हुन् ।

सिंगियाको बाढीले विराटनगर–१ को परोपकार घाट आसपासमा रहेको सुकुम्बासी बस्ती डुबाएको छ । यो वस्तीमा करिब ५० घर रहेको र उनीहरूलाई बिहीबार राति नै सुरक्षित स्थानमा सारिएकाले मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

चितवन

चितवन प्रहरीका अनुसार माडी–३ र ४ को सिमानामा रहेको मगई खोला र घांगर खोलामा पानीको वहाव बढ्दै गएको छ । नारायणगढ माडी सडक खण्डमा चल्ने सवारी साधन चलेको छैन ।
अहिले त्यहाँ इलका प्रहरी कार्यालय, माडीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएको छ ।

मकवानपुर

मकवानपुरको ईन्द्रसरोवर–५ महालक्ष्मी खोला नजिक पहिरो खस्दा यातायात अवरुद्ध बनेको छ । त्यहाँ प्रहरी चौकी फाखेलबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा टाली खटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment